सुनको मूल्य शुक्रबार ६५ हजार पुग्यो, ७० हजार पुग्ने सम्भावना उच्च

169

असार ६,
काठमाडौँ । बुधबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार ६३ हजारमा कारोबार भएको सुन शुक्रबार बजारमा तोलाको ६५ हजार पुगेको हो। बुधबार ६३ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार ६५ हजारमा कारोबार भएको छ। तेजाबी सुनको मूल्य समेत हजार रुपैयाँ नै पढेको छ। बुधबार ६२ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार ६३ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार तेजाबी सुनको मूल्य ६४ हजार सात सय पुगेको छ।

सुनको मूल्यले रेकर्ड बनाएपछि सुन किन्नेको संख्या ह्वात्तै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। असार विवाहको महिनासमेत मानिन्छ। सुनको मूल्यले नयाँ रेकर्ड बनाएपछि सुन खरिद भने ठप्प जस्तै छ। बजेट भाषण नहुँदासम्म ५९ हजारमा कारोबार भएको सुन त्यसपछि एक हजार रुपैयाँ बढेको थियो। त्यसपछि शुक्रबारसम्म बढ्नेक्रम जारी छ। सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपालमा सुनको मूल्य बढेको बताए।

‘डलरको मूल्य बढ्दै गएको छ। यसमा चीन–अमेरिकाको व्यापार युद्ध र अमेरिका–इरानको युद्धको प्रभाव देखिन्छ’, महासचिव बज्राचार्यले भने, ‘अमेरिकन फेडेरल बैंकले ब्याज घटाउने घोषणा गरेको छ। जसले गर्दा लगानीकर्ता सुनमा आकर्षित भएका छन्।’ सुनको मूल्य बढेसँगै राजधानीमा सुनको कारोबार ठप्प जस्तै भएको छ। ‘राजधानीको बजारमा कारोबार ठप्प जस्तै छ’, महासचिव बज्राचार्यले भने, ‘बजारमा विक्रीकर्ता भए पनि खरिद ठप्प छ।’

उनका अनुसार विदेशबाट आउने नेपाली हतारमा जानुपर्ने हुँदा र विवाहको मिति टुंगो लागेको भए सुन खरिद हुन्छ। सुनका खरिदकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। महासचिव बज्राचार्यका अनुसार सुनको मूल्य अन्तराष्ट्रिय बजारमा निर्भर हुने हुँदा अनुमान गर्न सक्ने अवस्था छैन। ‘हामीले अनुमान गर्न सकिदैन। अझै केही दिन बढ्न सक्ने सम्भावनाको विश्लेषण अन्तराष्ट्रिय विज्ञले गरेका छन्’, उनले भने, ‘यही क्रममा बढ्दै गए ७० हजारसम्म पुग्ने सम्भावना देखिन्छ।’-annapurnapost.com