Sunday, September 20, 2026
Home पत्रपत्रिका क्यानडा लग्ने प्रलोभनमा ठगिए आठ सयभन्दा बढी युवा

क्यानडा लग्ने प्रलोभनमा ठगिए आठ सयभन्दा बढी युवा

80

लक्ष्मी काफ्ले (नयाँ पत्रिका दैनिक)
भदौ १, झापा । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न खाडी मुलुक पुगेका नेपाली युवा क्यानडा जान पाउने प्रलोभनमा परेर सामाजिक सञ्जालबाट ठगिने गरेको पाइएको छ । क्यानडामा रोजगारी र पिआरसमेत पाउने लोभमा परेका उनीहरू सामाजिक सञ्जालमा आउने सन्देशका कारण फस्ने गरेका हुन् । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यसको खुलासा भएको हो । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछी बस्ने ३५ वर्षीय रामबहादुर खड्का छन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोड, दमक, धुलाबारी र काँकडभिट्टामा उजुरी दिनेको संख्या सयभन्दा माथि छ । खड्काले सन् २०१२ देखि हालसम्म आठ सयभन्दा बढी व्यक्तिलाई ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रदेश १ नम्बर प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले खड्कालाई काँकडभिट्टा बजारबाट गत १९ साउनमा पक्राउ गरेको थियो । काँकडभिट्टामा लुकेर बसेका खड्कालाई प्रहरीले झापा जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

पैसा असुल्न बाबु बिरामी भएको नाटक
आफू गैरआवासीय नेपाली संघ क्यानडाको उच्चपदस्थ अधिकारीसमेत रहेको विश्वास दिलाउँदै आएका खड्काले आफ्नो बाबु बिरामी परेकाले उपचारका लागि क्यानडा लैजान नेपाल आएको बताउन थाले । भारतको सिलिगुडीमा बाबुको उपचार गराइरहेको बताउने उनले म्यासेन्जरमा भन्थे, ‘बुबालाई क्यानडा लैजाँदा तपाईंहरूलाई पनि स्पोन्सर्ड भिसाको व्यवस्था गराएर सँगै लैजान्छु ।’ आफूसँगै क्यानडा लैजाने आश्वासन देखाएर उनले दूतावासमा चार लाख रुपैयाँ खर्च हुनेमा दुई लाख आफूले नै सहयोग गरिदिनेसम्म बताए । सो रकम पछि क्यानडामै पुगेर तिर्दा हुने भन्दै विश्वस्त तुल्याएका उनले दुई लाख रुपैयाँको लगानीमै क्यानडा जान सकिने कुरा गर्न थाले ।

ठगीको मुख्य हतियार फेसबुक

रामबहादुर खड्काले महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापा नाम गरेका फेसबुक आइडी बनाएर विभिन्न व्यक्तिलाई क्यानडामा रोजगारीको प्रलोभन देखाउने गरेका थिए । उनले आफ्नो नाम महेशजंग थापा र घर इलाम बताउने गरेको प्रहरीले जनाएको छ । खाडी मुलुकमा कार्यरत नेपालीलाई उनी म्यासेन्जरमार्फत सम्पर्क गरी क्यानडाको प्रलोभन देखाउँथे । आफू पहिले क्यानडा जाने वेलामा काठमाडौं एयरपोर्टमा चिनजान भएको भन्दै खड्काले धेरै व्यक्तिलाई भ्रममा पारेको प्रहरी बताउँछ । आफू विगत १४ वर्षदेखि क्यानडामा बसेको, बिहे गरेर पिआरसमेत प्राप्त गरिसकेको भन्दै उनले क्यानडामा आफ्नै लगानीमा केही क्याफे सञ्चालन गरेर कैयौँ नेपालीलाई रोजगारी दिएको बताउने गरेका थिए ।

युवालाई सैलुन पठाएर भारु सटही गर्दै फरार
पीडित व्यक्तिहरूलाई खड्काले दिल्लीस्थित क्यानडा दूतावासमा अन्तर्वार्ता दिन जानुपर्ने भन्दै विभिन्न स्थानमा बोलाउन थाले । भारत सिलिगुडीको बागडुग्रा एयरपोर्टबाट दिल्ली जानुपर्ने भन्दै उनले पीडितहरूलाई दमक, बिर्तामोड, धुलाबारी, काँकडभिट्टा हुँदै भारतको पानीट्यांकीसम्म भेट्न बोलाउँथे । दूतावासमा अन्तर्वार्ताका लागि भन्दै पीडितहरूलाई कपाल काट्न र फेसवास गर्न सैलुनमा प्रवेश गराउँथे । सोही मौकामा पीडितहरूले ल्याएको पैसा मागेर भारतीय मुद्रा (भारु) साटेर आउँछु भन्दै उनी फरार हुँदै आएका थिए । लगत्तै फेसबुकमा ब्लक गरेर मोबाइल फोन पनि बन्द गर्ने गरेको प्रहरी बताउँछ ।