अयनचलन र हाम्रा चाडपर्वहरुको समय

444
प्रमोदवर्धन कौण्डिन्न्यायन

—प्रमोदवर्धन कौण्डिन्न्यायन
१. चाडपर्वहरुको समय
वैदिक परम्परामा धार्मिक कृत्यहरुको अनुष्ठान चान्द्र महिनाका आधारमा गर्नुपर्ने विधान छ । तेस्रो  तेस्रो वर्षमा अधिकमास थपेर चान्द्र महिनालाई पनि ऋतुसँग सम्बद्ध बनाइने गरेको कुरा हाम्रा परम्परामा अनादिकालदेखि अधिकमासको व्यवस्था रहेकाबाट नै स्पष्ट हुन्छ । अधिकमासको सङ्केत ऋग्वेदमा नै पहिलो मण्डलअन्तर्गत पच्चिसौँ सूक्तका आठौँ ऋचामा “वेद मासो धृतव्रतो द्वादश प्रजावतः । वेदा य उपजायते” भनेर गरिएको पाइन्छ । तेरौँ महिनाका अनेक उल्लेखहरु यजुर्वेदमा शु.य.वे.सं. २२।३१ तै.सं. १।४।१४) पनि पाइन्छन् । वर्तमान कालमा पनि सबैजसो चाडपर्वहरु चान्द्रमासका विभिन्न तिथिहरुमा नै मनाइने प्रचलन रहेको सबैलाई अवगत नै छ ।

वैदिक परम्परामा दुइ अयनको एक वर्ष हुने सिद्धान्त छ र धार्मिक अनुष्ठानका लागि सौर अयनको सँगै अथवा नजिक पर्ने चान्द्र अयन र सौर ऋतुको सँगै अथवा नजिक पर्ने चान्द्र ऋतु नै लिने अनादि वैदिक परम्परा छ ।

२. चाडपर्वको समय नमिल्नुको कारण
नेपाली पञ्चाङ्गहरुमा उत्तरायणको प्रारम्भ मकरसङ्क्रान्तिमा मान्ने गरिएको छ । भारततिरका धेरैजसो नयाँ पञ्चाङ्गहरुले उत्तरायणको प्रारम्भ सायन मकरसङ्क्रान्तिमा मान्ने चलन चलाउन लागेको देखिन्छ । तर चाडपर्वको समयमा र विवाह आदिका मुहूर्त दिने समयमा भने आवश्यक परिवर्तन गरेको पाइँदैन । केही वर्षअघिदेखि स्वाद्ध्यायशालाबाट प्रकाशित हुन थालेको वैदिक तिथिपत्रम्मा शुद्ध गणना देखाइनुका साथै चान्द्र महिना, दुइवटा चान्द्रमास जोडेर मानिने ऋतु, चान्द्र अयन र चान्द्र वर्षलाई वैदिक परम्पराअनुसार प्रधानता दिइएको छ । विवाह आदिका पुण्याह अथवा साइतलाई कर्मकाण्डको विधायक मूल ग्रन्थ आफ्नो शा खाको गृह्यसूत्रअनुसार उचित समयमा उत्तरायणका शुक्लपक्षहरुमा दिइएको छ । चाडपर्वको समयलाई अगाडि ल्याउने विषयमा पनि दिशानिर्देश गरिएको छ । नेपालका अन्य पञ्चाङ्गहरुमा भने वास्तवमा पुस ६ वा ७ गतेदेखि नै दिनमान बढ्न थाल्ने कुरालाई मान्दामान्दै पनि माघ १ गते मात्र उत्तरायण लागेको मानी धार्मिक कृत्यको समय निर्धारण गर्नेगरिएको छ । यसले हाम्रा सबैजसो धार्मिक कृत्यका समयमा एक महिनाजतिको गडबडी पर्न गएको छ । यसै कारण ती पञ्चाङ्गका ऋतुहरु अवास्तविक हुन पुगी चाड–पर्वहरु पनि शास्त्रले निर्धारित गरेका महिना अथवा ऋतुभन्दा पछाडिको अर्को महिना अथवा अर्को ऋतुमा पुग्न गएका छन् ।

