कथाः बडाशहरको बडादशैं

166

-यमुना पराजुली अधिकारी

टेबलमा घोरिएर एकोहोरो लाएर केहि पढ्दै गरेकि म एक्कासी सुनेको आवाजले झसङ्ग भए । पार्वती दिदी हुनुहुदो रहेछ । भन्दै हुनुहुन्थ्यो ‘ दशै लाग्यो त अब झ्यालका पर्दा झिकेर धुन सुरु गर्नुपर्ला ।’ ‘ दशैं आयो है ?’ म यस्तरी भन्छु कि मानौ मलाई केहि थाहा नै छैन ।
त्यहि बसिबसिकनै झ्यालबाट बाहिर हेरे , अहँ ! आकाश हेर्दा त त्यस्तो लाग्दैन त ? दशैं ताका देखिने त्यो निलो आकाश खोई ? अनि त्यो निलो आकाशको बिच्च बिच्चमा घोडा हात्तीको आकृती जस्ता देखिने सेता हिउँ जस्ता बादलका झुण्ड उहँु कतै देख्दिन परपर सम्म ।

आकाशको त्यो स्वच्छ सेतो बादलको ठाउँमा छ त केवल धुँवा र धुलो मिश्रित प्रदुषण सहितको हावा । जुन सेतो होइन हल्का सिन्दुरे कलरको देखिन्छ । अनि त्यो माटोको सुगन्ध ? दशैं लाग्दाको माटोको सुगन्ध अर्कै लाग्थ्यो मलाई । त्यो अचम्मको सुगन्ध अरुबेला कहिल्यै महसुस भएन । सायद त्यो निलो आकाश , सेतो बादल र त्यो माटोको कुनै गहिरो सम्बन्ध थियो ।

सोच्छु आफ्नो गाउँको त्यो आकाश नदेखेको पनि बर्षाै भयो । माटोको सुगन्ध नसुघेको पनि बर्षौ नै भयो । दशैं आउन एक महिना अगाडि नै गाउँमा चहलपहल सुरु हुन्थ्यो । चिउरा कुट्न ढिकीहरुको सफाई हुन्थ्यो । चिउराको मगमगले गाउँ नै लठ्ठिन्थ्यो । अनि पो दर्शै आएझै लाग्थ्यो ।

गाउँमा यो पटक फलानो आउने रे चिलानो न आउने रे भनेर अगाडि नै हल्ला हुन्थ्यो । पल्लो गाउँको गोपाल दाईका लुगा सिलाउनेको भिड लाग्थ्यो । अनि पो दशैं लागे झै लाग्थ्यो । आमाले बारीको काक्रो थाङग्रोमा काक्रा अड्याउदै भन्नुहुन्थ्यो ‘ यो काक्रो दशैंलाई खल्पी राख्न हो । नहल्लाउनु है ? कुहिन्छ ।‘ हामी दिनै पिच्छे त्यो काक्रामा नजर लगाउथ्यौं । केहि दिनमा त्यो काक्रो पटपटि फुटेर पहेलो हुन्थ्यो । अनि त झनै दशैंले झा्प्पै छोपेझै लाग्थ्यो ।

त्यो पाकेको काक्रो बाट बनाइने खल्पीको अचार सम्झेर मुखमा पानी नै आउथ्यो । दाइहरु बाटो खन्न कोदाली बोकेर निस्कनु हुन्थ्यो । नौरथा लाग्नु अगाडि नै गाउँ दुलहि जस्तै श्रृङगारी सकिन्थ्यो । अनि पो दशैं आएझैं लाग्थ्यो । हाम्रो गाउँमा ।

यो बडा शहरमा आएदेखी दशैंको रौनक हराएको छ । टिका थापेर दक्षिणा लिनुको महत्व हराएको छ । दहि चिउराको महत्व हराएको छ, बाँसको ढुङगा्रमा राखेको काक्रोको अचारको महत्व हराएको छ । साँच्चै भन्नु पर्दा दशैंमा पाहुना जानु र आउनुको महत्व हराएको छ ।
गाउँमा दशैको लागि सरसफाई सुरु हुँदा शहरमा फोहरहरु थुप्रिन थाल्छन । सायद महानगरका कर्मचारीहरु बिदामा गाउँ जान्छन होला ।

