नेकपा एकता: एक वर्ष १२ महिनामा ६ ठूला विवाद

59

दिपेश शाही ( नयाँ पत्रिका)
जेठ ३, काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको शुक्रबार वर्षदिन पुग्दै छ । ३ जेठदेखि ३ जेठसम्म पुग्दा नेकपाले एकताका धेरै काम सकेको छ । तर, पार्टीभित्र एकातिर फरक समूह र उपसमूह थपिँदै छन्, अर्कोतिर शीर्ष तहमै विवादहरू दोहोरिइरहेका छन् । एक वर्षमा नेकपाको सचिवालय तहमै ठूल्ठूला छ वटा विवादहरू सतहमा आए । नेकपाले यसबीचमा जिल्ला तह, पोलिटब्युरो संख्या र सदस्य, विभिन्न भ्रातृसंगठनबीच एकता टुंग्याएको छ । तर, पार्टी घोषणाको १२ महिनामा वरीयता विवाददेखि राजीनामा प्रकरणसम्म सतहमा आए । नेकपा एकताको पहिलो वर्षका मुख्य छ विवाद यी हुन् स्

वरीयतामा विवाद खनाल र नेपालको निरन्तर असन्तुष्टि

माक्र्सको २००औँ शतवार्षिकीको अवसरमा एउटा कार्यक्रममा सहभागी हुन तत्कालीन एमालेका वरिष्ठ नेता झलनाथ खनाल चीनको सेन्जेन गएका थिए । त्यही वेलामा पार्टी एकताबारे छलफल चलिरहेको थियो । उनी फर्किँदा एकताको घोषणा भइसकेको थियो र पार्टीले नेताहरूको वरीयता छुट्याइसकेको थियो । उनी वरीयतामा अध्यक्षद्वय केपी ओली, प्रचण्ड र माधव नेपालभन्दा पछि राखिएका थिए । एकता घोषणामा सहभागी हुन नपाएका खनाल वरीयतामा पनि पछाडि परेपछि नेपाल फर्किएकै दिन विमानस्थलमा असन्तुष्ट देखिए । उनले भने, ‘पार्टीको वरीयतामा अन्याय भएको छ । यस विषयमा मैले पार्टीभित्र फरक मत राख्छु र संघर्ष गर्छु ।’ उनले पार्टीभित्र र बाहिर निरन्तर आफ्नो असन्तुष्टि राखे पनि कुनै सुनुवाइ नभएपछि उनी मौन रहे ।

सुरुमा सन्तुष्ट देखिएका नेता नेपाल आफू पक्षका नेता र कार्यकर्तालाई एकता प्रक्रियामा पाखा लगाइएपछि असन्तुष्ट बने । उनी विशेष गरी प्रदेशदेखि जिल्ला कमिटी गठन गर्ने प्रक्रियामा असन्तुष्ट देखिन्छन् । गत ५ असोजमा उनी अफ्रिकी देश घाना भ्रमण गएका वेला पार्टी सचिवालयले प्रदेशका पदाधिकारी टुंग्यायो । त्यस निर्णयविरुद्ध उनले १२ असोजमा आफ्नो असहमतिपत्र केन्द्रीय कार्यालयमा दर्ता गराए । पछि जिल्ला कमिटी टुंग्याउने विषयमा पनि पार्टीभित्र सबैभन्दा बढी असन्तुष्टि व्यक्त गर्नेमा नेता नेपाल नै अगाडि छन् । अन्य भूमिकामा पनि आफ्नो पक्षलाई खुम्चाइएको उनको बुझाइ छ ।