Saturday, October 17, 2026
Home अन्तर्राष्ट्रिय ‘विवाहको पहिलो रातका लागि तयार थिइनँ, यसका लागि मेरो मर्जी सोधिएन’

‘विवाहको पहिलो रातका लागि तयार थिइनँ, यसका लागि मेरो मर्जी सोधिएन’

387

एजेन्सी, असार ८,
काठमाडौँ । एक भारतीय मिडियामा प्रकाशित यो ब्लग लेख्ने २८ वर्षकी महिला हुन् । उनी एक स्वस्थ सम्बन्धमा छिन् । उनको एक सन्तान पनि छ । जब उनी आफ्नो विवाहको सुरुवाती दिन याद गर्छिन् तब असहज महसुस गर्छिन् । आज पनि । उनको गोपनियताको सम्मान गर्दै यहाँ उनको नाम उल्लेख गरिएको छैन । सबैको जीवनमा केही यस्ता कुरा हुन्छन् जसलाई हामी कोहीसँग पनि सेयर गर्दैनौं । आफ्ना साथी, प्रेमी वा श्रीमान्, कोहीसँग पनि गर्न सक्दैनौं । किनभने ती कुरा सेयर गर्नुको कुनै तुक छैन । र वर्षौंपछि त यसबारे कुरा गर्छु भनेर सोच्न पनि सकिँदैन । तर यस्ता कुराले जीवनलाई भने प्रभावित पारिरहेको हुन्छ ।

मेरो विवाह सन् २०१२ मा भएको थियो । तर यसको पनि अचम्मको कहानी छ । मेरो घरका मानिसहरु मेरी दिदीलाई हेर्न आएका थिए । तर उनीहरुलाई म मनपर्यो । मेरो माइतीले केटाको सरकारी जागिर छ भन्दै सम्बन्ध स्विकार गरे । सबैजना राजी भए । मैले पनि विरोध गरिनँ । तर मेरो अचानक किन विवाह गर्न लागेको भनेर साधेँ, कसैबाट पनि चित्तबुझ्दो जवाफ पाउन सकिनँ । आमाले धेरैको विवाह यही उमेरमा हुने बताउनुभयो । उहाँको पनि त्यही उमेरको भएको रे । साधारण हो रे । मैले पनि यसलाई मानेँ ।

पढाईकै बीच मेरो विवाह भयो । मागी विवाह । २१ वर्षको उमेरमा । म गर्ल्स स्कूल र कलेजमा पढेकी थिएँ । त्यसकारण केटाहरु साथी थिएनन् । मेरो संयुक्त परिवार थियो । त्यसकारण श्रीमानसँग इन्गेजमेन्टपछि विवाहमा मात्रै भेटेँ । इन्गेजमेन्ट र विवाहबीच धेरै समयको फरक पनि थिएन । विवाह पछि म उनको घर पुगेँ । दिनभरीको तामझामले निकै थाकेको थिएँ, मलाई बेस्सरी थकाई लागेको थियो ।

पहिलो रात थियो । म श्रीमानसँग धेरै कुरा गर्न चाहन्थेँ । उनीसँग सहज हुन चाहन्थेँ । उनको घर–परिवारसँग जोडिएका कुराहरु थाहा पाउन चाहन्थेँ ।
तर यस्तो भएन । मेरा श्रीमानले बुझ्न सकेनन् कि म उनीसँग सहज थिइनँ । उनले मेरो इच्छा नदेखेझैं गरिदिए । मेरो मर्जी बिना उनले ममाथि ती सबै कुरा गरे जुन फिल्ममा सुहागरातमा गरेको देखिन्थ्यो । म त्यसको लागि तयार थिइनँ ।

म पीडामा थिएँ । मलाई नराम्रो महसुस भइरहेको थियो । आफूलाई लाचार पाइरहेको थिएँ । अत्यधिक असहज थिएँ तर केही भन्न सकिनँ । त्यतिबेलाको समय सोच्दा अहिले पनि खुसी हुने क्षण कुनै पनि सम्झन सक्दिनँ । मात्र पीडा र अपमान याद आउँछ । मलाई श्रीमानसँग सहज हुन निकै समय लाग्यो । सोच्छु कि श्रीमानले यत्रो ठूलो कुरा कसरी बुझ्न सकेनन् । तर सायद उनलाई यी सबै कुरा महसुस गर्न सिकाइएन होला । यस्तो होइन कि म आफ्नो श्रीमानलाई प्रेम गर्दिनँ । आज मेरो पाँच वर्षको एउटा छोरा छ । तर आज पनि मलाई त्यो दिन सम्झँदा अचम्मको महसुस हुन्छ ।-Ratopti