पतिले दिएको चुइंगम पत्नीले नलिएपछि भयो डिभोर्स

158

एजेन्सी, भदौ ५,
काठमाडौं । भारतको लखनउमा एक पतिले पत्नीलाई चुइंगम चपाउन दिएकोमा उनले अस्वीकार गरेपछि पति पत्नीबीच डिभोर्सभएको छ । सिम्मी र उनका पति सईद राशिद सोमवार देवानी अदालतमा सुनुवाइमा उपस्थित थिए । पत्नीले आफ्नो वकिलसँग सल्लाह गरिरहेकी थिइन् । पति सईदले उनलाई चुइंगम दिएपछि उनले स्वीकार गरिनन् अनि त्यही झोंकमा उनले तलाक तलाक तलाक भनेका थिए ।

सईद र उनका मातापिताविरुद्ध दाइजो यातनाका विषयमा सिम्मीले मुद्दा हालेपछि त्यसमा सुनुवाइ भइरहेको थियो । ट्रिपल तलाक भारतमा केही मुसलमानहरूले अझै पनि उपयोग गर्ने गरेका छन् । यस्तो तलाक बोलेर, लेखेर वा विद्युतीय माध्यमले दिन सकिन्छ अनि यसमा इस्लामिक अदालतको फैसला पनि कुरिरहनुपर्दैन ।

महिलाले चाहिँ इस्लामिक अदालतको मध्यस्थतामा पारपाचुके लिनुपर्छ । भारतमा ट्रिपल तलाकलाई अवैध घोषित गरेर यसरी दिइएको तलाक मान्य नहुने कानून लागू भइसकेको छ । ट्रिपल तलाक दिने व्यक्तिलाई तीन वर्षको कारावास वा जरिवाना सजाय दिने व्यवस्था छ । लखनउका एक अनुसन्धान अधिकारीले सईदलाई यस ऐनअन्तर्गत अनुसन्धान गरिरहेको बताएका छन् ।