३. अयनचलन के हो?
उपर्युक्त कुरालाई बुझ्न अयनचलनका सम्बन्धमा जान्नुपर्ने हुन्छ । सूर्य यो वर्ष जुन नक्षत्रको जुन अंशमा अथवा जुन बिन्दुमा पुगेपछि उत्तरायणको अथवा दक्षिणायनको आरम्भ हुन्छ अर्को वर्ष त्यो नक्षत्रको त्यो अंशमा अथवा त्यो बिन्दुमा पुग्नभन्दा केही पहिले अर्थात् लगभग साडे २० मिनेट जति पहिले नै उत्तरायण अथवा दक्षिणायनको आरम्भ हुन्छ, यस्तो प्रतिवर्ष निरन्तर रूपमा भैरहन्छ । यसरी अयन सुरु हुने सो बिन्दु प्रतिवर्ष केही वरतिर सरिरहेको हुन्छ । यसैलाई अयन–चलन भन्दछन् । यसैले १५०० वर्ष अगिको उत्तरायणको प्रारम्भ हुने बिन्दुअनुसार मकरसङ्क्रान्तिबाट उत्तरायण लाग्ने भनिए पनि वास्तवमा त्यो बिन्दु आजसम्ममा लगभग २४ दिनजति वरतिर सरेकाले धनु राशिमा सूर्य पुगेको केही दिनमा पुस ६ अथवा ७ गते नै वास्तविक सौर उत्तरायण लागिसक्छ र वास्तविक सौर शिशिर ऋतुको पनि प्रारम्भ भइसक्छ । यसरी पुसका ६–७ गते अथवा २१–२२ डिसेम्बरमा सूर्यको अवस्थिति मकररेखा अर्थात् ट्रपिक अफ क्याप्रिकोर्नमाथि देखिन्छ ।

चल्तीका अरु पञ्चाङ्गहरुमा भने यो तथ्यलाई स्वीकार गर्दागर्दै पनि माघ १ गते अथवा जनबरी १४–१५ तारिखमा मात्र उत्तरायण लाग्ने भन्ने कुरालाई नै अभैmसम्म पनि पच्छ्याइरहिएको छ । यो कुरा बुझ्न पञ्चाङ्गहरुमा एकातिर पुस ६ अथवा ७ गतेका दिन “मकरे सायनार्कः” अथवा “मकरे दृश्यार्कः” र “ वर्षभरिमा सबैभन्दा) छोटो दिन” भनेर लेख्ने गरिएको र अर्कातिर माघ १ गते अथवा त्यसभन्दा अघिल्ला दिन “मकरे अर्कः” र “उत्तरायणारम्भ” भनेर लेख्ने गरिएको कुरामा ध्यान दिन पर्छ । यस्तै स्थिति दक्षिणायनारम्भका सम्बन्धमा पनि देखिन्छ । नेपालका र भारतका केही पात्राहरुमा नाक्षत्र वर्षको वास्तविक मान ३६५ दिन ६ घण्टा ९.८ मिनेटभन्दा लगभग ३ मिनेट बढी हुने गरी नवीन सूर्यसिद्धान्तको अनुगमन गर्दै ३६५ दिन ६ घण्टा १२.६ मिनेट जतिको मान्ने गरेकाले ती पञ्चाङ्गअनुसार त सायन–सङ्क्रान्ति र पात्रोमा मानिएको निरयण–सङ्क्रान्तिको अन्तर प्रतिवर्ष एक घडी अर्थात् २४ मिनेटका दरले बढ्दै गइरहेको हुन्छ । सिद्धान्त–ज्योतिषका ग्रन्थहरुमा सूर्य मकर राशिमा प्रवेश गर्दा उत्तरायण लाग्छ र सूर्य कर्कट राशिमा प्रवेश गर्दा दक्षिणायन लाग्छ भनिएको छ । त्यो आजभन्दा लगभग डेड हजार वर्ष पहिलेको कुरा हो । अहिले त्यो कुरा मिल्दैन ।

आजभोलि अयन र ऋतुुहरु सरेर वर आइसकेका छन् र सूर्य मूलबर्हणी नक्षत्रका आधाआधीमा पुग्दा नै सौर उत्तरायणको आरम्भ हुन्छ । तर पुरानो कुराका आधारमा नै हालसम्म पनि सबै चाडपर्वहरु पञ्चाङ्गमा लेख्ने चलन चलेको छ । यसमा सुधार भएको छैन । यसै कारण नै चाडपर्वहरु निर्धारित ऋतुभन्दा पछाडिपछाडि सर्दै गइरहेका हुन् । यस्तोमा कसरी ऋतुअनुसार चाडपर्वको समय मिलाउने त? भन्ने कुराको समाधान वा उल्लेख सिद्धान्तज्योतिषका ग्रन्थमा पाइँदैन । त्यसै कारण होला धेरै ज्योतिषीहरु चाडपर्वको समय अगाडि सार्न पर्ने कुरामा असूचित नै रहेको पाइन्छ । आधुनिक कालका प्रसिद्ध अनेक सिद्धान्तज्योतिषीहरुले यस प्रकारको समस्याको समाधानका निम्ति कुनै बाटो पहिल्याउने प्रयास गरेको अथवा कुनै विचार प्रकट गरेको नै पाइँदैन । ज्योतिषका ग्रन्थहरुमध्ये रामदैवज्ञद्वारा वि.सं. १६५७ मा काशीमा रचिएको ग्रन्थ मुहूर्तचिन्तामणिमा सायन सङ्क्रान्तिलाई चल–सङ्क्रान्ति भनिएको छ र ती सङ्क्रान्ति दान, जप आदि कार्यमा निम्ति धेरै पुण्यदायक हुन्छन् समेत भनिएको छ ।

