आध्यात्मिकताको जगमा उभिएको नेपाल र विश्वशान्तिको दृष्टि

173

-डा.प्रदीप ढकाल
नेपाल, जहाँ सेता हिमालयका टाकुरा, पहाडका चुचुरा र तराईको समथर भूमि, साथमा घना जङ्गलदेखि उजाड डाँडाहरू एवम् छहरादेखि छङछङ गर्दै बग्ने नदीहरू एकै ठाउँमा समिश्रित छन् । यी सम्पदाहरूमा समृद्धता छ, अनन्त शक्ति छ । त्यही अनन्त शक्तिका हामी अधिकारी हौँ । विभिन्न जातजाति र समाजहरू मिलेर बनेको अनेकतामा एकता भएको हाम्रो सामाजिक र साँस्कृतिक परम्परामा हामी रमाएका छौँ । हाम्रो देश आपसी भाइचारा, मानवीयता, सामाजिक सद्भाव, मानवीय उच्च चेतनाको प्रवाह भएको भूमि हो ।

प्रकृतिको दिव्य बगैँचा

हिमालयको काखमा रहेको हाम्रो यो भूमि आध्यात्मिक मुटु हो । यहाँ हरेक तत्वमा ईश्वरीय बास छ भन्ने सोचाइले मानिसहरू हरेक तत्वलाई पुज्दछन् । ईश्वरीय अस्तित्वप्रति प्रवल आस्था रहेकोले यहाँका मानवमा आध्यात्मिक भावना प्रबल छ, जसले हरेक तत्वमा ईश्वर देख्दछन् र ईश्वरीय सम्भावनालाई खोज्दछन् । आमा, बाबा र अतिथि ईश्वरसमान हुन्छन् भन्ने नेपाली विश्वास सदियौँदेखि नै रहिरहेको छ । गाउँगाउँ र सहरका टोलटोलमा यो भावना रहेको छ । हाम्रो यो देश त्यही भूमि हो जहाँ बुद्धजस्ता ज्ञानीले जीवनको परिभाषा दिएर मानव जीवनका लागि सुख र शान्तिको मार्ग दिएर गएका छन् । अहिले पनि यहाँ कैयौँ ज्ञानी र सन्तमहात्माले यो भूमिमा आफ्नो आध्यात्मिक शक्तिको प्रवाह गरिरहेका छन् ।

यहाँका मठ–मन्दिर, चैत्य–गुम्बा आदिले यो देशलाई देवभूमि बनाएका छन् । यहाँका पहाड र हिमाल अनि नदी किनारामा गरिने तप, ध्यान, साधना आदिले यो देशलाई देवत्वमा पुग्ने तपोभूमिको रूपमा स्थापित गरेको छ । यहाँ अनेकौँ ऋषिमुनि, सन्तमहात्माहरू जीवनको पाठ पढाउँदै हिँड्छन् । त्यस्तै हिन्दु र बौद्ध सन्त र भिक्षुहरू शान्तिका मन्त्र गुन्जाउँदै हिँड्छन् । यही हो नेपाल, यही हो प्रकृतिको दिव्य भूमि नेपाल ।

नेपाली मूल्य र मान्यता

हाम्रा कतिपय परम्पराहरू जीवित रूपमा रहिरहेका छन् । चाडपर्व, अ‍ैँचोपैँचो, मेलापात, अर्मपर्म, सरसापट, मर्दाको मलामी ज्युँदाको जन्तीजस्ता भावनाहरू यहाँ जीवित छन् । लोकपरम्परामा जीवितै रहेर सदियौँदेखिका धर्म, संस्कृतिका अविच्छिन्न परम्पराहरू देशमा विद्यमान छन् । तिनले देशका सामाजिक, साँस्कृतिक, आर्थिकलगायतका अवयवलाई जोडिरहेका छन् ।

हाम्रो दर्शनमा एक व्यक्तिले स्वयमलाई सोध्दछ — म किन यो धर्तीमा छु रु मैले गर्नुपर्ने कर्तव्य के हो रु मेरो जीवनको लक्ष्य के हो रु मेरो मानव हुनुको दायित्व के हो रु यिनै प्रश्नको उत्तर खोजेर जीवन जिउने पद्धति सिकाउँछ हाम्रो दर्शनले । यिनै प्रश्नको उत्तरका साथ एक व्यक्तिले समाजमा अन्तरक्रिया गरिरहन्छ । यसरी एउटा सभ्य र समुन्नत समाजको निर्माण हुन्छ । मानव जीवन अर्थपूर्ण बन्दछ ।

