संसद् गफ गर्ने अखडा मात्रै

145

राजेश मिश्र ( कान्तिपुर दैनिक)
जेठ २३, काठमाडौँ । ‘एउटा फुलस्टप, कमा र एक रुपैयाँको फेरबदल हुने होइन । हामी सांसद दिनभरि कराइरहेका छौं । राम्रा कुरा पनि उठ्छन् । तर, भूलसुधार हुँदैन, गरिँदैन । हुने त केही होइन, थाहा छ । सबैले रेकर्ड गराउने हो । म पनि रेकर्ड गराउन उपस्थित भएको हुँ ।’

पटकपटक मन्त्री भइसकेका राजेन्द्र महतोले संघीय संसद्मा बजेटमाथिको छलफलमा मंगलबार सुरुमै यसो भने । सिंगो संसद् र सांसदहरूको प्रभाव कति कमजोर हुँदै गएको छ भन्ने उनको धारणा थियो । बजेट सन्दर्भमा मात्रै होइन, संसद्मा प्रवेश पाउने अरू विषयमा समेत सांसदले उठाएका विषयलाई सरकारले सम्बोधन गरेको खासै देखिन्न ।

महतोले त्यसो भनेको भोलिपल्टै प्रतिनिधिसभा मातहतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारूढ दलकै सांसद पम्फा भुसालको त्यस्तै धारणा आयो । उनले भनिन्, ‘संसद् र समितिमा बोल्नुको कुनै अर्थ छैन । सरकारलाई विधेयक, संसद् र समितिको वास्ता छैन भने हामी हाजिर गर्ने, बस्ने ।’ उनले बोलेर केही नहुने भएकैले आफूले बजेटमाथिको छलफलमा समेत नबोलेको उल्लेख गरिन् ।

‘नीति तथा कार्यक्रममा कमा पनि परिवर्तन भएन, बजेटमा एक पैसा पनि परिवर्तन हुने होइन,’ उनले भनिन्, ‘परिवर्तन केही नहुने भएपछि संसद् त गफ गर्ने अखडामात्रै भएको छ । मार्क्सवाद पढदा संसद्बारे भन्ने गरिएको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ, त्यस्तै भएको छ ।’