यसको मनन गर्दै र व्यवहारमा प्रयोग गर्दै आएको भने देखिँदैन । नेपाल–संस्कृत–विश्वविद्यालय–पञ्चाङ्गले वास्तविक सौर उत्तरायणारम्भको समयलाई “चल–मकरसङ्क्रमः, मकरे सायनार्कः, चल–सौम्यायनारम्भः” र वास्तविक सौर दक्षिणायनारम्भको समयलाई “चल–कर्कटसङ्क्रमः, कर्कटे सायनार्कः, चल–याम्यायनारम्भः” भनेर जनाउने गरेको पाइन्छ । वेद, वेदाङ्ग र धर्मशास्त्रको मर्मलाई विचार गर्दा केवल वास्तविक सौर अयनारम्भलाई मात्र समयसीमा मान्ने काम नगरी त्यस समयमा अथवा त्यसको पाँच–छ दिन पछाडिसम्ममा प्रारम्भ भएको शुक्लपक्षको अवधिलाई समेत हेरी दैवादि कर्मका निम्ति ग्राह्य समयको निर्णय गर्नु पर्ने हुन्छ ।

४. चान्द्रसौर गणना
वैदिक धार्मिक वर्ष क्रिश्चियनहरुको वर्षजस्तो शुद्ध सौर वर्ष पनि हैन, मुसलवानहरुको वर्षजस्तो शुद्ध चान्द्र वर्ष पनि हैन, यो त सौरवर्षसापेक्ष चान्द्रवर्ष हो । वैदिक परम्परामा चान्द्र वर्षमा अयन उत्तरायण अथवा दक्षिणायन) का अन्त्यमा अधिकमास मानी सौर वर्षसँग चान्द्रवर्षको र सौर ऋतुहरुसँग चान्द्र ऋतुहरुको तालमेल मिलाइन्छ । यसबाट हाम्रा चाडपर्वहरु चान्द्रमासका तिथिहरुमा मनाएपनि सधैँ एउटै ऋतुमा पर्ने कुरा सुनिश्चित हुन्छ । तिनीहरु एक महिनासम्म मात्र यताउता हुन्छन् । त्योभन्दा बढी यताउता सर्दैनन् । यद्यपि अयन सूर्यको गतिका आधारमा हुने कुरा हो, तथापि वैदिक धार्मिक कालगणनामा शुद्ध सौर अयन नलिएर वास्तविक सौर अयनको नजिक पर्ने चान्द्र मासको शुक्लप्रतिपदाबाट सुरु हुने र छ महिनापछिको औँसीमा पूरा हुने अयन लिने व्यवस्था छ । सौरमानका आधारमा अधिकमास राखेपछि चान्द्रमान पनि ऋतुसम्बद्ध हुन पुग्छ । त्यसैले सौर अयन सापेक्ष चान्द्र अयन लिइनु युक्तिसङ्गत र आवश्यक भएको हो ।

५. अयनारम्भ–नक्षत्रमा परिवर्तन र चाडपर्वको समय
मैत्रायणीय आरण्यकमा धनिष्ठा नक्षत्रका बिचमा सूर्य पुग्दा उत्तरायण लाग्ने कुरा आएको छ भने वेदाङ्गज्योतिषमा ६–७ श्लोकमा धनिष्ठा नक्षत्रको आदिमा सुरुमा) सूर्य पुग्दा उत्तरायण लाग्ने कुरा बताइएको छ । आधा नक्षत्र फरक स्थानमा उत्तरायणारम्भबिन्दुलाई बताएका दुवै उल्लेखले नक्षत्रका आधारमा वास्तविक अयनस्थितिलाई जनाएको पाइन्छ । मध्यकालमा सिद्धान्तज्योतिषमा राशिमूलक निरयण गणनापद्धति चल्न गएका कारण निरयण गणनापद्धतिको अनुसरण गर्ने, तर त्यसले चाडपर्वहरुको समयमा पार्ने असरको भने वास्ता नगर्ने परम्परा बस्न गई विभिन्न वार्षिक पर्वहरु र अनुष्ठानहरु तिनका शास्त्र–निर्धारित ऋतुभन्दा परपर हट्तै गएका हुन् । वराहमिहिरद्वारा रचित बृहत्संहिताका आदित्यचाराध्यायमा श्लो.४) मकर राशिमा नपुगी सूर्य उत्तरायणमा जाने स्थिति आउनै नहुने भैmँ गरी लेखिएकाले भ्रम झनै बढ्ने स्थिति उत्पन्न भएको हुन सक्छ । अहिले सौरमानमा २४ दिनको फरक परिसकेको छ भने चान्द्रमानमा त धेरैजसो एक महिनाको नै फरक पर्न गएको छ । ऋतुअनुसारका चिजबिज प्रयोग गरी ऋतुअनुसारका आवश्यकता पूर्ति हुने गरी मनाइने यस्ता चाडपर्व पात्रोमा सुधार नभएका कारण सम्बद्ध ऋतु लागेको धेरै समय बितेपछि ढिलो गरी मनाउन पर्दा यिनको औचित्यमा नै प्रश्नचिह्न लाग्ने स्थिति पनि आउन लागेको छ ।

