भक्तपुरमा घाँटी रेटेर एक महिलाको हत्या

252

असार १५,
काठमाडौं । भक्तपुरको चाँगुनारायणमा आइतबार दिउँसो धारिलो हतियारले घाँटी रेटेर एक महिलाको हत्या भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आफ्नै घरमा घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ। भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार आफ्नै घरको तल्लो तलाको एउटा कोठामा भट्टराईको हत्या भएको हो।

मोटरसाइकलमा आएका तीन जनाको समूहले भट्टराईको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। स्थानीयले दिउँसो करिब सवा १ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। ‘घटना हुनुभन्दा पहिले तीन जना व्यक्ति मोटरसाइकलमा आएका थिए,’ प्रधानले सेतोपाटीसँग भने, ‘तिनै व्यक्तिले हत्या गरेको आशका छ।’ ती व्यक्ति फरार छन्। हत्यापछि प्रहरीले चारैतिर सुरक्षा जाँच बढाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोली घटनास्थल पुगेको छ।