भारतीय निर्वाचनः राहुल गान्धीसहित ६४७ उम्मेदवारको प्रतिष्ठा दाउमा

63

वैशाख २३, एजेन्सी। भारतमा लोकसभाको पाँचौ चरणको मतदान सुरु भएको छ । यस चरणको चुनावमा केही दिग्गज नेताको प्रतिष्ठा दाउमा छ । सोमबारको चुनावमा यूपीए अध्यक्ष सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, स्मृति इरानीसहित ६४७ नेताहरुको भाग्य फैसला हुनेछ । सोमबार ७ राज्यका करिब ८ करोड ७५ लाख मतदाताले ५१ सांसद चुन्नेछन् । ५१ सिटका लागि ६४७ जना उम्मेदवार चुनावमा उठेका छन् । कुल ५१ सिटमध्ये सन् २०१४ को चुनावमा भाजपाले ३९ सिट र कांग्रेसले २ सिट जितेका थिए । अन्य सिट विपक्षी दलहरुले जितेका थिए ।

सोमबार उत्तर प्रदेशको सबैभन्दा धेरै १४ सिट, राजस्थानका १२ सिट, पश्चिम बंगाल र मध्यप्रदेशका ७(७ सिटमा चुनाव भइरहेको छ । यसैगरी बिहारका ५ र झारखण्डका चार सिटमा पनि सोमबार नै मतदान भइरहेको छ । जम्मु(कश्मिरको लद्दाख सिट र अनन्तनाग सिटका लागि पुलवामा र शोपिया जिल्लामा पनि चुनाव भइरहेको छ । भारतको चुनाव आयोगले ९४ हजार मतदान केन्द्र बनाएको छ । मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पाँचौ चरणको मतदानसँगै ४२४ सिटमा चुनाव सम्पन्न हुनेछ । बाँकी ११८ सिटमा १२ मे र १९ मेमा चुनाव हुनेछ ।

सोनिया गान्धी आफ्नो परम्परागत रायबरेली क्षेत्रबाट चुनाव लडेकी छन् । यहाँबाट उनले तीन पटकसम्म चुनाव जितिसकेकी छन् । सोनिया गान्धी भन्दा पहिले दुई पटक पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र त्यसपछि फिरोज गान्धीले पनि रायबरेलीबाटै चुनाव जितेका थिए । यसपटक सोनियाविरुद्ध भाजपाका दिनेश प्रताप सिंह प्रतिस्पर्धामा छन् । सपा(बसपा गठबन्धनले सोनियालाई समर्थन गर्दै आफ्ना उम्मेदवार खडा गरेका छैनन् ।

राहुल गान्धी अमेठी र वायनाडबाट उम्मेदवार बनेका छन् । अमेठीबाट भाजपाले केन्द्रीय मन्त्री स्मृति इरानीलाई दोस्रोपटक टिकट दिएको छ । यहाँ पनि सपा(बसपा गठबन्धनले आफ्ना उम्मेदवार उठाएका छैनन् । केन्द्रीय गृहमन्त्री राजनाथ सिंह एक पटक फेरि भाजपाको गढ मानिने लखनउबाट चुनाव लडेका छन् । सन् २०१४ मा पनि उनले लखनउबाटै चुनाव जितेका थिए । लखनउबाट चुनाव जितेर पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयी पाँच पटक सांसद बनेका थिए । सपाले लखनउबाट शत्रुघ्न सिन्हाकी पत्नी पुनम सिन्हालाई र कांग्रेसले प्रमोद कृष्णमलाई टिकट दिएको छ । -onlinekhabar