ऋतुमा त्यति धेरै फरक परिसक्ता पनि पञ्चाङ्गमा त्यसलाई वास्ता नगरी चाडपर्व लेख्ने नेपाल–भारतका अधिकांश पञ्चाङ्गहरुको व्यवहार अहिले देखिन्छ । साधारण श्रद्धालुहरुको त यस विषयमा ध्यान नै गएको हँुदैन । उनीहरुले त विज्ञहरुले ठिकै गरेका होलान् भन्ने ठान्छन् । त्यसैले सर्वप्रथम विद्वान्हरुले नै यस विषयमा विचारविमर्श चलाउने, प्रचारप्रसार गर्ने र पञ्चाङ्ग–सुधारको काममा अग्रसर हुने गर्नुपर्छ ।

६. पर्व–समय–सुधारको इतिहास
पहिले पनि ऋतुअनुसार चाडपर्वको समयमा सुधार गरिएको कुरा सूक्ष्म विचारबाट बुझिन्छ । होली पर्व शिशिर ऋतुको फाल्गुन महिनामा मनाइने पर्व नभई वसन्त ऋतुमा मनाइने पर्व हो भन्ने कुरा यसको वसन्तोत्सव भन्ने नामले र यस पर्वका स्वरूपले सजिलै बुझ्न सकिन्छ । पछिको समयमा यो फाल्गुनपूर्णिमामा मनाइने चलन चलेको पाइन्छ । यसबाट होलीलाई ऋतु मिलाउन चैत्रबाट सारेर फाल्गुनमा ल्याइएको देखिन्छ । मध्यकालमा अयनचलनले गर्दा वर्षभरिमा सबैभन्दा लामो रात हुने दिन अर्थात् उत्तरायण लाग्ने दिन सरेर अगाडि आएको कुरालाई हृदयङ्गम गरी नेवारी परम्परामा योमरिपुन्हि अर्थात् मार्गशीर्ष–पूर्णिमालाई वर्षभरिमा सबैभन्दा लामो रात हुने अहोरात्र र ज्यापुन्हि अर्थात् ज्येष्ठ–पूर्णिमालाई वर्षभरिमा सबैभन्दा लामो दिन हुने अहोरात्रका रूपमा मान्ने प्रचलन पनि पहिले नै सुरु भैसकेको पाइन्छ । यसबाट मार्गशीर्ष–पूर्णिमाबाट उत्तरायणको र शिशिर ऋतुको आरम्भ तथा ज्येष्ठ–पूर्णिमाबाट दक्षिणायनको र वर्षा ऋतुको आरम्भ मान्ने प्रचलन आजभन्दा चार सय वर्ष अगाडि नै सुरु भएको देखिन्छ । अन्य चाडपर्वहरुलाई पनि अगाडि सार्नुपर्ने पर्ने आवश्यकता अनुभव भैरहेको छ ।
ज्योतिषको प्रसिद्ध ग्रन्थ मुहूर्तचिन्तामणिमा सङ्क्रान्तिप्रकरणमा नवौँ श्लोकमा “मेषादितः प्राक् चलसङ्क्रमाः स्युर् दाने जपादौ बहुपुण्यदास् ते” भनी चलसङ्क्रान्ति अर्थात् सायनसङ्क्रान्तिको महत्त्व बताइएको पाइन्छ । मुहूर्तचिन्तामणिका आजभन्दा ४०० वर्षजति अगाडि विक्रमसंवत् १६६० मा काशीमा गोविन्दज्योतिर्विद्द्वारा रचिएको पीयूषधारा टीकामा सायनसङ्क्रान्ति अर्थात् चलसङ्क्रान्ति नै वास्तविक र मुख्य सङ्क्रान्ति हो भन्ने कुरा स्पष्ट पार्दै सायन सङ्क्रान्तिमा जोड पनि दिइएको पाइन्छ । निर्णयसिन्धु र धर्मसिन्धुमा पनि सायनसङ्क्रान्तिको महत्त्व देखाइएकै छ । यसबाट पनि ऋतु अगाडि सरेअनुसार चाडपर्वहरुलाई पनि अगाडि सार्नुपर्ने कुराको पुष्टि हुन आउँछ ।

