देशको राजनीतिक सफाइ जरुरी छः सभामुख महरा

167

असार १४,

काठमाडौं । संघीय संंसदका सभामुख कृष्णबहादुर महराले देशमा राजनीतिमा सफाइ गर्नु पर्ने समय आएको बताएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले भने, ‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ ।’

देशमा माफिया सक्रिय रहेकामा चिन्ता व्यक्त गर्दै उनले भने,’अहिले देशमा माफियाहरु सक्रिय छन्, यस्ता माफियाले देशै हडप्न खोजेका छन् ।’ व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै उनले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।

सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्षभित्र देशकै नमूना जिल्ला बनाउने दाबी गर्दै तीन वर्षपछि देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुने बताए । आकाशे पानी सङ्कलन अभियान, प्रत्येक सामुदायिक वनमा कम्तीमा एक पोखरीको निर्माण गर्ने, सडक बालबालिकामुक्त जिल्ला बनाउने, जाममुक्त, उज्यालो भक्तपुर बनाउने उनको भनाइ थियो ।

त्यस अवसरमा प्रदेश सदस्य शशीजङ्ग थापाले करीब २३ रोपनी क्षेत्रफलमा फैलिएको दक्षिण बाराही उद्यान सामुदायिक वनमा प्रदेश सरकारको रु ७० लाखको लागतमा अत्याधुनिक र आकर्षक पार्क निर्माणकार्य भइरहेकाले यस्ता पार्कको विभिन्न ठाउँमा विस्तार गर्दै लैजाने बताए ।

कार्यक्रमका सभापति तथा सूर्यविनायक नगरपालिकाका प्रमुख एवं हनुमन्ते सफाइ अभियानका संयोजक वासुदेव थापालेवृक्षरोपण गर्नेमात्र नभइ रोपिएका बिरुवालाई हुर्काएर संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा २०० वटा एभोकाडोका बिरुवा रोपिएको छ । ।