हजुर’बाले सुनाउनुभएको ‘सहिष्णुताको कथा’

140

साउन १६,
म त्यस्तै सात वर्षको हुँदो हुँ, मैले पहिलो पटक मेरा घरका मान्छेहरुको औंला मसीले रंगिएको देखें। त्यो मसी लाउने दिनको आसपास हाम्रो घरमा ठूल्ठूलो स्वरमा बहस चर्किने गर्थ्यो। त्यस्तो बहस, मैले देख्दै नदेखेका वा कहिले नामै नसुनेका मान्छेहरुबारे केन्द्रित हुने गर्थ्यो। बाहिर सडकमा छत नभएको जिपमा चढेका मान्छेहरु नारा लगाउँदै हिँडिरहेका हुन्थे। त्यो औंलामा मसी लगाउने दिनको महत्व थाहा पाउन मलाई थप केही वर्ष कुर्नुपर्‍यो। हाम्रो परिवार राजनीतिमा चासो राख्थ्यो, चुनावबारे गम्भीर थियो। तर मलाई राजनीतिले चाहिं हाम्रो जस्तो वर्गलाई खासै चासो दिएजस्तो लाग्दैन। मेरो परिवारका कुनै सदस्य चुनावमा उठ्नु त परै जाओस्, कुनै दलका सदस्यसम्म पनि थिएनन्। राजनीतिमा मेरो चासो बढेको चाहिं मेरो हजुर’बाले गर्दा हो। उहाँ उमेर छँदा एमटिएनएल कम्पनीमा कार्यरत हुनुहुन्थ्यो। कर्मचारी युनियनको नेतासमेत रहनुभएका उहाँलाई युनियनमार्फत बाधा पुर्‍याएको आरोपमा कम्पनीले जागिरबाट निकालिदिएको थियो। उहाँ सन् २००४ मा क्यान्सरसँग जुध्धाजुध्दै बित्नुभयो। मैले पहिलो पटक दंगाफसाद देख्दा गुजरातमा नरेन्द्र मोदी मुख्यमन्त्री थिए, गुजरात नरसंहारको दुई वर्ष पनि भएको थिएन। हजुर’बालाई क्यान्सरले नसमात्दैको कुरा हो, सन् २००२ मा १० वर्षकी थिएँ। समाचार च्यानलहरुको चौबिस घण्टे प्रशारण शुरु भइसकेको थियो। ती च्यानलहरु जतिबेला पनि दंगाकै समाचार देखाइराखेका हुन्थे। मलाई धेरै टिभी हेर्ने अनुमति त थिएन, तैपनि म दंगाका दृष्यहरु राम्ररी सम्झन्छु। त्यसताका हाम्रो घरलाई तनाव र उदाशीको बादलले ढपक्क छोपेको मलाई राम्रै याद छ। मेरो सानो दिमागले धार्मिक विभाजनको रेखा खुट्याइसकेको थिएन। म त हिन्दु र मुसलमानबिच भिन्नता के छ भन्ने पनि जान्दिनथें। जब म मुसलमानहरुबारे हजुरआमालाई सोध्थें, उहाँ भन्नुहुन्थ्यो, ‘ती एउटै थालमा खान्छन्। ती मासु खान्छन्।’ ‘त्यो कुनचाहिं ठूलो कुरो भयो त!’, म भन्थें। म साउथ दिल्लीको पुछारमा रहेको सानो गाउँमा हुर्किएँ। दिल्लीमा त्यस्ता १३५ वटा ग्रामिण बस्तीहरु छन्, जो अहिले पनि धार्मिक र जातीय विविधतासहित मिलेर बसेका छन्। हाम्रो गाँउमा चाहिं ब्राह्मणहरुको बाहुल्यता थियो। अरु जात र धर्मका मान्छे नभएका नै त होइनन्, तर थोरै थिए। ती मान्छेहरु ब्राह्मणहरुको सेवाका लागि भित्र्याइएका थिए। ब्राह्मणहरु चर्पी सफा गर्ने, भाँडाकुँडा बनाउने वा कपाल काट्नेजस्ता काम आँफै गर्दैनथे। हाम्रो परिवार, तिनै ब्राह्मण परिवारमध्येको एक थियो। मेरो हजुर’बा तागाधारी ब्राह्मण हुनुहुन्थ्यो, भूमिहिन हुनुहुन्थ्यो, हरियाणाबाट बसाइँ सरेर उक्त गाउँमा आइपुग्नुभएको थियो। त्यै गाउँमा जन्मेहुर्केकी मेरी हजुरआमासँग विवाह भएपछि