मन्त्रीहरूबीच नै मतभेद, मुखै बोल्दैनन् कोही–कोही

92

नेपाल समाचारपत्र
असार २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त्रीहरूबीच मन मिल्न सकेको छैन । दुई तिहाई बहुमत प्राप्त सरकारमा तीन जनाबाहेक २३ जना नेकपाका मन्त्री छन् । मन्त्रीहरूको कामको मूल्याङ्कन गर्नका लागि प्रधानमन्त्री कार्यालयले नम्बर दिने मापदण्ड पनि बनाएको थियो । तर त्यो कार्यान्वयन हुन सकेको छैन । मन्त्रीहरुको बीचमा सामूहिकता भन्दा एक्लाएक्लै सफल हुने होडका कारण परिणाम दिन नसकेको एक मन्त्री बताउँछन् ।

उनका अनुसार मन्त्रीहरूको बीचमा आपसी समन्वय भएको भए राम्रो परिणाम दिन सकिन्थ्यो, तर सरकार गठन भएदेखि नै अहिलेसम्म सामूहिक भावना देखिएको छैन । अन्तर–मन्त्रालयबीच समन्वय नहुँदा सरकारले गरेको निर्णयको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको बुझाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय मन्त्रालय मातहत रहेका निकायलाई आफू मातहत ल्याएकाले पनि काम गर्न कठिनाइ भएको मन्त्रीहरूको गुनासो छ । प्रधानमन्त्री ओलीको निर्देशनअनुसार मन्त्रीहरूले आफ्नो लक्ष्य र कार्यक्रम सार्वजनिक गरेका थिए । तर त्यसको मूल्याङकन र अनुगमन भने फितलो देखिएको छ । मन्त्रीपरिषद् स्रोतका अनुसार कतिपय मन्त्रीहरूको बीचमा त बोलचाल समेत नहुने अवस्था छ । प्रधानमन्त्री ओलीले अगाडि सार्नुभएको नीति र कार्यक्रमअनुसार मन्त्रीहरूले काम गर्न नसकेको निष्कर्ष नेकपाले निकालेको छ ।

समय–समयमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गर्ने विषयले चर्चा पाए पनि परिवर्तन नहुने अभिव्यक्ति स्वयम् प्रधानमन्त्री ओलीले दिइसक्नुभएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक रूपमा दिनुभएको मन्त्रीहरू हेरफेर हुने अभिव्यक्तिले सरकारमा सहभागी मन्त्रीहरु संशङ्कित हुने गरेका छन् । मन्त्री फेरफेर हुने प्रचण्डको अभिव्यक्ति आएलगत्तै प्रधानमन्त्री र प्रचण्डनिवासमा मन्त्रीहरूको दौडधूप हुने गरेको छ ।