काठमाडौं । महान् दार्शनिक सुकरातको अनुहार कुरूप थियो । एक दिन उनी कोठामा बसेर एउटा गहिरो भाँडामा राखेको पानीमा आफ्नो अनुहार हेरिरहेका थिए । एक शिष्य उनको कोठामा प्रवेश गरे । सुकरातले पानीमा अनुहार हेरिरहेको देख्दा उनलाई हाँसो उठ्यो । उनी मन्द मुस्कुराए । यो देख्दा सुकरातले उनको हाँसोको कारण बुझे । उनले शिष्यलाई भने– तिमी किन मुस्कुराइरहेका छौ, मैले त्यसको कारण बुझेँ । तिमी पक्कै पनि मजस्तो कुरूप व्यक्तिले किन पानीमा अनुहार हेरिरहेको होला भनेर मुस्कुराएका हौ, होइन त ?
सुकरातको प्रश्नले शिष्य लज्जित भए । उनले यस प्रश्नको कुनै उत्तर दिन सकेनन् । तर, सुकरातले फेरि अगाडि भने ‘म हरेक दिन यसैगरी पानीमा आफ्नो कुरूपताको दर्शन गर्छु । यसबाट मलाई जहिल्यै जीवनमा सत्कर्मद्वारा आफ्नो कुरूपता ढाक्ने प्रेरणा प्राप्त हुन्छ । अनि, जहिल्यै सत्कर्मबाट आफ्नो कुरूपता ढाक्ने प्रयास गर्छु ।’
सुकरातको विचारबाट शिष्य निकै प्रभावित भए । तर, उनको मनमा अझै एउटा शंका उब्जियो । त्यसको समाधानका लागि उनले सुकरातसित सोधे ‘गुरुदेव, त्यसो भए सुन्दर मानिसचाहिँ पानीमा आफ्नो अनुहार किन हेर्छन् त रु उनीहरूलाई त यसको आवश्यकता नहुनुपर्ने हो नि ?
सुकरातले जवाफ दिए ‘यस्तो होइन, सुन्दर मानिसले पनि पानीमा आफ्नो अनुहार हेर्ने गर्नुपर्छ । र, उनीहरूले जति सुन्दर आफ्नो अनुहार छ, त्यति नै सुन्दर कर्म गर्नुपर्छ भन्ने सोच्न सक्नुपर्छ । जसले गर्दा कुनै खराब कर्मले उनीहरूको सुन्दरतालाई ढाक्न नपाओस् र कर्मका कारण उनीहरूले कहिल्यै कुरूप कहलिन नपरोस् । -nayapatrika.com