उहाँ बसाइँ सर्नुभएको थियो। सन् ‘९० को दशकको अन्त्यतिर मात्रै केही मुस्लिम परिवारले हाम्रो गाउँमा प्रवेश पाए। उपल्लो जातका ब्राह्मणहरुले मुसलमानहरुलाई किन बस्तीमा प्रवेश दिए, म यकिनका साथ त भन्न सक्दिन, तैपनि मेरा हजुर’बाहरुलाई शंकाको लाभ दिऊँ कि उहाँहरुको सोच अन्तको भन्दा उन्नत थियो। त्यसपछि गाउँमा मैले नौला मान्छेलाई भेट्न थालें। तीमध्येको एउटाले हाम्रो कपडामा आइरन गरिदिन्थ्यो। सोएब नामको मेरै उमेरको केटो प्रत्येक साँझ हाम्रो घर आउँथ्यो र कपडाहरु बटुलबाटुल गरी लैजान्थ्यो। भोलिपल्ट ऊ आफ्नी आमासँगै हाम्रो घर आउँदा ती कपडाहरु नयाँजस्तै चिटिक्क पारेर ल्याइएका हुन्थे। मैले चिनेका मुसलमान भनेकै सोएब र उसकी आमा थिए। जात र धर्म नमिल्ने हुँदा हामीहरु त्यति घुलमिल भएका थिएनौं, उतिसारो कुराकानी पनि हुँदैनथ्यो। तैपनि सोएबकी आमाले प्रत्येक इदमा हामीकहाँ फलफुल र किसमिस पठाएको अनि मेरी आमाले पनि दिपावलीमा मिठाईहरु पठाएको सम्झन्छु। पछि जतिबेला गुजरात दंगाका दृष्यहरु टेलिभिजनमा देखाइन थाल्यो, मैले एकिदिन आमालाई सोधें, ‘के तपाईंहरु सोएबको घर पनि जलाइदिनुहुन्छ? अरु कोही आएर उसको घरमा आगो लगाइदियो वा उसलाई मारिदियो भने तपाईं के गर्नुहुन्छ आमा?’ आमा टिभी हेर्दै बुबा र हजुर’बासँग दंगाकै विषयमा कुरा गरिरहनुभएको थियो। प्रश्नको जवाफ दिनुअघि आमाले मलाई घुरेर हेर्नुभयो, अनि भन्नुभयो, ‘अहँ, म सोएबको घर कहिल्यै जलाउनेछैन। कसैले जलाउँदा पनि जलाउँदैन, कसैले त्यसो गर्न खोज्यो भने म मेरो बुताले भ्याएसम्म रोक्ने कोशिश गर्नेछु। तिमीलाई थाहा छ, म किन त्यसो गर्छु?’ मैले केही भनिन। भुइँतिर हेरिमात्रै रहें। ‘ऊ हिन्दू वा मुसलमान भएकाले होइन। म उसको रक्षा गर्नेछु, किनकी उनीहरु हाम्रा प्रिय मान्छे हुन्। मलाई थाहा छ, उनीहरुले पनि त्यसै गर्नेछन्। मान्छेले जुनसुकै धर्म मानून्, तिमीले सधैं तिनको सम्मान गर्नुपर्छ। बुझ्यौ?’ मैले बुझें त भनें तर उहाँले भनेका सबै कुरा बुझेको थिइनँ। म उहाँलाई हाम्रा एकजना टाढाकी नातेदारबारे सोध्न चाहन्थें, जसलाई मुसलमान केटासँग भागेर बिहे गरेकै कारण जातच्यूत गरिएको थियो। उनको बारेमा घरमा कहिलेकाहीं खुसुफुसुर हुने गर्दथ्यो। तर मैले त्यस दिन सोधिनँ, मनमनै पछि कुनैदिन सोधुँला भन्ठानें। पछि सोएब र उसको परिवार सुरक्षित छन् भन्ने खबर पाउँदा मलाई निकै खुसी लागेको थियो। त्यसको केही दिनपछि हजुर’बाले मलाई छतमा डाक्नुभयो। उहाँ र म प्रत्येक साताजसो छतमा रहेको सानो खाटमा बसेर ताराहरु हेर्थ्यौं। म संसारभरका ‘किन’ र ‘कसरी’ भन्ने खालका प्रश्नहरु उहाँसामू तेर्स्याउँथें। उहाँ कहिल्यै सोझो उत्तर दिनुहुन्नथ्यो, तर उहाँका उत्तरहरु मेरो जिज्ञासु मष्तिष्कका लागि निकै रोचक हुनेगर्थे। म छतमा पुग्दा हजुर’बा आनन्दले खाटमा बसिरहनुभएको रहेछ। उहाँको हातमा ढुंगाजस्तै केही थियो। नजिकै गएर हेर्दा मैले गणेशको सानो मुर्ति देखें। त्यो खासै आकर्षक पनि थिएन। उहाँले त्यो मुर्ति मेरो हातमा हाल्दिनुभयो र कहाँबाट आएको होला भनी अनुमान गर्न अह्राउनुभयो। ‘ऋषिकेश जाँदा गंगाकिनारमा भेट्नुभएको हो?’ मैले सोधें। मेरो हजुर’बालाई गंगा नदीप्रति अपार श्रद्धा थियो, उहाँ महिनैपिच्छेजसो ऋषिकेश पुगिरहनुहुन्थ्यो। ‘हैन। मैले यो हाम्रो हरियाणाको घरमुन्तिर भेट्टाएको थिएँ। त्यतिखेर म आठ वर्षको थिएँ।’ ‘घरमुनि? तपाईं घरमुनि कसरी जानुभयो? म त जान सक्दिन त! सुरुङ खनेर जानुभएको थियो, हो?’ ‘यो कसरी भेटेँ भनेर म तिमीलाई पूरै कथा सुनाउँछु। तर तिमीले ननिदाइकन, एकदम ध्यान दिएर सुन्नुपर्छ। बिचमा झुल्न पनि पाउँदिनौं नि! ननिदाइ बस्न सक्छ्यौ?’ ‘सक्छु हजुर’बा। छिटो भन्नू न!’, म कथा भनेपछि हुरुक्कै हुन्थें। तिनै कथाहरुमार्फत कल्पनाको संसारमा विचरण गर्न थाल्थें। हजुर’बाले एक घुट्को ह्विस्की स्वाट्ट पार्नु’भो, अनि कथा थाल्नु’भो। # # # धेरै समय अगाडिको कुरा हो। म तिमीजत्रै वा तिमीभन्दा पनि सानो हुँदो हुँ। हामी हरियाणामा बस्थ्यौं। सानो घर थियो। घर पनि के भन्नु र, एउटा कोठा थियो। एककोठे घर भनौं न! हामी चारजना दाजुभाइ–दिदीबहिनी र बुबाआमा त्यही कोठामा बस्थ्यौं। हाम्रा अरु चार दाजुभाई–दिदीबहिनी त जन्मिनै बाँकी थिए। सन्तानको संख्या बढेपछि बुबाआमाले अर्को कोठा थप्ने निधो गर्नुभयो। एकदिन म स्कुलबाट घर आउँदा कोठा थप्ने काम धमाधम शुरु भइसकेको रहेछ। हाम्रो पुरानो कोठाअगाडि कामदारहरुले बडेमानको खाल्डो खनेका थिए। मलाई खुब रमाइलो लाग्यो। मलाई धर्तिमूनि के होला, कसो होला भन्नेबारे एकदमै कौतुहल भइरहन्थ्यो। बुबासहित अन्य मान्छेहरु खन्ने काममा लागिरहँदा आमा भने सबैका लागि खाना तयार गर्दै हुनुहुन्थ्यो। सबै आआफ्नो काममा लागेकाले मचाहिं माटो खेल्न थालें। त्यैबेला मैले देखें, सप्पैजना खाल्डो खनिएको ठाउँमा झुरुप्प जम्मा भएका छन्। सोचें, कतै खाल्डोबाट सर्प त निस्केन! होइन रहेछ। सर्प होइन, बरु काँचका चुराहरु भेटिएका रहेछन्। त्यही ठाउँमा अझै खन्दै जाँदा यो गणेशको मुर्ति भेटिएको हो। ती काँचका चुरा र यो तिम्रो हातमा भएको मुर्ति दुई शताब्दी जतिअघि, म जन्मिनुभन्दा धेरै पहिले, त्यहाँ गाडिएका रहेछन्। त्यतिखेर त्यस ठाउँमा हिन्दू–मुस्लिम दंगा भएको थियो। एकले अर्काको ज्यान लिएका थिए। त्यो दंगामा हाम्रै परिवारका पनि कैयौं मान्छे मारिएका थिए। कैयौं छोरीमान्छे विधवा र कैयौं बच्चाहरु टुहुरा भएका थिए। हाम्रो परिवारका छोरामान्छेमध्ये दुई दाजुभाइमात्र बाँचे। बालबच्चा, घरपरिवार सम्पूर्ण सम्हाल्ने जिम्मा तिनै दाजुभाइको थाप्लोमा आइपर्‍यो। त्यसपछि तिनले के गरे, थाहा छ? दुईमध्ये एक भाइ मुसलमान बन्ने