गगन भर्सेस बाबुराम

82

असार १०,
काठमाडौँ । वैशाख २३ गते बाबुरामको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल बन्यो। बाबुराम १७ सांसद भएको पार्टीको अध्यक्ष बने। त्यसको १० दिनपछि बाबुरामले पहिलो पटक कांग्रेसलाई चिढ्याउने अभिव्यक्ति दिए। जेठ ३ गते पोखरामा भएको एक कार्यक्रममा उनले भने- कांग्रेसको युग सकियो। प्रजातन्त्र स्थापनामा उसको ठूलो भूमिका रह्यो। अब कांग्रेसलाई सम्मान गरेर म्युजियममा राख्नुपर्छ। देशमा समृद्धि र विकास गर्नका लागि समाजवादी पार्टी आएको छ। चुनाव जितेपछि गोरखा बजारमा आयोजित विजय र्‍यालीपछिको कोणसभामा पाँच वर्ष कांग्रेसलाई धोका नदिने बताएका बाबुरामले कांग्रेसविरुद्ध अभिव्यक्ति दिएपछि कांग्रेस गोरखाका नेता कार्यकर्ताले धर्म छोडेको भने तर केन्द्रीय नेताले मुख खोलेनन्।

भट्टराईकै गृहनगर पालुङटार पुगेका कांग्रेस केन्द्रीय सदस्य गगन थापाले गत निर्वाचनमा भट्टराईलाई उम्मेद्वार बनाउनु पार्टीको भुल भएको बताए। ‘कांग्रेसकै भोट पाएर चुनाव जितेकाले कांग्रेसलाई नै संग्रहालयमा राख्नुपर्छ भन्ने,’ कार्यकर्तामाझ थापाले भने, ‘आउने चुनावमा हिसाबकिताब गरिन्छ।’ भट्टराईलाई जिताउन कांग्रेसले चुनावमा गरेको सहयोगलाई थापाले चुनावी भुल भनेका छन्। उनले थपेका छन्, ‘बाबुरामजत्तिको नेता संसदमा चाहिन्छ भनेर मलगायत नेताले हात जोडेर मत मागियो। तर उहाँले कांग्रेसलाई गाली गर्दै हिँड्नुभयो। चुनावमा भएको त्यो भुलको प्रायश्चित गर्दै कांग्रेसले क्षमापूजा गर्छ।’

थापाले आफ्नै गृह नगरमा पुगेर गरेको आलोचनाको जवाफ भट्टराईले शनिबार बेलुकी दिए। कांग्रेसले चुनावी तालमेलको राजनीति नबुझेको उनको प्रतिक्रिया थियो। भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘कांग्रेसका साथीहरुले चुनावी तालमेलको राजनीति बुझ्नु राम्रो होला। गोरखा र रसुवामा नयाँ शक्ति र नेपाली कांग्रेसबीच तालमेल भएको हो। गोरखा २ मा नयाँ शक्ति, रसुवामा कांग्रेसले जितेको हो।’ उनले एकअर्काको सहयोगले चुनाव जितिएको तर्क गरेका छन्।
‘नयाँ शक्तिको समर्थनबिना कांग्रेसले रसुवामा जित्ने थिएन भन्ने किन बिर्सेको? एकता र विरोध दुबै हुन्छ है लोकतन्त्रमा,’ भट्टराईले यस्तो जवाफ फर्काएका थिए। भट्टराईले यतिमा मात्रै कुरा सकाएनन्। भोलिपट्ट आइतबार पनि भट्टराईले उही विषय उप्काए। कमल थापा नेतृत्वको राप्रपाले बीपीको मेलमिलाप नीतिलाई आदर्श बनाएपछि अपहरित बीपीको रक्षा गर्न भट्टराईले कांग्रेसलाई आग्रह गर्दै ट्वीट गरे। ‘बीपीलाई अब राप्रपाले अपहरण गरेछ। बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलाप कार्यतीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो। बीपीको आत्माले के भन्दै होला,’ भट्टराईले थापालाई ब्यंग गरेका छन्, ‘कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बीपीको रक्षा त गर। बाबुरामको क्षमापूजा पछि गरौला। हामी साथ दिन तयार छौं।’

भट्टराईले बीपीप्रति देखाएको चिन्ताको जवाफ दिँदै थापाले जनसरकारको हत्या, हिंसाबाट समाप्त पार्न नसकेको बीपीलाई राप्रपाले अपहरण गर्न नसक्ने जवाफ फर्काए। मंगलबार थापाले ट्वीट गर्दै भट्टराईलाई दिएको जवाफमा, ‘बीपीलाई अब राप्रपाले अपहरण गरेछ! पहिले अपहरित बीपीको रक्षा त गर, डाक्टरसाब चिन्ता नगर्नुस्। बीपीको विचार कांग्रेसको आत्मा हो,’ थापाले लेखेका छन्, ‘तपाईंको जनसरकारको हत्या र हिंसाले जसरी हिजो बीपीका विचार समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन।’

जनयुद्ध लडेको पार्टी त्यागेर नयाँ यात्रामा हिँडिसकेका बाबुरामले गगनको नयाँ तर्कमा जवाफ फर्काइसकेका छैनन्।-Setopati