सानाले ठूलालाई आदर गर्ने, शिष्यले गुरुलाई ढोग्ने, ठूलाले सानालाई मार्ग निर्देश गर्ने, आमा, बाबा र गुरु ईश्वरसमान हुन्छन् भन्दै उनीहरूलाई पुज्ने, लोकको हितको प्रार्थना गर्ने साधुसन्त र भिक्षुहरूलाई श्रद्धा गर्ने हाम्रो संस्कार हो । कोही लड्यो भने उठाउने, कोही घाइते छ भने उपचार गर्ने, कोही अभावमा छ भने उसलाई मद्दत गर्ने हाम्रो संस्कार हो । घाँसीले घाँस काटेर धन जम्मा गरी सबैका लागि पानी पिउने कुवा बनाउने थलो हो हाम्रो यो भूमि ।

हामी हजारौँ साधु र भिक्षुलाई स्वागत गरी भोजन गराउन रुचाउने संस्कारका सन्तति हौँ । हामी अतिथिलाई देव मान्ने, आवश्यकता परेकालाई निस्वार्थ सेवा गर्ने संस्कृतिका अनुयायी हौँ । दान हाम्रो प्रकृति हो । ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएकै बेस आनन्दी मनले’ भन्ने संस्कार छ हामीमा ।

जसरी प्रकृतिमा ढुङ्गा, पानी, माटो, हावा, घामबाट सृष्टि चल्दछ त्यसैगरी विभिन्न मानव समूह, संस्कृति, भाषा र परम्पराहरूबाट हाम्रो राष्ट्रको जीवन चलिरहेको छ । उपनिषद्, गीता अनि धम्मपद र बुद्धको जीवनचरित्रलाई आधार मानेर चलिरहेको समाज हो – नेपाली समाज । ‘अहिंसा परमो धर्म’ अर्थात््अहिंसा नै धर्म हो भन्दै रुखो बोलीले कसैलाई चित्त दुखाउनु पनि हिंसा मान्ने संस्कार हो नेपाली संस्कार ।

जीवन दर्शन

नेपाली जीवन दृष्टिकोणअनुसार व्यक्तिको जीवन पदार्थबाट सुरु हुन्छ । एक भौतिक मानव मानवीय प्रज्ञामा पुग्दछ र त्यहाँबाट आध्यात्मिक चेतनाको स्तरमा पुग्दछ । आध्यात्मिक चेतनाको स्तरबाट समेत अगाडि बढेर ईश्वरीय शक्तिमा समेत रूपान्तरित हुन सक्दछ । नेपाली दृष्टिले एक व्यक्ति हरेक तत्वमा ईश्वर देख्ने गरी भौतिकतालाई नाघेर आध्यात्मिकताको माथिल्लो बिन्दुमा पुग्दछ ।

हामी रुखबिरुवा, प्राकृतिक सम्पदा र प्रकृतिका अन्य जीवको विनास गर्नुलाई प्रकृतिमाथिको विजय मान्दैनौँ । हामी आफू स्वयममा रहेको अज्ञानता र अहङ्कारमाथि विजय पाउनुलाई साँचो विजय ठान्दछौँ । यही नै नेपाली धर्मको आधारशिला हो ।

यहाँ प्रचलित हिन्दु धर्म कुनै व्यक्ति विशेषद्वारा प्रतिपादित धर्म होइन । यो त हजारौँ बर्षदेखि चलि आएको मानवीय परम्परा हो । समय सँगसँगै नराम्रा परम्परालाई छाडेर राम्रा परम्परालाई कायम राख्दै बदलिँदो विश्वसँग सामञ्जस्य राख्दै मानवहरूलाई सत्मार्गमा डोर्याउने र मानव जीवनलाई अर्थपूर्ण र मूल्यवान बनाउँदै अघि बढ्ने परम्परा नै हिन्दु धर्म हो । यसै कारणले गर्दा नै यो धर्म फरक र विशिष्ट छ । अर्को अर्थमा भन्नुपर्दा, यो मानवको जीवनपद्धति हो । बृहदारण्यक उपनिषदमा भनिएको छ — असत्यबाट सत्यतर्फ लैजाउ, अन्धकारबाट प्रकाशतर्फ लैजाउ र मृत्युबाट अमरतातर्फ लैजाउ ।

