‘बर्डफ्लू’पीडित’ किसानलाई क्षतिपूर्ति बाडिँदै

83

असार २७, काठमाडौं । नेपालमा पहिलोपटक २०६७ साल माघ २ गते झापामा बर्ड फ्लूको संक्रमण फेला परेको थियो । पछिल्लो समय काठमाडौं उपत्याकासहित देशका विभिन्न भागमा बर्ड फ्लूको संक्रमण देखिने गरेको छ । कुखुराको मासु तथा अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर मानिन्छ । नेपालभर पोल्ट्री व्यवसायमा एक खर्ब हाराहारी लगानी रहेको विश्वास गरिन्छ । सरकारले बर्डफ्लूका कारण नोक्सानी व्यहोरेका ९ जिल्लाका कुखुरापालक व्यवसायीलाई ८ करोड १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । पछिल्लो सात महिनामा देशका विभिन्न भागमा देखिएको बर्डफ्लू संकमणका कारण नष्ट गरिएका कुखुरा तथा अण्डा र दानाको क्षतिपूर्ति वितरण गरिने पशुसेवा विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नवलपरासी, मोरङ, सुनसरी र कास्कीका किसानको गत फागुनदेखि असारसम्म नष्ट गरिएका कुखुराको बजार मूल्यको ७५ प्रतिशत रकम क्षतिपूर्ति दिन थालिएको हो । ललितपुर, भक्तपुर र काठमाडौंका किसानले क्षतिपूर्तिको रकम बुझिरहेका छन् भने मकवानपुरका अधिकांश किसानले क्षतिपूर्ति लिईसकेका छन् । संक्रमणग्रस्त रसुवा जिल्लाको लागि भने क्षतिपूर्ति वितरणका लागि स्थानीय बजार मूल्य अध्ययनको काम जारी रहेको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।

देशैभरका पीडित किसानका लागि क्षतिपूर्ति वितरणको कार्य श्रावण अन्तसम्म गरिसक्ने लक्ष्य विभागको छ । विभागले काठमाडौंका कुखुरापालक किसानका लागि २ करोड ७५ लाख २५ हजार, भक्तपुरका लागि ७४ लाख ६६ हजार, ललितपुरका लागि १८ लाख ८३ हजार वितरण गर्नेछ । मकवानपुरका किसानले ४ करोड ४२ लाख ११ हजार रुपैयाँ पाइसकेका छन् । हालसम्म ललितपुर र मकवानपुरका सबै पिडितले क्षतिपूर्ति लिई सकेका छन् भने काठमाडौं र भक्तपुरका केही किसानले अझै क्षतिपूर्ति रकम लिने क्रममा रहेको विभागले जनाएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुरका ५४ कृषकले क्षतिपूर्ति पाइसकेको विभागका सिनियर भेटेनरी अधिकृत मुकुल उपाध्यायले बताए ।

विभागका अनुसार पछिल्लो ७ महिनामा बर्ड फ्लूका कारण ९ जिल्लामा १ लाख २० हजार ६६६ किलो बराबरको कुखुरा, २१ हजार १८२ किलो दाना र ५० हजार ७६६ वटा अण्डा नष्ट गरिएको थियो ।
विभागका अनुसार प्रदेश सरकारमार्फत कास्की, मोरङ, सुनसरी, तथा नवलपरासीमा पनि क्षतिपूर्ति वितरण सुरु गरिएको छ । प्रदेश १ सरकारले १८ सय ३२ किलो कुखुरा तथा ४९ कार्टुन अण्डा तथा १५ क्वीन्टल दानाको १४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति किसानलाई दिएको विभागले जनाएको छ ।

यस्तै कास्कीमा पनि पाँच कृषकले २४ हजार ४३१ रुपैयाँ क्षतिपूर्ति बुझेका छन् । कृषकलाई वितरण गरिएको क्षतिपूर्ति बजार मूल्यको ७५ प्रतिशत हुन आउने विभागले जनाएको छ । सरकारले बर्डफ्लू पिडित किसानका लागि क्षतिपूर्ति दिन ६ करोड ६१ लाख ४० हजार विभागलाई पठाएको थियो । तर विभागले पीडितका लागि अनुमान गरेको रकम ८ करोड १० लाख ८० हजार रुपैयाँ बराबर हुन आउने जनाएको छ ।