सिके राउतको जीवनमा आधारीत ‘डा. सिके राउत द प्यासन’ नामको फिल्म बन्ने

151

साउन ३,
काठमाडौं । मधेशका नेता डा. सिके राउतको जीवनीमा आधारीत फिल्म निर्माण हुने भएको छ । ‘डा. सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथा जोडेर फिल्म निर्माण हुने बुधबार प्रेसमिट गर्दै जानकारी दिइयो । आउँदो छठ पर्वमा फिल्म प्रदर्शन हुने समेत जानकारी गराइयो । कार्यक्रममा फिल्मको टिजर पनि सार्वजनिक गरिएको थियो ।

फिल्म घोषणा कार्यक्रममा निर्माण कम्पनी माँ राधिका इन्टरनेशनल मुभिज ले केक काटेको थियो । डा. सिके राउतको उपस्थिती रहेको कार्यक्रममा फिल्मको निर्माण टिम र कलाकारलाई चिनाइयो । डा. राउतले आफूलाई डेढ महिना अघि फिल्म निर्माण टिमले भेट्न खोजेको र फिल्म निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफु सकारात्मक भएको बताए । ‘मलाई भेट्न आउँदा खासै विश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो’ राउतले कार्यक्रममा भने ।

विजेता गिरीको प्रस्तुति रहने फिल्मलाई सन्तोष शाहले निर्देशन गर्नेछन् । फिल्ममा भोजपुरी फिल्मका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन् । परदेशीका अलावा धुर्ब कोइराला, पुकार भट्टराई, विशाल पहाडी, किरण थापा लगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।