पहाडमा चल्ने सवारी साधनमा भन्सार शुल्क १० प्रतिशत बढ्यो

180

जेठ २३,
काठमाडौँ । पहाडी भेगको लाइफलाइनको रुपमा रहेको डबल क्याब पिकअप सवारी साधनको भन्सार दर सरकारले १० प्रतिशत बढाएको छ। सरकारले बजेटमार्फत अटो क्षेत्रमा यो एउटा मात्रै ठूलो निर्णय गरेको छ तर त्यसको सबैभन्दा ठूलो असर भने भर्खरै निर्माण हुँदै गरेको ग्रामिण अर्थतन्त्रमा पर्ने भएको छ। पहाडको कच्ची सडकमा ढुवानी र यात्रु बोक्न प्रयोग भैरहेका यी गाडीको भन्सार दर १० प्रतिशतले बढाउँदा त्यसको मूल्य तीन लाखदेखि सात लाख रुपैयाँसम्म बढेको छ। पहिला सिंगल क्याब र डबल क्याब पिकअपको भन्सार दर बराबरी थियो। सिंगल क्याबमा एक जना चालक र एक यात्रु बस्न मिल्छ भने डबल क्याबमा एक जना चालकसहित चार जना यात्रु समेत राख्न मिल्छ।

चार जना यात्रुसँगै पछिल्लो भागमा सामान ढुवानी गर्न मिल्ने भएपछि ग्रामिण क्षेत्रमा अहिले डबल क्याव पिकअपको माग राम्रो छ। भन्सार बढ्दा पहाडी भेगका जनता प्रभावित हुने देखिएको छ। डबल क्याब पिकअप गाडी विकास परियोजनामा समेत प्रयोग हुन्छ। अहिले नेपाली बजारमा महिन्द्राको बोलेरो र स्कार्पियो, टाटाको जेनेन, इसुजुको डिम्याक्स, फोर्डको रेन्जर, निसानको नाभारा र टोयोटाको हाइलक्स विक्री हुँदै आएका छन्। त्यसमध्ये महिन्द्रा र टाटाका गाडी ग्रामिण भेगमा तथा इसुजु, फोर्ड र टोयोटाको डबल क्याव पिकअप जलविद्युत लगायतका परियोजनामा बढी सञ्जालन हुन्छन्। यो सेग्मेन्टमा वार्षिक झण्डै १० हजार गाडी बिक्री हुन्छ।