नागरिक दैनिक
असार २५, प्रदेश नम्बर १ का पहाडी जिल्लाका बासिन्दा स्वास्थ्यउपचारका लागि तराईका महँगा अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको छ। पहाडी जिल्लामा रहेका अस्पतालमा विशेषज्ञ सेवाको अभाव हुँदा तराईका अस्पतालको भर पर्नुपरेको हो। पहाडी जिल्लाका अस्पतालमा औजार, प्रविधि र अन्य भौतिक पूर्वाधारको पनि अभाव छ। ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रमा सामान्य रोगको मात्रै उपचार पाइन्छ। जिल्ला अस्प्तालप्रति सेवाग्राहीको विश्वास हराउँदै गएको छ। सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र हेल्थपोस्टमा ४० किसिमका औषधि निःशुल्क वितरण गर्ने भने पनि पर्याप्त पाइँदैनन्।
ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच कम छ। जिल्ला अस्पतालहरु रेफर गर्ने ठाउँ बनेका छन्। ‘सामान्य उपचारका लागि पनि तराईका महँगा अस्पतालमा पुग्नुपर्ने बाध्यता छ। कतिले घरजग्गा बेचेर पनि उपचार गर्न नसक्ने अवस्था छ’, नागरिक अगुवा प्रेम ओझा भन्छन्, ‘बिरामीको उपचार गराउँदा रोइकराइ गर्नुपर्ने बाध्यता छ। निजी अस्पतालले लुट्नसम्म लुट्छन। कमजोर आर्थिक अवस्था भएका परिवारका सदस्यले उपचार नै नपाउने अवस्था छ।’ उनले सर्वसाधारणको स्वस्थ्यमा राज्यको ध्यान पुग्न नसकेको बताए। ‘सरकारले स्वास्थ्यको जिम्मा लिन सकेन’, उनले भने।
पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा रहेका सरकारी अस्पतालबाट सामान्यबाहेक सेवा लिन सक्ने अवस्था छैन। वर्षा सुरु भएसँगै ग्रामीण क्षेत्रमा यातायात प्रभावित हुँदा उपचारका लागि निकै कठिनाइ बेहोर्नुपर्ने बाध्यता छ। इलाममा रहेको ५० शड्ढयाको अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छ। ‘आठजना विशेषज्ञ हुनुपर्नेमा ममात्र छु। सामान्य रोग र प्रसूतिबाहेक अपरेसनलगायतका उपचार गर्न सकेको अवस्था छैन’, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पनव राजयमाझीले भने।
इलाम अस्पतालमा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराईका सेवाग्राही पनि पुग्छन्। सरकारले निःशुल्क दिने भनेको औषधसमेत अभाव हुने गरेको रायमाझीले सुनाए। ‘प्रदेशले औषधि खरिद गर्न ४ लाख रुपैयाँ दिएको थियो। जनस्वास्थ्य कार्यालयमार्फत केही औषधि व्यवस्थापन भएको छ तर कसरी पुग्छ र ?’ ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभामा भने १५/१५ शड्ढयाका अस्पताल छन्।