Saturday, September 26, 2026
Home पत्रपत्रिका रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमा मात्रै ४३ हजार युवा उडे

रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमा मात्रै ४३ हजार युवा उडे

129

नेपाल समाचारपत्र
असार ७,
काठमाडौं । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३ हजार युवा विदेश उडेका छन् । स्वदेशमै रोजगारी अवसर सिर्जना गर्ने गरी सरकारले ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेपनि जेठमा ४३ हजार ६५४ युवा कामको खोजीमा विदेशिए । वैदेशिक रोजगार विभागका अनुसार, जेठमा ४० हजार ९०१ पुरुष र दुई हजार ७३५ महिला श्रम स्वीकृति लिएर विदेशिएका छन् । गत महीना १७ हजार ४३१ पुरुष र एक हजार ५२१ महिला गरी १८ हजार ९५२ युवा संस्थागतरुपमा श्रम स्वीकृति लिएर विदेशिएका थिए । सोही अवधिमा व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएर २१ हजार ३८३ पुरुष र ८५५ महिला रोजगारीको खोजीमा विभिन्न मुलुक पुगेका विभागको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ६१५ पुरुष र २५४ महिला गरी ८६९ युवा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् । वैधानिकीकरण गरी कामको स्वीकृति लिने युवाको सङ्ख्या पनि उल्लेखनीय देखिएको छ । गत महीना एक हजार ४७२ पुरुष र १२३ महिला गरी एक हजार ५९५ युवाले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिएका छन् ।

गत वर्षको सोही अवधिमा ४६ हजार ७१७ पुरुष र दुई हजार ५८२ महिला गरी कूल ४९ हजार २९९ युवा श्रम स्वीकृति लिएर विदेशिएका थिए । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष, सीपयुक्त बनाएर पठाउने नीति लिएको भए पनि वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारको ठूलो सङ्ख्या रहेको छ । जेठमा २३ हजार ३३६ पुरुष र एक हजार ६६७ महिला गरी २५ हजार तीन अदक्ष कामदार विदेशिएका विभागले जनाएको छ । सोही अवधिमा १३ हजार ८०५ पुरुष र ७९८ महिला गरी १४ हजार ६०३ दक्ष कामदार श्रम स्वीकृति लिएर गएका छन् । यसैगरी तीन हजार ६७८ पुरुष र २८५ महिलासहित तीन हजार ९६३ अर्धदक्ष, व्यावसायिक सीप हासिल गरेका ७६ पुरुष र तीन महिला तथा उच्च सीपयुक्त छ पुरुष श्रम स्वीकृति लिई विदेश गएका विभागले जनाएको छ ।