७. धर्मशास्त्रको निर्देश
धर्मशास्त्रले दैव कर्म दक्षिणायनमा नगर्नू भनेर निषेध गरेको छ । यो कुरा शुक्लयजुर्वेदको गृह्यसूत्र पारस्करगृह्यसूत्रको १।४।५) अनुकूल छ । यसै कुरालाई जैमिनीय मीमांसादर्शनले ६।८।२३–२४) पुष्टि पनि गरेको छ । पहिले असार महिना उत्तरायण अन्तर्गत पर्दथ्यो । तर अयनचलनले गर्दा वर्तमान कालमा असारमा दक्षिणायन लागी विवाह–व्रतबन्ध आदि संस्कारकर्म समेतका शुभकर्म गर्न नहुने अवस्था आइसकेको हुन्छ । तर यस कुरामा ध्यान नदिनाले नेपाल–भारतका अधिकांश पञ्चाङ्गहरुले ज्येष्ठ पूर्णिमाको अथवा वास्तविक दक्षिणायन लाग्ने सायन कर्कट सङ्क्रान्तिको वास्ता नगरी असारका अन्तसम्म पनि शुभ कर्मको लग्न दिने गरिरहेका छन्, जुन कुरा वेद र वेदाङ्गशास्त्रको विरुद्ध छ । यसबाट धार्मिक भावनामा र धर्मशास्त्रको मर्ममा नै अतिक्रमण भएको देखिन्छ । यस विषयमा गुरु–पुरोहितवर्ग र धार्मिक जनता सचेत हुन परेको छ । यस्तो गल्ती हटाउन सबै ज्योतिषीहरु पनि लाग्नुपर्छ । पञ्चाङ्गहरुले आगामी समयमा ज्येष्ठपूर्णिमाभन्दा पछि अथवा वास्तविक सौर दक्षिणायन लाग्ने सायन कर्कट–सङ्क्रान्तिभन्दा पछि विवाहादिका लग्न दिने काम नगर्ने निर्णय गर्न आवश्यक देखिन्छ । यस विषयमा विचारविमर्श चलाउँदै नचलाउनु शोच्य कुरा हो ।

आषाढ–शुक्ल–एकादशीसम्मको अथवा आषाढ–पूर्णिमासम्मको अवधि लिने पक्षमा पनि वेदाङ्गज्योतिषका रीतिले सूर्यको वास्तविक दक्षिणायन आरम्भ भएको दिनभन्दा ६ दिनपछि अर्थात् असार १२–१३ गते आद्र्रा नक्षत्रको आधाआधीसम्मको अवधि) भन्दा पछाडि सुरु हुने आषाढ–शुक्लपक्ष सबै मतमा र सबै रीतिले दक्षिणायनभित्र नै पर्न जाने हुँदा ग्राह्य नहुने कुरामा सम्बद्ध सबैको ध्यान जानुपर्छ । पारस्करगृह्यसूत्रअनुसार शुक्लयजुर्वेदीहरुका निम्ति कृष्णपक्षका लग्न ग्राह्य नहुने हुँदा आषाढकृष्णपक्षका विषयमा त विशेष विचार गर्ने आवश्यकता नै पर्दैन, अग्राह्य नै हुन्छ ।

८. चाडपर्वहरु पछाडि धकेलिएको अवस्था
पञ्चाङ्गहरुमा सुधार नहुँदा माथि चर्चा गरिएका कारणहरुबाट चाडपर्वहरु ढिलो गरी मनाइने स्थिति आजभोलि देखिन्छ । सबैले सजिलै बुझ्न सक्ने एउटा उदाहरण लिउँ । जाडोमा सेवन गर्नुपर्ने घिउचाकु र तिल खान थाल्ने पर्व त पक्कै पनि जाडो याम सुरु हुँदा मनाउन भनी व्यवस्था गरिएको पर्व होला । आजभोलि पुस महिनामा नै जाडो बढिसक्छ । त्यो पर्व जाडो लागेको धेरै समय बितिसकेपछि माघ १ गते पुगेर मनाउँदा त्यसको औचित्य धेरै घटेर जान्छ । वर्तमान कालमा यस्तै स्थिति उत्पन्न भएको छ ।