हाम्रो दर्शनले भन्दछ — तिमी पनि क्षणिक छौ । यो पृथ्वी पनि क्षणिक हो । सृष्टि पनि क्षणिक हो । आफ्नो कर्मलाई परिष्कृत गर्दै गयौ भने अन्ततः तिमी सम्बोधिको अवस्थामा पुग्दछौ । त्यसैले तिम्रो कर्म अहिले नै सुधार गर । जसरी तिमी छौ त्यस्तैगरी यो पृथ्वीमा रहेका अन्य अवयवहरूको पनि अस्तित्व स्वीकार गर । अरुलाई पनि बाँच्न देउ । पहिला आफूलाई चिन । तिमी को हौ त्यो बुझ ।

हाम्रो दर्शनले भन्दछ — बरु प्राणै त्यागिदेउ – प्राण पनि केही होइन – तर समाजको हित सबैभन्दा ठूलो हो । अरुको हित, अरुको कल्याण गर भन्ने हाम्रो सन्देश हो । व्यक्तिले केवल खानका लागि मात्र काम गर्छ भन्ने सिद्धान्त यो दर्शनको छेउसम्म पनि आउन सक्दैन । शरीर भनेको आत्माको स्थल हो यसलाई स्वस्थ राख्नुपर्छ । कोही पनि मानिसहरू भोकै नमरुन्, कोही पनि मानिसहरू विना उपचार नमरुन्, कोही पनि मानिस आत्मसम्मानका साथ जिउन् र समग्रमा, एक मानव हुनुको बोध गरेर जिउन् । यही भावना अन्तरनिहीत छ यसमा । यो हाम्रो दर्शन हो ।

हामी नेपालीहरू हरेक तत्वमा जीवन छ भन्ने मतका अनुयायी हौँ । हामीहरू मानवमात्र होइन सृष्टिका हरेक प्राणी र वस्तुमा जीवन छ भन्ने बोध भएका मानिस हौँ । त्यसैले हामी नेपालीका लागि कोही पनि पराई छैनन् । सबै मानवहरू विश्वदेशका नागरिक हुन् । सबै प्राणीहरू पृथ्वीका बासिन्दा हुन् । नेपाली आत्मामा रहेको यही भावना नै नेपाली भावना हो ।

हरेक व्यक्तिव्यक्तिमा जागरण आइसकेपछि विश्वभर सामाजिक सौहार्दता र सहिष्णुताका आधारमा व्यवहार हुनेछ । न त कुनै शासकको जरुरत पर्दछ न त शासितको । सबै मानिसहरू स्वयम सञ्चालित हुन्छन् । हाम्रा प्राचीन मूल्य र मान्यताको सोच यही धारमा रहेको थियो । हाम्रा ऋषिमहर्षिहरूले त सारा मानव एक हुन भन्दै विश्वदेशको उद्घोष गरिसकेका थिए ।

देशको रूपमा नेपालको उद्देश्य र लक्ष्य

मानव जीवनको उद्देश्य हुनुपर्दछ । अनि राष्ट्रको पनि उद्देश्य हुनुपर्दछ । मानव सिर्जित संघसंस्था र सङ्गठनहरू कुनै उद्देश्य प्राप्तिका लागि निर्माण गरिएका हुन्छन् । राष्ट्रको उद्देश्य हो – हरेक मानवलाई सुरक्षा प्रदान गर्नु, शिक्षा दिनु र अन्ततः उसलाई बोध गराउनु कि ऊ अब पूर्ण रूपमा स्वतन्त्र छ । हरेक व्यक्तिलाई यो बोध गराउनु कि ऊ के हो रु उसको जीवन के हो रु तत्पश्चात व्यक्ति–व्यक्तिहरू सह–अस्तित्वका आधारमा व्यवहार गर्न सक्दछन् । अनि सारा विश्वका मानवहरू सौहार्द रूपमा जीवन जिउन सक्दछन् । अनि पूरा हुन्छ राष्ट्रको उद्देश्य अनि स्वतः निर्माण हुनेछ – विश्वसमाज । राष्ट्रको रूपमा हाम्रो देश नेपालको उद्देश्य हो – “मानव–मानवबीच कोरिएका विग्रहका रेखाहरू मेटाइदिनु ।” मानव र प्रकृतिबीच सामञ्जस्यता कायम गर्नु । राज्यको दायित्व हो – सबै नागरिकको संरक्षण गर्नु, न्यायपूर्ण सामाजिक व्यवस्था कायम गर्नु, देशको सर्वाङ्गीण हितका लागि कार्य गर्नु, राष्ट्रियताको संवद्र्धन गर्नु र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिष्ठालाई अभिबृद्धि गर्नु ।

