डोल्पाका अस्पतालमा औषधि अभाव

108

असार ८,
जाजरकोट । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट (हुइडल पेष्ट रियाजेन्ट ) नहुँदा समस्या उत्पन्न भएको हो । पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीहरु उपचारमा चुनौती थपिएको डा सिजन रावलले बताउनुभयो ।

मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढेपनि टाइफाइड पत्ता लगाउने किट (औषधी) नै नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको डाक्टर रावलले बताउनुभयो । यातायात र हवाई यातायातको सहज पहुँच नभएको डोल्पामा औषधिको आपुर्तिमा ढिलासुस्ती गर्दा धेरै बिरामीले निजी औषधि पसलमा उपचार गर्न बाध्य भएका छन् ।

अस्पताल प्रशासनले औषधि अभाव भएको जानकारी प्रदेश सरकारलाई गराएपनि माग पुर्ति नभएको बताएको छ । डोल्पा अस्पताल प्रदेशको मातहतमा रहेकाले कुनै पनि कुरा अभाव भएमा पुर्ति गर्ने जिम्मा प्रदेश सरकारको रहेको छ । त्यस्तै दुई जना डाक्टरको दरबन्दी भएको डोल्पा अस्पतालमा एक जना मात्र डाक्टरले काम गरिरहेका छन् । करारमा एक जना डाक्टर कार्यरत छन् ।

अस्पतालमा डिजिटल एक्सरेसमेत नहुँदा पुरानो एक्सरेबाट काम सञ्चालन हुँदैआएको छ । त्यस्तै बिरामीलाई दिने अक्सिजनसमेत नहुँदा दैनिक समस्या पैदा आएको छ । जीर्ण भवनमा उपचार गर्दा समस्या हुँदैआएको छ । अस्पताल निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) भएपनि अहिलेसम्म बोलपत्र आह्वान हुनसकेको छैन ।-रासस