स्वस्थ हुन हाँस्नैपर्छ

108

मुस्कान । मानिसको अनुहारले नै धेरै बोल्ने गर्छ । आशा, निराशा, तनाव आदि अनुहारबाटै धेरै हदसम्म छुट्याउन सकिन्छ । खासगरी, मानिस खुसी हुँदा या कुनै चुट्किला सुनेपछि हाँस्ने गर्छ । तर, हाँस्नु खुसी व्यक्त गर्नु मात्र नभएर एक चिकित्सा पनि हो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । जसलाई सित्तैमा प्राप्त हुने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । यसले मानसिक तथा शारीरिक स्वास्थ्यमा कैयौँ प्रकारका सकारात्मक प्रभाव पार्ने तथ्य वैज्ञानिकहरूले सिद्ध गरिसकेका छन् ।

-जर्मनीको म्युनिखस्थित जर्मन लाफ्टर संघका प्रमुख मिलोच स्काफ्तरका अनुसार फुर्सदको समयमा हाँसो लाग्ने जोक र चुट्किला सुनाएर वा सुनेर एक–अर्कामा हाँसो बाँड्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

– बर्लिनस्थित इन्स्टिच्युट अफ ह्युमन बायोलोजी एन्ड एन्थ्रोपोलोजीका निर्देशक कार्सटेन मिनित्रका अनुसार हाँसोले मानव मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । हाँस्ने क्रममा श्वासप्रश्वास तथा मांसपेशी प्रणाली बढी सक्रिय हुन्छ । विशेषगरी, अनुहारको मांसपेशी क्रियाशील हुने गर्छ ।

– हाँस्दा शरीरका अंगप्रत्यंग खुम्चने र फुक्ने क्रममा कैयौँ आवश्यक हर्मोन रिलिज हुन्छन् ।

-खासगरी हाँसिरहने मानिसको शरीरका कोषले अरू मानिसको भन्दा बढी अक्सिजन प्रवाह गर्छ । यसरी बढी अक्सिजन प्रवाह हुँदा फोक्सोमा रहेका विकार कार्बनडाइअक्साइडका रूपमा बाहिर निस्कने, क्याटाबोलिक प्रक्रिया बढी सक्रिय हुने, मुटुको धड्कन र रक्तसञ्चार उत्तेजित हुने र मांसपेशी बलियो हुनेजस्ता फाइदा पुग्छ ।

– हाँसिरहेमा मस्तिष्कले अड्रेनालिन र कोर्टिसोनजस्ता तनाव घटाउने हर्मोन उत्पादन गर्छ । फलस्वरूप मानिस तानावसम्बन्धी विभिन्न समस्याबाट बच्न सक्छ ।

-स्वाभाविक रूपमा हाँस्ने बानी बसाल्न आवश्यक हुन्छ । जसले शारीरिक तथा मानसिक कैयौँ समस्याबाट छुटकारा पाउन सकिन्छ ।

-सुरुमा यसको अभ्यास होलिस्टिक हेल्थ सेन्टरहरूमा सिक्न सकिन्छ । त्यसपछि अभ्यासको क्रम स्वाभाविक हुँदै जान्छ ।

-हाँस्नु मानिसको प्राकृतिक स्वभाव हो । यो यस्तो स्वभाव हो कि जुन पशुपक्षीले गर्न सक्दैनन् । -नयाँ पत्रिका