अर्को उदाहरण— ब्राह्णहरुको महत्त्वपूर्ण पर्व उपाकर्म पर्व वर्षाकाल प्रारम्भ हुनेबित्तिकैको पूर्णिमा तिथिमा गर्नुपर्ने शास्त्रविधान छ पारस्करगृह्यसूत्र २।१०।१–२) । आजभोलि वर्षाको आरम्भ जेठको अन्तिम सप्ताहमा हुन्छ । तर पञ्चाङ्गहरुमा जनैपूर्णिमा पर्व साउन १६ गतेदेखि भदौ १५ गतेसम्ममा राख्ने गरिएको छ । त्यतिखेर वर्षाको आरम्भ हैन वर्षा समाप्तितिर पुग्न लागेको हुन्छ । यसबाट पर्वको समय पछाडी पुगी धेरै नै नमिल्ने भैसकेको स्थिति स्पष्ट हुन्छ ।
त्यस्तै आजभोलिका पञ्चाङ्गहरुमा धेरैजसो वर्षहरुमा शारद नवरात्र वास्तविक चान्द्र शरद् ऋतु बितिसकेपछि चान्द्र हेमन्त ऋतुमा परेका देखिन्छन् । शारद नवरात्रको दुर्गापूजा र विजयादशमी पर्व शक्तिआराधना र विजययात्रासँग सम्बद्ध छन् । विजययात्रा वर्षाको समाप्ति पछि शरद् ऋतुमा गरिन्छ । तर शरद् ऋतु बिताएर जाडो लाग्ने वेलामा नवरात्रको दुर्गापूजा गर्नु र विजयादशमी मनाउनु कत्तिको औचित्यपूर्ण हुन्छ सबैले विचार गर्नै पर्ने वेला भएको छ । उदाहरणका निम्ति २०७५ संवत्, २०७६ संवत् इत्यादि वर्षहरुमा शरद् ऋतुको नवरात्र र दसैँको वास्तविक समय आश्विनमा नपरेर भाद्रमा नै पर्ने, त्यसै प्रकार अन्य अधिकांश चाडपर्वको समय पनि एक महिना अगाडि नै पर्ने आदि कुरालाई नेपाल–भारतका सम्बद्ध पक्षले बुझ्न बुझाउन पर्ने आवश्यकता देखिन्छ ।

यसै गरी शरद् ऋतुको औँसीमा पर्ने लक्ष्मीपूजा र दीपावली पर्व पनि जाडोयाम लाग्दा मनाइने पर्व होइनन् भन्ने कुरा त जसले पनि अनुमान गर्न सक्छ । पर्वहरुका समयमा सुधार नगरिँदा आजभोलि दीपावली पर्व धेरैजसो हेमन्त ऋतुमा परेको पाइन्छ । अहिलेको परिपाटीअनुसार नेपाली पञ्चाङ्गमा वि.सं. २०५८ सालको दीपावली कात्तिक २९ गते र भाइटीका त मङ्सिर २ गते गर्न पर्ने भनिएको थियो । वि.सं. २०७७ मा पनि यस्तै स्थिति हुन्छ । यसबाट हाम्रा चाडपर्व कति पछाडि धकेलिन पुगिसकेका रहेछन् भन्ने कुरा स्पष्ट रूपमा बुभ्mन सकिन्छ ।

यस विषयमा गुरु–पुरोहित–पण्डितवर्गको, धर्मशास्त्री¬हरुको र पञ्चाङ्गकारहरुको पनि ध्यान जानुपर्छ । यस्तो गम्भीर धार्मिक विषयमा सुधारका दिशामा अगाडि बढ्न सम्बद्ध पक्षले ढिलो गर्न हुँदैन । अरू सबै पक्षहरु पनि सक्रिय हुनुपर्छ ।

९.अमान्त महिना तथा अहोरात्रात्मक तिथि र चाडपर्वहरु
पञ्चाङ्गमा लेख्ने गरिएका थुप्रै कुराले प्रयोग गर्दा भ्रम पार्ने परिस्थिति पनि देखिएको छ । वैदिक परम्परामा जस्तै नेवारी परम्परामा पनि शुक्लपक्षका प्रतिपदामा सुरु भई कृष्णपक्ष औँसीमा अन्त हुने अमान्त महिना मान्ने चलन छ । त्यसैले नेवारी परम्पराअनुसार जुन पक्षलाई थिँल्लागा भनिन्छ, त्यो पक्ष मार्गशीर्षकृष्णपक्ष हुन्छ । पञ्चाङ्गमा चाहिँ त्यसको संस्कृतभाषाको नाम पौषकृष्णपक्ष भनेर दिइने गरेको छ । वास्तवमा अमान्त अर्थात् शुक्लपक्षका प्रतिपदामा महिना सुरु भई कृष्णपक्षका औँसीमा महिना पूरा हुने मान नै मुख्य मान हो । यौ नै वेद र वेदाङ्गज्योतिषमा बताइएको मान पनि हो । अमान्त महिना मान्ने यस वैदिक मूल पक्षको प्रचारप्रसारको आवश्यकता देखिन्छ ।

