Tuesday, September 29, 2026
Home समाचार भक्तपुरका मानन्धर समुदायलक्ष्यित क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुरका मानन्धर समुदायलक्ष्यित क्षमता अभिवृद्धि तालिम सम्पन्न

198

वैशाख २०,
भक्तपुर। भक्तपुर जिल्ला मानन्धर युवा संघले १३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । नेतृत्व विकासदेखि बोल्ने शैली र औपचारिक कार्यक्रमलाई सिलसिला मिलाएर सन्चालन गर्ने क्षमताको विकास गर्न तालिम आयोजना गरिएको हो ।
मध्यपुर थिमिस्थित नवरत्न स्कूलको हलमा आयोजित कार्यक्रममा गृहिणी, बालबालिकादेखि चिकित्सक, राजनीतिज्ञ, इन्जिनियरिङका विद्यार्थी, घरेलु तथा साना उद्योग सन्चालन गर्ने उद्योगी व्यवसायीहरुको सहभागिता थियो । प्रत्येक दिन दुई घण्टाको दरले सन्चालित तालिमलाई एक समारोहकाबीच समापन गरिएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्हुछेरत्न मानन्धरले तालिमले जिल्लाका फरक ठाउँमा बसोबास गर्दै आएका मानन्धर समुदायको शैक्षिक, आर्थिक, सांस्कृतिक तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिमा टेवा पुग्ने दाबी गरे । ‘हामीले शुरुमा समुदायको क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौं । त्यसपश्चात् संस्थागत प्रोत्साहन दिएर फरक पेशा व्यवसायमा लागेका मानन्धरहरुको जीवनस्तर सुधार गर्नेछौं ।’ अध्यक्ष मानन्धरले जनाए ।

त्यस्तै, कार्यक्रममा नेपाल मानवअधिकार संगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धरले प्रस्तुती शैलीको आवश्यकता विषयमा विचार राखे । जिल्लाका रैथाने मानन्धर समुदायको फरक पेशा व्यवसायमा संलग्नता रहेको जनाउँदै तालिमबाट सिकेका ज्ञानलाई आ–आफ्नो क्षेत्रमा सदुपयोग गर्न उहाँले आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागबाट अवकास प्राप्त व्यक्तित्व रत्न साय्मिले समुदायका सम्पूर्णलाई सुचना प्रविधिमैत्री हुन आव्हान गरे । ‘म साहित्य क्षेत्रमा झुकाव राख्ने व्यक्ति भएर पनि सुरक्षा निकायमा लामो अवधि सेवा गरेँ । अवकास पछि साप्ताहिक पत्रिका सन्चालन गरिरहेको छु ।’ साय्मिले जनाए । सुचना प्रविधिको क्षमता विकासलाई प्राथमिकता दिँदै मानन्धर संघसँगको हातेमालो हुनुपर्नेमा जोड दिए ।

आठ वर्षदेखि ६३ वर्ष समुहका प्रशिक्षार्थीले सहभागिता जनाएको तालिम कार्यक्रमलाई संचारकर्मी केके मानन्धरले सैद्धान्तिक, प्रयोगात्मक तथा अन्तक्र्रियात्मक रुपमा सहजीकरण गरेका हुन् । त्यस्तै, ईमेज एफ। एम ९७।९ मेगाहर्जका कार्यक्रम प्रस्तोता तथा संगीतकार सुरजवीर बज्राचार्यले पनि एकदिनको लागि प्रशिक्षण दिए ।

२०७५ साल जेठ १८ गते स्थापना भएको भक्तपुर जिल्ला मानन्धर युवा संघले यसअघि भक्तपुरको साःकोलन टोलमा १० दिने उद्घोषण तालिम सम्पन्न गरिसकेको छ । त्यस्तै, दधिकोटको पकांडोल तथा भक्तपुरको टेखाचोमा पनि तालिम आयोजना हुँदैछ । संघले माध्यमिक विद्यालयस्तरीय एसईई दिएका भाइबहिनीहरुलाई आगामी शैक्षिक गन्तव्यको लागि सहि मार्गनिर्देशन दिने कार्यक्रम पनि गरेको छ ।

राजेश तथा सुचित्रा मानन्धर लगायतले संयोजन गरेको क्षमता अभिवृद्धि कार्यक्रममा तीन दर्जन प्रशिक्षार्थीहरुको सहभागिता थियो । प्रत्येक बेलुकी ७ देखि ९ बजे सम्म सन्चालित तालिममा सम्पूर्ण प्रशिक्षार्थीले उत्साहजनक सहभागिता जनाए ।