यस्तै सोचाइमा डुबिरहदा दिदीले फेरि घचघच्याउनु भयो । ‘ बैनी कता हराउनु भयो ?’
‘ होइन दिदी यहिँ छु त । म मिस्टर इण्डिया हो र गायब हुन ? मैले ठट्यौली पारामा भने ।
अब के गरौं त ? झिकौ पर्दा ? फेरी कोठाहरु पनि सफाई गर्नु पर्छ ।’  ‘ हुन्छ ’ । मेरो अनुमती पाएसी उहाँले आफ्नै धुनमा काम सुरु गर्नुभयो ।

बेलुका कलेजबाट छोरी आई ‘ मामु हाम्रो कलेजले पन्ध्र दिनको बिदा दिने भयो यो दशैंमा । फुर्सदको टाइममा टन्न मोबाइल चलाइन्छ । राम्रो राम्रो फिल्म हेरिन्छ ।’ म वाक्क भएँ , छक्क परें । के बडा शहरका हामीहरुले दिने सस्कार यहि हो त आफ्ना सन्तानलाई ? कि आफ्नो महान चाडको केहि मतलब नै नहोस ? कि हावा नै यस्तै बहने हो यता ? आफ्नो रितीथिती , परम्पराको उनिहरुलाई कुनै हेक्का नै छैन ?

गाउँघरमा हुर्किबढि गरेका हामीलाई त यस्तो कुरा कसैले सिकाउनु परेन । घटस्थापना देखी स्कुल बिदा भएपछि दशैकै लागि आफै खटिन्थ्यौ हामी । नयाँ लुगालाई लिएर कति उत्साहित हुन्थ्यौ । ‘ नानु ! दशैंको बेला यसो परिकारहरु बनाउनु पर्छ । टिका थाप्न जानुपर्छ भन्ने कुराको तिमीलाई केहि मतलब छैन ?कि रहरै छैन ?अनि दशैंमा नयाँ लुगा किन्नु पनि पर्दैन ? मैले नम्र भएर सोधे ।

‘ ह्या मामु बल्ल त यति लामो बिदा हुन्छ रेष्ट गर्न दिस्यो न । लुगा त अस्ती भर्खरै किनेको छ । त्यही लगाउला न । फेरि मलाई टिका लगाउन भनेर धेरै तिर हिड्न मन पनि छैन । कर पनि नगरिस्यो है मलाई । ’  ‘मामाघर नि नजाने ?’‘ अस्ति भखैरै त गएको फेरि दशैंमै जानु पर्छ भन्ने के छ र ? उस्को ठाडो जवाफले म साच्चै नै वाक्क भएँ ।

उफ ! दशैं आयो अब मामाघर जान पाइन्छ भनेर कति दङग परिन्थ्यो । अब दशैंमा मामाघरको महत्व पनि हराएको हो त ?अनि नयाँ लुगा ? उफ त्यो बेलाको दशैंको नयाँ लुगा कुरा नगरम । तर म त्यतिबेला जति उत्साहित देखिन्थें किन देखिन्न मेरि छोरी ?
बेलुका श्रीमान अफिसबाट आउनु भयो । फोनमा कुरा गरेको सुन्दैछु । ‘ बिदा पनि कति छोटो हो अब त । राम्रो सँग रेष्ट गर्न नि नपाइने भयो । ल ल हुन्छ प्रोग्राम मिलाउला नि कुन दिन कस्कोमा बस्ने भनेर ।’

मलाई थाहा भयो मेरा श्रीमानको पनि दशैं प्लान बनिसक्यो । मेरो पनि मन मरेर आयो केहि कुराको प्लान गर्न मन लागेन । म पनि छोरी जस्तै अल्छि भएँ । या बाध्यताले अल्छि बनायो ? घटस्थापनाको दिन सम्ममा पार्वती दिदीले घर सफाई सक्नु भयो र दशैं मनाउनका लागि घर जान बिदा लिनु भयो । छोरीले कुनकुन फिल्म हेर्ने भनेर युट्युब सर्च गर्न थाली , श्रीमानले कस्को घरमा कुन दिन बस्ने भनेर लिस्ट तयार गर्नुभयो । र यसरी नै एउटा बडाशहर भित्रको एउटा सानो घरको यो पटकको बडादशैंको कथा सकियो ।