सुरङ मार्गलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ :मन्त्री महासेठ

136

असार ९
काठमाडौँ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत भौतिक पुर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएको प्रश्नको जवाफ दिदै उनले सरकारले सुरङ मार्गको लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको बताए । विकास र पुर्वाधार निर्माण सम्बन्धमा आवश्यकता अनुसार बजेट विनियोजन गरिएकाले पानी जहाजका लागि सोही अनुसार बजेट राखिएको उनले बताए ।

सांसदहरुले पानी जहाजका लागि विनियोजन गरिएको रकम कम भएको भन्दै त्यसबारे जिज्ञासा राखेका थिए । उनले बाहिरी चक्रपथको डिपिआर निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याइएको जानकारी गराए । उनले ९१ प्रतिशत भन्दा बढी पुराना क्रमागत योजनाहरुलाई नै प्राथमिकता दिएकाले नयाँ योजना धेरै नभएको बताए । उनले अन्य क्षेत्रगत रुपमा निर्माण रोकिएका सडक र पुल निर्माणको कामलाई यथासंभव छिटो सम्पन्न गराउने तर्फ मन्त्रालय गम्भीर रहेको बताए ।