पार्टीको अग्नी परिक्षा सुरु भएको छ: नेता नेपाल

120

असोज १८,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्टको नाममा कलंक नबन्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
शनिबार भक्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदान—प्रदान कार्यक्रममा बोल्दै नेता नेपालले भने ‘विगतमा गल्ती गरेको भए सच्चिएर अगाडी बढौं, तर बदनाम र कलंक बनेर नबसौं ।’ पार्टीको अग्नी परिक्षा सुरु भएकाले वडा, नगर, प्रदेश र संघले गरेका कामको जनताले मुल्यांकन गरिरहेकाले हिजो के भयो भन्ने भन्दा पनि आफ्नो कमजोरी स्विकार गर्नुको विकल्प नभएको नेता नेपालको भनाई छ ।
नेपाल र नेपालीको शान र इज्जत बढाउनका लागि जनताको आधारभूत आवश्यकता पुरा गर्नु नै सरकारको दायित्व भएको उनले बताए ।

खराब बानी हटाउदैं मदिरापान गर्ने बानीले धेरै कुराको हानी गर्ने भन्दै उनले सकेसम्म मासुसम्म कम खाएर चाडपर्व मनाउन आग्रह गरेका छन् ।
कम्युनिष्टको मन कमलो हुने र गरिबको सेवा गर्नुनै दायित्व भएकाले जनताको पीडामा मलम लगाउनु नै हाम्रो काम हो, नेता नेपालले भने । आफ्नो सिद्धान्तमा निष्ठावान भएर जात, भूगोल, आफन्त, अनुहार हेरेर रगत जाचेँर, खकार जाँचेर नभई कम्युनिष्टले वर्गको आधारमा प्राथमिकतामा राख्नु पर्ने उनको भनाई छ ।  विधि, मापदण्ड र मुल्याकंन गर्ने काम कम्युनिष्टहरुको भएको भन्दै उनले काम नगर्ने तर पदको लोभ गर्नेलाई त्यो बानी त्याग्न आग्रह गरे ।

कार्यक्रममा नेकपाका नेताहरु लिलामणी पोखरेल, दिलिप प्रजापति, सोमप्रसाद मिश्रलगायतले देश र जनताका कामलाई अगाडी बढाउदैं, पार्टी एकताको बाकीँ कार्य गनुए पर्नेमा जोड दिए ।