भोज खाँदा ४१ जना बिरामी

48

असार १५,
तनहुँ । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ जना बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका स्थानीय शनिबार एकैपटक बिरामी परेका हुन् । स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायतका खानेकुरा खाएका थिए ।

भोजमा माछा खाएका जति बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिए । बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरिद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताए । हिजो (शनिबार) मात्र धादिङमा पास्नीको भोज खाँदा ३७ जना बिरामी परेका थिए ।