राष्ट्रिय गौरवका आयोजनाको लगाम प्रधानमन्त्रीका हातमा

133

नयाँ पत्रिका दैनिक
असार ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष ९एक्सन रुम०बाट प्रधानमन्त्रीले अनुगमन थाल्नेछन् । राष्ट्रिय गौरवका आयोजनाको काम सीधै प्रधानमन्त्रीले अनुगमन गर्ने उद्देश्यले गत १५ जेठबाट प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएको हो । यही कक्षबाट प्रधानमन्त्री ओलीले आयोजनामा भइरहेको कामको नियमित रूपमा भिडियोमार्फत अनुगमन गर्नेछन् । उनले आवश्यकताअनुसार आयोजनाप्रमुख र प्राविधिकहरूसँग सम्वाद गर्ने व्यवस्था मिलाइएको छ । असारबाट अनुगमन सुरु हुनेछ ।

सुरुमा गौतमबुद्ध विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अनुगमन गर्ने गरी प्रधानमन्त्री कार्यालयले आयोजना स्थलमा क्यामेरा जडान अन्तिम चरणमा पु-याएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार बाँकी ९ आयोजनाहरूमा स्थलगत रूपमै क्यामेरा जडान भइसकेपछि अनुगमन थालिनेछ । सरकारले यसै आर्थिक वर्षभित्रै माथिल्लो तामाकोसी, मेलम्ची आयोजना र गौतमबुद्ध विमानस्थलको काम सम्पन्न गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थलको काम अर्को वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । ‘एक्सन रुमबाट प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो आयोजनाको काम गुणस्तरीय ढंगले सम्पन्न गर्न अनुगमन र निर्देशन दिनुहुनेछ,’ प्रवक्ता कुँवरले नयाँ पत्रिकासँग भने ।

राष्ट्रिय प्राथमिकता प्राप्त २२ आयोजनामा अनुगमनको कामलाई बिस्तारै बढाइने प्रधानमन्त्री कार्यालयको योजना छ । राजमार्गहरूमा भने सर्भिस भेइकलमा क्यामेरा जडान गरेर भिडियो खिच्ने र प्रधानमन्त्रीले अनुगमन गर्ने गरी प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्न खोजेको छ । प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव लोकदर्शन रेग्मी, नतिजा व्यवस्थापन महाशाखा हेर्ने सचिव विष्णु लम्साल, सहसचिव यमलाल भुसाल, प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता विनोद कुँवरलगायतले अनुगमनको काममा प्रधानमन्त्रीलाई सघाउनेछन् ।