चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का

57

काठमाडौं । सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ। लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी (शर्मा सगुन जेभी) लाई आयोजनाको पहिलो चरणको ठेक्का दिएको हो।

खड्का चितवनको भरतपुरको नालीमा परेर गैंडाको मृत्यु प्रकरणमा मुछिएका ठेकेदार हुन्। उनीमाथि प्रहरीले ९ महिनाअघि नै पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी हालसम्म पक्राउ परेका छैनन्।

गत वर्ष माघ ९ मा चितवनको भरतपुरमा निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकखण्डमा बनाइएको नालीमा परेर गैंडाको मृत्यु भयो। घटनामाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायो।

चितवन राष्ट्रिय निकुञ्जले घटनाका दोषी ठहर गर्‍यो सगुन कन्स्ट्रक्सनका सञ्चालक सहदेव खड्कालाई। माघ १३ गते खडकाविरुद्ध निकुञ्जले पक्राउ पुर्जी समेत जारी गर्‍यो। तर उनी पक्राउ परेनन्। राजनीतिक पहुँचका कारण देखाउँदै उनलाई उन्मुक्ति दिइएको आरोप संरक्षणकर्मीहरूले लगाएका थिए।

उनै ठेकेदारलाई ३ अर्ब ८ करोड रुपैयाँको ठेक्का दिएर लुम्बिनी प्रदेश सरकारले पुरस्कृत गरेको हो।