नेकपाले टुंग्यायो ७७ वटै जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्ज

203

साउन ५,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उनका अनुसार टुंगोमा पुगेको इन्चार्ज र सह–इन्चार्जको नामावली आइतबार साँझसम्म पार्टी कार्यालयले सार्वजनिक गर्नेछ । पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।

उनले भने, ‘अब पर्सी (मंगलबार) धुम्बाराहीमा पुनः सचिवालयको बैठक बसेर विभाग, आयोग, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरणको काम टुंगो लगाउने छौं ।’