Saturday, October 3, 2026
Home समाचार ‘संसारका मजदुर एक हौं’ भनेर नारा लगाउनेहरु नै सडकको दुई किनारामा

‘संसारका मजदुर एक हौं’ भनेर नारा लगाउनेहरु नै सडकको दुई किनारामा

68

वैशाख १८,
काठमाडौं । आज मे दिवस । ‘संसारका मजदुरहरु एक हौं’ भन्ने नाराका साथ आज विश्वभर मजदुर दिवस मनाइँदैछ । तर, काठमाडौंमा चाहिँ ‘संसारका मजदुर एक हौं’ भनेर नारा लगाउनेहरु नै सडकको दुई किनारामा बाँडिए । तस्वीरमा प्रष्टसँग देख्न सकिन्छ, सडकको दायाँतिर कांग्रेसका मजदुरहरुको जुलुस छ भने वायाँ किनारामा सत्तारुढ नेकपा समर्थक मजदुरहरुको बेग्लै जुलुस निस्किएको छ । संसारका मजदुर एक हौं भन्ने त कुरा न हो, विभिन्न पार्टीका भातृ संगठनका रुपमा रहेका नेपाली मजदुरहरुले आज मे १ का दिनमा पनि एकैठाउँ उभिएर आफ्नो वर्गको आवाज बुलन्द गर्न सकेनन् । र, अन्तरराष्ट्रिय श्रमिक दिवसका दिनमा समेत प्रमुख राजनीतिक दलसम्वद्ध मजदूर संगठनले छुट्टाछुट्टै जुलुस निकालेर एकताविरोधी सन्देश दिए ।

सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले सुन्धाराबाट प्रभातफेरि सुरु गरी भृकुटीमण्डपसम्म पुगेको थियो । त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्‍याली सुरु गरी प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा पुगेर सभा गरेको थियो । दुई पार्टी निकट मजदुर संगठनको र्‍याली सडकको छुट्टाछुट्टै भागबाट अघि बढेको थियो । सुन्धारामा नेकपा निकट मजदुर संगठनको र्‍याली सडकको बायाँ भागतर्फबाट अघि बढेको थियो भने कांग्रेस निकट मजदुर संगठनको र्‍याली सडकको दाया भागबाट अघि बढेको थियो ।

त्यसैगरी स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बिहान बबरमहलदेखि नयाँ बानेश्वरसम्म जुलुस र कोणसभा गरेको थियो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरबा मजदुरहरुले गरेको संघर्षको सम्झनामा अरेक वर्ष मे १ का दिन मजदुर दिवस मनाउने गरिन्छ । हुन त मजदुर संगठनहरुले बेग्लाबेग्लै जुलुस निकाले पनि पत्रकारहरुका संस्थाले भने बुधबार बिहान पत्रकार महासंघको ब्यानरमा बबरमहलदेखि नयाँ बानेश्वरसम्म संयुक्त जुलुस निकालेका थिए । पत्रकारको कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षका पत्रकारहरु एकै ठाउँमा उभिएका थिए । Source : Onlinekhabar