लगातारको झरीले देशभर कुन जिल्लामा के भयो ?

147
फाइल तस्विर

असार २७,

काठमाडौं । तीन दिनदेखीको लगातारको वर्षाले देशभर जनजिवन अस्तव्यस्त भएको छ । कतै सडक अवरुद्ध भएर सर्वसाधरणले दुःख पाइरहेका छन् ।
रामेछापः
बिहीबारदेखि परेको अविरल वर्षाका कारण रामेछापको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको सेलेघाट र मसानटार सडक खन्डमा पहिरो गएको छ । गएराति गएको पहिरोको कारण रामेछापबाट काठमाडौं र तराईका विभिन्न जिल्लामा चल्ने यातायातका साधनहरू ठप्प भएका छन् । पानी परिरहेकाले पहिरो हटाउने काम हुन सकेको छैन । भारी वर्षाका कारण रामेछापबाट काठमाडौं हिँडेका यात्री बीच बाटोमा नै अलपत्र परेका छन् ।

रौतहटः चन्द्रनिगाहपुर क्षेत्रका विभिन्न स्थान डुवानमा परेका कारण स्काभेटरका माध्यमबाट पानी खोल्ने काम भइरहेको छ । लाल बकैया नदिले रौतहटको बन्जरहाको बाधमा कटान गरेको छ । नदी कटानका कारण बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तिहरु डुबानमा परेका छन् । लच्कामा आएको बाढीका कारण यातायात अवरुद्ध भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित लच्कामा आएको बाढीले बिहान एउटा कार बगाएपछि यातायात अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए । शुक्रबार बिहानै पुर्ब पश्चिम राजमार्गमा पर्ने लच्कामा आएको बाढीका कारण यातायातका साधन चल्न नसकेको कटुवालको भनाई छ ।

सिन्धुलीः
यसैगरी दुईदिन देखिको लगातार वर्षातको कारण विपिराजमार्ग ५ स्थानमा अवरूद्व भएको छ । विपिराजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ९ भिमान नजिकैको खहरेमा आएको बाढि र पहिरोको कारण सडक अवरूद्व भएको हो । विपिराजमार्गकै सिन्धुली खुर्कोट खण्डमा ४ स्थानमा पहिरो झरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । वर्षातको कारण सडक खुलाउन समस्या भएको उनको भनाइ छ । यस राजमार्ग हुँदै दैनिक ५ हजार भन्दा बढि सवारीसाधन आवतजावत गर्छन् ।

पाल्पाः
लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालन भएको छ । तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ । पहिरोले अवरुद्ध बनेको सडक केहीबेरअघि डोजर लगाएर पहिरो हटाएपछि एकतर्फीरूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

अहिले पनि लगातार पानी परिरहेकाले तत्काल पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । सडक विभाग कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय पाल्पाले डोजर प्रयोग गरेर पहिरो हटाउने कार्य गरिरहेको र केही समयमा सडक दुईतर्फी रूपमै सञ्चालन गरिने सापकोटाको भनाइ छ ।

जनकपुर:
जनकपुर गएरातिदेखि निरन्तर परिरहेको पानीले जनकपुरधाम जलमग्न भएको छ। सरकारी कार्यालयहरुमा पानी जमेका कारण कार्यलय संचालनमा समस्या देखिएको छ।जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, रामानन्दचोक, जिल्ला प्रहरी कार्यालय लगायतको स्थना डुबानमा परेको हो । अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।