Wednesday, October 7, 2026
Home अन्तर्राष्ट्रिय भारतीय निर्वाचनः राहुल गान्धीसहित ६४७ उम्मेदवारको प्रतिष्ठा दाउमा

भारतीय निर्वाचनः राहुल गान्धीसहित ६४७ उम्मेदवारको प्रतिष्ठा दाउमा

79

वैशाख २३, एजेन्सी। भारतमा लोकसभाको पाँचौ चरणको मतदान सुरु भएको छ । यस चरणको चुनावमा केही दिग्गज नेताको प्रतिष्ठा दाउमा छ । सोमबारको चुनावमा यूपीए अध्यक्ष सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, स्मृति इरानीसहित ६४७ नेताहरुको भाग्य फैसला हुनेछ । सोमबार ७ राज्यका करिब ८ करोड ७५ लाख मतदाताले ५१ सांसद चुन्नेछन् । ५१ सिटका लागि ६४७ जना उम्मेदवार चुनावमा उठेका छन् । कुल ५१ सिटमध्ये सन् २०१४ को चुनावमा भाजपाले ३९ सिट र कांग्रेसले २ सिट जितेका थिए । अन्य सिट विपक्षी दलहरुले जितेका थिए ।

सोमबार उत्तर प्रदेशको सबैभन्दा धेरै १४ सिट, राजस्थानका १२ सिट, पश्चिम बंगाल र मध्यप्रदेशका ७(७ सिटमा चुनाव भइरहेको छ । यसैगरी बिहारका ५ र झारखण्डका चार सिटमा पनि सोमबार नै मतदान भइरहेको छ । जम्मु(कश्मिरको लद्दाख सिट र अनन्तनाग सिटका लागि पुलवामा र शोपिया जिल्लामा पनि चुनाव भइरहेको छ । भारतको चुनाव आयोगले ९४ हजार मतदान केन्द्र बनाएको छ । मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पाँचौ चरणको मतदानसँगै ४२४ सिटमा चुनाव सम्पन्न हुनेछ । बाँकी ११८ सिटमा १२ मे र १९ मेमा चुनाव हुनेछ ।

सोनिया गान्धी आफ्नो परम्परागत रायबरेली क्षेत्रबाट चुनाव लडेकी छन् । यहाँबाट उनले तीन पटकसम्म चुनाव जितिसकेकी छन् । सोनिया गान्धी भन्दा पहिले दुई पटक पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र त्यसपछि फिरोज गान्धीले पनि रायबरेलीबाटै चुनाव जितेका थिए । यसपटक सोनियाविरुद्ध भाजपाका दिनेश प्रताप सिंह प्रतिस्पर्धामा छन् । सपा(बसपा गठबन्धनले सोनियालाई समर्थन गर्दै आफ्ना उम्मेदवार खडा गरेका छैनन् ।

राहुल गान्धी अमेठी र वायनाडबाट उम्मेदवार बनेका छन् । अमेठीबाट भाजपाले केन्द्रीय मन्त्री स्मृति इरानीलाई दोस्रोपटक टिकट दिएको छ । यहाँ पनि सपा(बसपा गठबन्धनले आफ्ना उम्मेदवार उठाएका छैनन् । केन्द्रीय गृहमन्त्री राजनाथ सिंह एक पटक फेरि भाजपाको गढ मानिने लखनउबाट चुनाव लडेका छन् । सन् २०१४ मा पनि उनले लखनउबाटै चुनाव जितेका थिए । लखनउबाट चुनाव जितेर पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयी पाँच पटक सांसद बनेका थिए । सपाले लखनउबाट शत्रुघ्न सिन्हाकी पत्नी पुनम सिन्हालाई र कांग्रेसले प्रमोद कृष्णमलाई टिकट दिएको छ । -onlinekhabar