Tuesday, October 6, 2026
Home अन्तर्राष्ट्रिय अमेरिकी जलसेनाले इरानी ड्रोन खसालेको डोनल्ड ट्रम्पको दाबी

अमेरिकी जलसेनाले इरानी ड्रोन खसालेको डोनल्ड ट्रम्पको दाबी

161

बीबीसी, साउन ३,
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन्।
उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले बताएका हुन्। गत जुनमा अमेरिकाको ड्रोन खसालेको इरानले भने अमेरिकाले दाबी गरेअनुरूप सो घटनाबारे आफूसँग कुनै जानकारी नभएको बताएको छ। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले हालको घटनालाई इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी, सामग्री र स्वार्थको रक्षा गर्ने अधिकार अमेरिकासँग रहेको बताएका छन्। यसअघि खाडीमा १० लाख लिटर तेल तस्करी गरेको भन्दै इरानले एउटा विदेशी तेल ट्याङ्कर आफ्नो नियन्त्रणमा लिएको थियो। गत मे र जुन महिनामा इरानले दुई पटक ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि आक्रमण गरेको अमेरिकाले आरोप लगाउदै आएको छ। तर तेहरानले भने आरोपको खण्डन गरेको छ।

सैन्य सङ्घर्ष सुरु हुन सक्ने भय उत्पन्न भएको छ। अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय पारमाणविक सम्झौताबाट भिन्न भएर तेहरानमाथि कडा प्रतिबन्ध लगाएयता खाडी क्षेत्रमा तनाव चुलिएको छ। इरानले यसअघि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै अमेरिकी ड्रोनलाई स्ट्रेट अफ होर्मुजमै खसालेको थियो। तर अमेरिकाले भने उक्त ड्रोन आक्रमणमा पर्दा इरानको हवाई क्षेत्रभन्दा बाहिर पर्ने समुद्री क्षेत्रमा रहेको बताउँदै आएको छ। तनाव बढ्दै गएको अवस्थामा ब्रिटिश सेनाका पानीजहाजहरूले ब्रिटिश तेल ट्याङ्करहरूको सुरक्षाका लागि गस्ती गर्न थालेका छन्। एउटा इरानी ट्याङ्करलाई जिब्राल्टरको तटपारि नियन्त्रण गरिएको प्रतिशोध लिने चेतावनी तेहरानले दिएपछि ब्रिटेनले त्यसरी सुरक्षा बढाएको हो।