सांसदको अपमान गरेको भन्दै सत्तारुढ सांसदले मागिन् अर्थमन्त्री खतिवडाको राजीनामा

77

असार १०,
काठमाडौं– प्रतिनिधि सभाका १ सय १० समानुपातिक सांसदको अपमान गरेको भन्दै सत्तारुढ दलकी एक सांसदले अर्थमन्त्री डा। युवराज खतिवडाको राजीनामा माग गरेकी छन् । प्रतिनिधि सभाको शून्य समयमा सांसद रेनुका गुरुङले मनोनित सांसद खतिवडाले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई विभेद गरेर प्रतिनिधि सभाका सदस्यहरूको मानमर्दन गरेको आरोप लगाएकी हुन् ।

‘कानून निर्माण गर्ने, बजेट पारित गर्ने र कार्यपालिकाको निगरानी गर्ने जस्ता प्रतिनिधि सभाका सांसदहरूको काम कर्तव्य र हैसियत एउटै हुन्छ भनेर थाहा हुँदाहुँदै ११० सांसदलाई स्थानीय पूर्वाधार कार्यक्रममा विभेद गरेर प्रतिनिधि सभाको अपमान भएको छ । उहाँ यो पदमा बस्न अनुचित भएकोले सम्माननीय सभामुखमार्फत प्रधानमन्त्रीसमक्ष अर्थमन्त्री खतिवडाको राजीनामाको जोडदार माग गर्दछु,’ उनले भनिन् । सत्ता साझेदार समाजवादी पार्टी, नेपालकी सांसद गुरुङले राजनीतिक व्यक्तिलाई अर्थमन्त्री नियुक्त गर्न पनि माग गरिन् ।