हामी नेपालीको लक्ष्य हो – समृद्ध र शान्तिपूर्ण नेपालको स्थापना । लोकतान्त्रिक पद्धतिद्वारा सञ्चालित आत्मनिर्भर, स्वावलम्बी र न्यायपूर्ण समाजको सिर्जना । स्वतन्त्र र सार्वभौम राष्ट्रको भावनालाई कायम राख्दै मुलुकका प्राकृतिक श्रोतको उचित र न्यायिक प्रयोग गर्दै यहाँका नागरिकको जीवनलाई उन्नत बनाई विश्वमा नै एक मानवीय भावनाको प्रवाह भएको मुलुकको रूपमा स्थापित गर्ने । सामाजिक रूपमा भातृत्व र सहअस्तित्वपूर्ण, आर्थिक रूपमा आत्मनिर्भर, नैतिक र मानवीय मूल्यमा आधारित र राजनैतिक रूपमा पूर्ण लोकतान्त्रिक मान्यतामा आधारित न्यायपूर्ण र समृद्ध समाजको सिर्जना गर्नु नेपालको लक्ष्य हो ।

हाम्रो देशमा सिर्जना हुने मानवीय र आध्यात्मिक शक्तिले विश्वलाई नै मार्ग देखाउनु नेपालको लक्ष्य हो । विश्वले हामीबाट आशा गर्ने पक्ष हुन् – शान्ति, मानवता, सहिष्णुता, सात्विक विचार र सत्य । हामीले विश्वलाई दिने कुरा यिनै हुन् जुन अनुपम छन् र जसले सम्पूर्ण मानवका हृदयमा शान्ति छर्न सक्दछन् ।

 

विश्व दृष्टि र मार्ग

अहिले विश्वको एक कुनाको मानव र अर्को कुनाको मानवबीच परिचय भइसकेको छ । मानवसंसारमा मानवको एउटै मात्र जाति छ भन्ने ज्ञात भइसकेको छ । त्यसैले सारा विश्व एक अङ्ग हो र राष्ट्रहरू स–साना इकाई । विश्वका सारा मानवहरू एक हुन् । पृथ्वी सबैको साझा घर हो । त्यसैले राष्ट्रियताको भावना पनि सामाजिक सहअस्तित्व र मानवताप्रति उत्तरदायी हुनैपर्छ ।

हामीले आफूसँग जे छ त्यही नै दिने हो । अरुसँग सापटी लिएको चीज जति धेरै दिएपनि त्यो आफ्नो हुँदैन, त्यसमा अपनत्व र स्वामित्व हुँदैन । हामीसँग आध्यात्मिक सम्पत्ति छ – त्यही हो दिने । संसारका सबै मानव खुसी रहून भन्ने हाम्रो ध्येय हो । अहिले हाम्रो देशमात्र सुखी रहनका लागि पनि विश्वका तमाम देशहरू सुखी रहनुपर्दछ । त्यसैले पहिले यहाँको भूमि जाग्नेछ ताकि यसले वाँकी सारा विश्वलाई जगाओस् । हो, हामीसँग अध्यात्मको यो अथाह सम्पत्ति छ । यही सम्पत्तिको प्रयोग गर्नु छ – मानवतालाई ज्युँदो राख्नका लागि । युगको यो प्रवाहमा हाम्रो कर्तव्य यही नै हो । कमसेकम एउटा देशले आफूमा अन्तरनिहित शक्तिको प्रयोग गरी मानवता र शान्तिको मार्गमा उदाहरण बन्न सक्यो भने विश्वका हरेक देशहरुले त्यस उदाहरणलाई पछ्याउनेछन र विश्व शान्तिको ढोका खुल्नेछ भन्ने मेरो आशा हो । र यो आशा सम्भव सत्य पनि हो ।

-पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले एशिया प्रशान्त शान्ति अनुसन्धान संस्थाको इन्डोनेसियाको जाकार्तामा भएको अन्तराष्ट्रिय सम्मेलनमा गरेको सम्बोधन ।

डा.प्रदीप ढकालको फेसबुकबाट