काठमाडौँ उपत्यकामा तिहार तीन दिन लगातार मनाउन पर्ने परम्परागत मान्यता रहेको छ । त्यसै गरी नवरात्र नौ दिनसम्म मनाउनुपर्ने मान्यता रहेको बुझिन्छ । त्यसमा पनि सप्तमीदेखि दशमीसम्म त अनिवार्य रूपमा लगातार टुटबढ नगरी नै मनाइने र ती तिथिका कृत्य एकएक दिनमा अलगअलग नै अनुष्ठान गर्ने परम्परा देखिन्छ । यसबाट काठमाडौँ उपत्यकामा वेदमा बताएजस्तै शुक्लयजुर्वेद–संहिता २२।२८, २७।४५) अहोरात्रात्मक तिथि मान्ने परम्परा अनादिकालदेखि नै चलेर आइरहेको स्पष्ट हुन्छ । त्यसैले पञ्चाङ्गमा अहोरात्रात्मक तिथिको पनि समावेश आवश्यक देखिन्छ ।

१०. पञ्चाङ्गमा वेदाङ्गज्योतिषअनुसारको सुधार
वेदाङ्गज्योतिषले बताएका युग, वर्ष, अयन, ऋतु, महिना इत्यादिको गणना गर्ने पद्धतिको पनि पञ्चाङ्गहरुमा समावेश गरी ऋतु–विचलन¬समेतका यस प्रकारका गडबडीहरुलाई हटाउन पर्छ । वेदाङ्गज्योतिषका र वैदिक कालगणना–पद्धतिका विषयमा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनले रचना गर्नुभएको स्वाद्ध्यायशाला¬कुटुम्बले वि.सं.२०४५ मा प्रकाशित गरेको “वैदिक धर्म मूल रूपमा” भन्ने ग्रन्थकमा केही कुरा प्रकाशित भएको थियो । त्यसलाई नेपालमा प्रचलित पात्रोको सुधारका निम्ति पछिल्लो समयमा चलेका प्रयासहरुको सुरुवातका रूपमा लिन सकिन्छ । वि.सं.२०५२ मा प्रकाशित वैदिक–मन्त्र–सङ्ग्रह ग्रन्थका परिशिष्टमा वेदाङ्गज्योतिषोक्त गणनापद्धतिको व्याख्या भएको थियो । वेदाङ्गज्योतिषका सिद्धान्तका आधारमा पात्रोको सुधारका निम्ति नै वि.सं. २०५३ देखि निरन्तर विभिन्न पत्रपत्रिकामा लेख–निबन्धहरु प्रकाशित गराएर विवेकशील धार्मिक सज्जनहरुको ध्यान आकृष्ट गर्दै आइएको हो । त्यसै समयदेखि धेरै ज्योतिषगोष्ठीहरुमा पनि यस लेखकले आफ्ना विचार राख्तै आएको हो ।

भारतबाट प्रकाशित हुने विभन्न पत्रिकाहरुमा पनि निबन्धहरु प्रकाशित गराई स्वाद्ध्यायशालाकुटुम्बले त्यस विषयमा ध्यानाकर्षण गर्दै आएको छ । “वैदिक धर्म मूल रूपमा” भन्ने ग्रन्थकै वि.सं.२०६२ मा प्रकाशित द्वितीय संस्करणमा यस सम्बन्धमा विस्तृत प्रतिपादन भएको छ । वि.सं.२०६२ मा नै वेदाङ्गज्योतिषको विस्तृत व्याख्या तयार गरी वाराणसीबाट प्रकाशित गराइएको छ । त्यहाँ नेपालमा संरक्षित परम्परा र ग्रन्थको समेत आधार लिई विषयहरुको व्याख्यान गरिएको छ । त्यसमा सबैको ध्यान जानु उचित र आवश्यक छ । भारतको वाराणसीबाट प्रकाशित भएको यस ग्रन्थको विशेष रूपमा प्रचार गरी भारतमा समेत पञ्चाङ्गसुधार गर्न गम्भीर रूपमा चेतना जगाउने कार्य चलाइँदै छ । ज्योतिषसम्बन्धी ज्वलन्त प्रश्नहरुको विवेचना भएको “भारतवर्षीय ज्योतिष के ज्वलन्त प्रश्न और वेदाङ्गज्योतिष” भन्ने ग्रन्थ पनि २०६५ संवत्मा प्रकाशित भएको छ । यस प्रकार वेदाङ्गज्योतिषका र नेपालमा संरक्षित वैदिक परम्पराका आधारमा वैदिक धर्मका सम्पूर्ण अनुयायीहरुले प्रयोग गर्ने पञ्चाङ्गमा गर्नुपर्ने सुधारका निम्ति स्पष्ट मार्गदर्शन गराउने काम भएको छ । यो सबै नेपालीका निम्ति गौरवको विषय पनि हो । नेपालमा वि.सं. २०६७ देखि स्वाद्ध्यायशालाबाट वेदाङ्गज्योतिषअनुसारको वैदिकतिथिपत्रम्को प्रकाशन पनि आरम्भ भएको छ ।

