ईश्वरराज ढकाल (नेपाल समाचारपत्र)
बैशाख १३, काठमाडौँ । पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गर्नुभएको छ । यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको अधिकांशको आरोप भइरहेका बेला पूर्वमन्त्री पौडेलको पनि यस्तो स्टाटस आएको हो । बहालवाला मन्त्रीको क्रियाकलापप्रति आक्रोश पोख्दै उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ– ‘सार्वजनिक विद्यालयको रुपान्तरण, सबलीकरण, सशक्तीकरण र सुदृढीकरण नीति, विधि, योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो ? ’
उहाँले लेख्नुभएको छ– ‘आफैंले आफ्नै मन्त्रीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले ५ महिना ७ दिन लगाएर तयार गरेको सार्वजनिक विद्यालयको प्रवद्र्धनका सुझाव र सिफारिससहितको प्रतिवेदनसहित नीति, विधि र कानूनका मस्यौदा घर्रामा थन्क्याएर देशभरिबाट सार्वजनिक विद्यालयसँग सम्बद्ध केही मान्छे काठमाडौंमा बोलाएर भाषण सुनाएर पठाएपछि सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरण हुन्छ, तिनले गुणस्तरीय शिक्षा दिन थाल्दछन् भन्ने ठूलो भ्रममा सरकार परेको देखियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय त्यसमा फसेको हो कि फसाइएको हो ?’