नेपाल समाचारपत्र
असार २८, सिरहा। दुई दिन देखिको निरन्तर वर्षाका कारण लहानका अधिकांश वस्ती डुबानमा परेका छन् । सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । लहान १ र २ मा रहेका दलित वस्ती डुबानमा परेको छ । डुबानमा परेर ४० घरपरिवार विस्थापित हुन पुगेको छ । लहान स्थित रहेको नहरमा अत्यधिक वर्षाका कारण पानीको चाप बढेपछि नहर भत्केर लहान १ र २ मा रहेका दलित बस्ती डुबानमा परेका हुन् । नहरको किनार र ऐलानी जग्गामा बसोबास गरिरहेका ४० घरपरिवार डुवानमा परेका छन् । उनीहरुलाई लहान नगरपालिका, ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र वेस क्याम्प लहानका टोलीले उद्धार गरेका थिए । उद्धार गरिएका ४० घरपरिवारलाई सुरक्षित वास स्थान लहान १ स्थित रहेको श्री जनता आधारभूत विद्यालय मटियर्वामा राखिएका छन् ।
त्यसैगरी पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् । यस्तै पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीन÷चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ । पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।