११. भारतमा भएको कार्य र नेपालको विशेषता
भारतमा प्रसिद्ध ठुला वैज्ञानिक मेघनाद साहाका अध्यक्षतामा र प्रसिद्ध ठुला ज्योतिषी निर्मलचन्द्र लाहिडी एन्.सी.लाहिरी) का सदस्यसचिवत्वमा बनेको पञ्चाङ्ग–सुधार–समितिको सुझावअनुसार सौर ऋतुलाई र सौर अयनलाई प्रवृmतिअनुरूप बनाई प्रयोग गर्ने प्रयास गर्दै वि.सं. २०१४ अथवा सन् १९५७–५८ देखि “राष्ट्रिय पञ्चाङ्ग” बनाउने काम थालिएको थियो । त्यसै राष्ट्रिय पञ्चाङ्गबाट प्रभावित र त्यसैको अनुकरणमा बनेकोजस्तो देखिने भारत उत्तरप्रदेशको ग्रेटर नोएडा भन्ने स्थानबाट केही वर्ष अघिबाट प्रकाशित हुन लागेको “मोहन कृति आर्ष पत्रकम्” भन्ने पात्रोमा चाडपर्वहरुको ऋतु मिलाउने प्रयास भएको देखिन्छ । त्यहाँ सौर ऋतुुहरुलाई सायन सङ्क्रान्तिअनुसार मिलाई चाडपर्वहरुको समयलाई अगाडि सारेर पात्रो प्रकाशित गरिएको र त्यसैअनुसार चाडपर्व मनाउने अभियान पनि चलाइएको कुरा जानकारीमा आएको छ । त्यस पात्रामा विवाहादिका लग्न पनि सायन सौर अयनलाई आधार मानी त्यसैअनुसार दिएको पाइन्छ । चान्द्र ऋतु र अयनको स्वरूप तथा धार्मिक महत्त्व एवम् उपयोगिता बुझेर चान्द्र ऋतु र अयन मिलाउने वैदिक परम्पराका दृष्टिले महत्त्वपूर्ण कार्य भने नेपालमा मात्र भएको छ ।

१२. निष्कर्ष
माथि वर्णन गरिएका स्थितिमा हिन्दु सनातनी पञ्चाङ्गहरुमा अनादि वैदिक परम्पराअनुसारका वेदाङ्गज्योतिषोक्त पाँचवर्षे युग, त्यसअन्तर्गतका पाँच वर्ष, अयन, ऋतु, महिना, पक्ष, तिथि इत्यादिको समेत समावेश गर्ने गर्नु र चाडपर्वहरुलाई अगाडि सारेर तिनका निर्धारित सही ऋतुमा नै सम्पन्न गर्ने परम्परा बसाल्ने व्यवस्था गर्नु अत्यन्त आवश्यक कुरा हो । यसतर्पm सबैको ध्यान जानु पर्छ ।
माथि प्रस्तुत विषयमा कुनै पनि प्रकारको प्रश्न आएमा समुचित समाधान दिन स्वाद्ध्यायशालाकुटुम्ब सदा तत्पर छ । अहिले मान्ने गरिएको अवास्तव ऋतुव्यवस्थालाई सच्च्याई चाडपर्वहरुलाई निर्धारित ऋतुमा ल्याउने यस महत्त्वपूर्ण विषयमा समयसमयमा गोष्ठी र संवादहरुको पनि आयोजना हुनुपर्छ । रेडियो–टेलिविजन तथा पत्रपत्रिकाहरुमा पनि संवाद चलाउनुपर्छ । सम्बद्ध पक्षबाट नेपाल–भारतका विशिष्ट वैदिकहरु, धर्मशास्त्रीहरु, ज्योतिषीहरु तथा पञ्चाङ्गकारहरुको बृहत् सम्मेलन गराई विचारविमर्श चलाउनु पनि राम्रो हुन्छ ।

आप्mनो निर्धारित ऋतु¬भन्दा पर पुगेका चाडपर्वहरुलाई निर्धारित ऋतुमा नै ल्याएर चाडपर्वको आवश्यकता र औचित्य पुनःस्थापित गराउने र वास्तविक अयनस्थितिका आधारमा हाम्रा शुभकर्म र संस्कारकर्महरु शास्त्रोक्त उचित समयमा नै सम्पन्न गर्ने–गराउने व्यवस्था गर्ने आवश्यकताबारेको धार्मिक दृष्टिले अति महत्त्वपूर्ण यस विषयलाई हृदयङ्गम गरी काम गर्न सबै विज्ञजनहरु अग्रसर हुनु आवश्यक छ ।

E-mail : acharyapramod622@gmail.com