र अर्को भाइचाहिं हिन्दू रहिरहने निर्णय गरे। त्यसो गर्दा दुवै परिवार सुरक्षित रहन्थ्यो। हिन्दू–मुस्लिम दंगा हुँदा ती आवश्यकताअनुसार एकअर्काको घरमा शरण लिन्थे। पछि ती दाजुभाइले घरजम गरे, तिनको परिवार पनि बढ्दै गयो। सन् १९४७ मा भारत–पाकिस्तान विभाजन नहुँदासम्म उनीहरु मिलेर बसे। विभाजनपछि मुसलमान परिवार पाकिस्तान गयो, हिन्दूचाहिं यतै रह्यो। # # # ‘हँ! पाकिस्तानमा पनि हाम्रा आफन्त छन् हजुर’बा?’, म आश्चर्यचकित भएँ। ‘अनि त! तर कहाँ बस्छन्, थाहा छैन। कसैलाई पनि थाहा छैन।’ ‘त्यसोभए खोज्न जाम् न त हजुर’बा!’ मेरा कुरा सुनेर हजुर’बा हाँस्न थाल्नुभयो। हामी दुवै अझै त्यै छतको खाटमा उत्तानो पल्टेर आकासमा टिल्पिलाइरहेका तारा हेरिरहेका थियौं। ‘मैले त्यस्तो के भनें र! हजुर’बा किन हाँस्दै हुनुहुन्छ?,’ एकैछिन गम खाएँ। हुन पनि ‘ती मासु खाने मान्छेहरु’ एक्कासी मेरो आफन्तजनमा रुपान्तरित भएका थिए। केही बेरपछि हजुर’बाले भन्नुभयो, ‘मैले तिमीलाई यो सबै घटना सुनाउनुको अर्थ, यो वा त्यो, कुनै न कुनै रुपमा, हामी सबै एकै हौं भनेर बुझाउनका लागि हो। तिमीले सधैं यो कुराको ख्याल राख्नुपर्छ।’ त्यसको दुई वर्ष जतिपछि हजुर’बा हामीलाई सबैलाई गहिरो शोकमा पारेर जानुभयो। उहाँ बित्नुभएको केही समयपछिको कुरा, एकदिन बेलुका हामी सबैजना बसेर पुराना फोटाहरु हेरिरहेका थियौं, जसमा हजुर’बाको फोटो पनि थियो। त्यस साँझ मेरो हजुर’बाको दाइ पनि हाम्रो घर आउनुभएको थियो। मैले उहाँलाई पाकिस्तान गएपछि बिछडिएका हाम्रा आफन्तहरुबारे सोधें। उहाँ ट्वाल्ल पर्नुभयो। उहाँलाई त्यसबारे केही थाहै थिएन। अनि मैले सबैलाई हजुर’बाले सुनाउनुभएको कथा हुबहु सुनाएँ। मेरो कथा सुनेर सबैजना हाँस्नथाले। ‘तिम्रो हजुर’बाको कथा बाच्ने शैली काइदाको थियो। ल अब सुत्न जाऊ।’ हजुर’बाले मलाई त्यो कथा सुनाएको आज १७ वर्ष भयो। त्यो कथा साँचो थियो वा थिएन भन्ने कुराले मेरा लागि कुनै माने राख्दैन, तर उहाँले मलाई के सम्झाउन खोज्नुभएको थियो भन्ने कुराले ठूलो अर्थ राख्छ। जब आज त्यो कथा सम्झन्छु, म सोच्छु, घृणा र कट्टरताको कथा भन्न कति सजिलो हुँदो हो! तर मलाई हजुर’बाले बिल्कुल विपरीत कथा सुनाउनुभयो– समानताको कथा! दुई समुदायको साझा इतिहासको कथा! हामीले हामीजस्तै मान्छे हुन् भनी स्वकार्न नसकेको, तर हामीजस्तै मान्छेहरुको कथा! यस वर्ष भोट खसाल्दै गर्दा मैले विभाजनपूर्वको साझा इतिहास सम्झेर भोट खसालें। विगतलाई स्विकारेर भोट खसालें। म मान्छेहरु ‘हामी’ र ‘तिनी’मा विभाजित भएको देख्न चाहन्नँ। त्यसैले मैले भविष्य सम्झेर भोट खसालें। त्यस्तो भविष्य, जहाँ म आफ्ना बच्चाहरुलाई हाम्रो पाकिस्तानमा रहेको परिवारको कथा सुनाउन सकूँ। आर्किटेक्ट तथा रिसर्चर भावना जैमिनीको यो आलेख द वायरबाट अनुवाद गरिएको हो।