विपीको दुईतिहाई सरकारको त्यो हालत, के रहला के पी सरकार ? !

-निर्मल भट्टराई
मोनिङ्गवाक सकेर यसो चियापसलतिर लस्कने बानी मेरो पुरानै बानी हो । पसलको चियामुखमा परेन भने त के नभएको के नभएको जस्तो लाग्छ । म पसलपुगेपछि पसलका राजनीतिक जिज्ञासुहरुसंग राजनीतिक छलफल, अड्कल र बहस शुरु भईहाल्छ । काँठका चिया पसलहरु त्यसै त ठूल्ठूला राजनीतिक गफगर्ने अखडा मानिन्छन् । आज त्यस्तै छलफल भयो । “यो सरकार त दशै अगाडि नै ढल्छ भन्छन् निदाई ?त्यस्तै हो र ?” सुरुप्प चिया तान्दै एक छिमेकीले मतिर प्रश्न तेस्र्यायो । “कस्ले सुनाउछ यस्ता हावादारी कुरा तिमीलाई ?” मैले सोधें । “ख्वै सरकार ढाल्ने ठूलै चलखेल हुँदैछ रे काठमाण्डौमा, ठूलै मान्छेले भनेको मलाई”–उसले ठाँटका साथ भन्यो ।

मास्टरले कमजोर विद्यार्थीलाई बुझाउने शैलीमा म उसलाई बुझाउन थालें–“हेर भाई, यो सरकालाई संघीय संसदको दुई तिहाई समर्थन प्राप्त छ । सत्तारुढ नेकपा भर्खर एकता प्रक्रियामा गएको छ । यसको विभाजन नभई वा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेर तत्कालीन एमाले बाहेकका सबै राजनीतिक पार्टी एक ठाँउमा आएको अवस्थामा मात्र वर्तमान ओली सरकार ढल्न सक्छ । तर त्यो अहिले विल्कुल असंभव कुरा हो किनभने सरकार ढाल्न सक्ने त्यो बाटोमा फलामे तगारो नेकपा एकताले लगाइदिएको छ । ” “प्रचण्डलाई उक्साउने, नेकपाको एकता भाँड्ने र सरकार ढाल्ने भनेको होलानि त दाई”– नजिकै बसेको अर्को अधवैंसे बोल्यो । वरिपरि हाम्रो गफ सुन्नेहरुको भीड लागिसकेको थियो ।

अब मेरो भाषण शुरु भयो । “हेर्नोस् साथीहो प्रचण्ड यो समयको एक महान नेता हुनुहुन्छ । उहाँलाई केवल आफू प्रधानमन्त्री बन्न छिर्के दाउ खेल्ने नेताको हैसियतमा मात्र बुझ्नै जे प्रयत्न भईराखेको छ, त्यो दुर्भाग्य हो । बाम गठबन्धन बनाएदेखि पार्टी एकताका अहिलेसम्मका उहाँका प्रयत्नहरुले यी सबै आरोपको खण्डन गर्दैनन् र ? जनताको अभिमतलाई कदर गरेर उहाँले के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने र पाँचबर्ष टिकाउने काममा प्रचण्डले खेलेको सकारात्मक भूमिका पनि देख्न सक्नु पर्यो नि!”
“हेर हेर आफ्नो नेता बचाउन कुर्लेका यी दाई”–अर्को ठिटोले गिज्यायो,“अस्तिमात्र प्रचण्डलाई भारतीय गुप्तचर सस्था र’अ काप्रमुखले भेटेको होईन ?प्रधानमन्त्री बन्न पाउने आशामा डा. बाबुरामले उपेन्द्रको नेतृत्व स्वीकारेर पार्टी एकता गरेको होईन ?खेल कता–कता पुगिसक्यो ।”

“यस्ता वेतुकका हल्लाको पछि लाग्नु ठीक छैन । दुई तिहाई जनमतप्राप्त सरकार एउटा कुनै कूटनीतिक भेटघाटले ढल्छ भाई ?हाम्रो देशको सरकार बनाउने र ढाल्ने कुरा विल्कुल हाम्रो मामिला हो, अरुको होईन ।” मैले निष्कर्ष सुनाउने शैलीमा भनें ।
“कतिदुई तिहाईको रट लगाउछौ बाबु? १५ सालमा विपीलाई जनताले दुई तिहाई मतदिएका होईनन् ? पर्चा बाड्ने हात यिनै हुन् । भोट हाल्नपो उमेर पुगेन त । दुई बर्ष नपुग्दै राजाले कर्याप झ्याप ”– असीबर्ष उमेर पार गरेका मेरा टोलवासीे बोले,“अहिले पनि के भन्न सकिन्छ र ?”

विपीको पार्टी भित्र विपीको नेतृत्व स्वीकार्ने भन्दा राजतन्त्रको टाङ्मुनी छिर्न चाहने थुप्रै नेता थिए । अन्तराष्ट्रिय परिस्थिति अहिलेको भन्दा निकै भिन्न थियो । तर अहिले के पी सरकारको जग त्यति कमजोर छैन । दाह नंग्रा निकालेर राजारुपी सिंहलाई कतै निस्कन नसक्ने गरी बन्द गरि सकिएको छ ।

अन्तराष्ट्रिय सम्बन्ध मजवुत र सन्तुलनमा राखिएको छ । सरकारलाई ब्याकिङ्ग गर्ने लोकप्रीय र लडाकु नेता कार्यकर्ता सम्मिलित शक्तिशाली पार्टी छ, बन्दैछ । १७ साल पछिका विभिन्न तुमुलकारी आन्दोलनले खारिएको जनताको चेतना छ । भ्रष्टाचार प्रति शुन्य सहनशीलताको नीतिलिएको सरकार छ । निष्कलङ्क प्रधानमन्त्री छन् । जनताको सेवामा सरकार तल्लीनभएर लागेको छ । अल्पकालीन र दीर्घकालीन परिवर्तका लक्षण देखिदैछन् । अब फेरि राजतन्त्र फकिन्छ भन्नु दाह्रा नङ्ग्रा निकालेर फलामको बारभित्र थुनिएको सिंहले मत्तहात्तीको शिकार गर्छ भन्नुजस्तै हो । ”

पसलमा उपस्थित धेरै मानिसहरु सहमतभएजस्ता देखिन्थे । कोहीकोही उपबुज्रुकहरु चाहिँ“भनेर हुन्छ, यहाँ कसैको केही दाल गल्नेवाला छैन, नेपालाँभारत र अमेरिकाले जे चाह्यो त्यही हुन्छ, नेता त सबै गोटी त हुन”् भन्ने जस्ताबकम्फुसे तर्क गर्दै थिए ।