कठ्यांग्रिँदै चुरेका विस्थापितः निमोनिया, रूघाखोकी र ज्वरोले थला पर्न थाले बालबालिका

252

-कान्तिपुर दैनिक, पुस २०
चौमाला, कैलाली — छोरी जन्मेको एक महिना पुगेको थिएन, पहिरोले घर भत्काइदियो । त्यसपछि २४ वर्षीया भावना कार्कीको बसाइ त्रिपालमुनि छ । छोरी अहिले सात महिनाकी भइन् । एक सातादेखि ज्वरो आएको छ । लगातार बान्ता गरिरहेकी छन् । औषधिमूलोका लागि उनीसँग पैसा छैन । पुसको चिसोमा उनलाई छोरी जोगाउन मुस्किल भएको छ । गत साउन १४ देखि ६ दिनसम्म अविरल वर्षा हुँदा चुरे गाउँपालिकाको गौजन बस्तीमाथि पहिरो गएको थियो । भदौसम्म स्कुलमा बसेका गौजन र ववडी गाउँका २३ परिवार असोजमा भीमदत्त राजमार्गको सहजपुर सडक खण्ड छेउमा त्रिपाल टाँगेर बसेका थिए । गत मंसिर २७ मा चुरे गाउँपालिका ३, ४, ५ र ६ का करिब १ सय ५० पहिरोपीडित एकीकृत भई तराई झरे । उनीहरू गौरीगंगा नगरपालिका–१ पशुपति सामुदायिक वन छेउमा आएर बसेका छन् ।

यस अवधिमा भावना र उनको काखे बालक धेरै पटक बिरामी परे । केही दिनअघि मात्रै २ वर्षको छोरोलाई पनि ज्वरो आएको थियो । छोरो निको हुन नपाउँदै काखे छोरी फेरि थलिएकी छन् । आफन्तबाट एक हजार रुपैयाँ सापटी लिएर छोरोको उपचार गरेको उनले बताइन् । ‘त्यही हजार रुपैयाँ पनि तिर्न सकेको छैन,’ उनले भनिन्, ‘फेरि छोरीका लागि कोसँग हात थापौं रु’ ववडीकी सपना कार्की ३ महिनाको छोरा लिएर शिविरमा आइपुगिन् । चिसोले उनको छोरा पनि बिरामी परेको छ । सपनाको चार जनाको परिवार त्रिपालको बासमा छन् । दुई वर्षको जेठो छोरालाई पनि सन्चो छैन । शिविरमै बस्दै आएकी पुष्पादेवी कार्कीका दुई छोरालाई पनि चिसोले ज्वरो आएको छ ।

त्यस्तै महिमा कार्कीले पनि आफू र दुई छोराछोरीलाई ज्वरो आएको बताइन् । ‘खुला आकाशमुनिको सामान्य त्रिपालको बास अति नै कष्टपूर्ण भएको छ,’ उनले भनिन्, ‘सरकारले कहिले हाम्रो समस्यालाई बुझिदिने हो रु कति दिन यसरी बस्नुपर्ने हो रु बालबच्चा सबै बिरामी पर्न थालेका छन् ।’ उनले खाद्यान्नको पनि समस्या भएको बताइन् ।