विश्वप्रकाश प्रवक्ता भएपछि….

62

रमेश सापकोटा (नयाँ पत्रिका दैनिक)
जेठ १७, काठमाडौं । कांग्रेसमा परम्परागत शैलीमा हुँदै आएको प्रचारशैली र सूचना वितरण प्रणाली फेरिँदै गएको छ । १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका विश्वप्रकाश शर्मा दुई वर्षपछि पदाधिकारीबराबरकै हैसियतको प्रवक्ताको जिम्मेवारी पाए । शर्मा प्रवक्ता नियुक्त भएपछि कांग्रेस प्रेसमैत्री हुँदै गएको छ । शर्मा प्रवक्ता भएको १७ महिना हुँदैछ । १७ महिनामा उनले पार्टीका निर्णय मिडिया, कार्यकर्ता र जनताबीच पु(याउन नयाँ–नयाँ प्रयोग र शैली अँगालेका छन् । सरकारका निर्णयको प्रतिवाद गर्न भिडियो सन्देश दिनेदेखि इन्फोग्राफिक्स बनाएर सामाजिक सञ्जालमा राख्नेसम्म गरेका छन् । भन्छन्, ‘सहज रूपमा कांग्रेसका भनाइ आमजनता, कार्यकर्ता र नेताकै तहमा जाऊन् भन्ने मेरो अभिप्राय हो ।’

महाधिवेशनपछिको लामो समय प्रवक्ताविना कांग्रेस चल्दा विभिन्न राजनीतिक घटनाक्रममा कांग्रेसको आधिकारिक धारणा समयमा आउनै गाह्रो थियो । युवा नेता शर्मा प्रवक्ता बनेपछि सूचना वितरण प्रणाली बदल्ने प्रयास गरिरहेका छन् । २०७२ फागुनको अन्तिम हप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०७४ पुस २६ मा प्रवक्ता मनोनित भएका थिए ।अघिल्ला प्रवक्ताहरूले परम्परागत शैलीमा जिम्मेवारी चलाउँथे । शर्माले भने कुनै घटना र सन्दर्भमा तत्काल प्रतिक्रिया जनाउने, टिप्पणी गर्ने, पत्रकार सम्मेलन गर्ने, सभापतिको तर्फबाट प्रेस नोट जारी गर्ने, प्रवक्ता र केन्द्रीय कार्यालयका तर्फबाट प्रेस नोट जारी गर्ने गर्छन्, ढिला नगरी ।