Saturday, October 24, 2026
Home राजनीति देश समृद्ध बनाउँ भन्दा छाती किन पोलेको : प्रधानमन्त्री

देश समृद्ध बनाउँ भन्दा छाती किन पोलेको : प्रधानमन्त्री

57

वैशाख १८,
काठमाडौै । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्ध बनाउनुपर्ने आफ्ना धारणाले केहीको छाती पोल्ने गरेको बताएका छन्। राजधानीको भृकुटीमण्डपमा पार्टीनिकट मजदुर संगठनको सभालाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुखी नेपाली बनाउने आफ्नो धारणाले केहीको मन पाकेको बताएका हुन्।
‘देश समृद्ध बनाउँ भन्दा छाती किन पोलेको होला? नेपाली सुखी बनाउँ भन्दा मन किन भतभत हुने,’ उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली हामी सबैको राष्ट्रिय आकांक्षा हो। नेपाली जनता सुखी हुनै पर्छ। दुखको दिन अन्त्य गरिन्छ।’

उनले सरकारले हाँसिल गरेको आर्थिक वृद्धिदर राम्रो भएको जिकिर गरे। ‘आर्थिक वृद्धिदरको आँकडा अन्तराष्ट्रिय हो। अहिलेको नेपाल हेरेर विश्व बैंकले ‘राइजिङ स्टार’ भनेको छ। यो विश्वास आँकडाका आधारमा जगाइएको हो,’ प्रधानमन्त्री ओलीले भने। नेपालमा जस्तो मजदुर, रोजगारदाता र सरकारबीच मेलमिलाप अन्यन्त्र नपाइने उनको दाबी छ। ‘सरकार, रोजगारदाता र श्रमीकबीच यस्तो सुमुधर सम्बन्ध दुनिँयामा कमै ठाउँमा पाइन्छ,’ ओलीले भने,’जो नेपालमा छ।’

प्रधानमन्त्री ओलीले मुलुकले सुशासन र विकास खोजेको बताए। ‘देशमा पृथकतावाद टुङ्गिएको छ,’ ओलीले भने, ‘हिंसाको स्थिति टुङ्गयाउने सिलसिलामा छ। हिंसा अब देशमा स्वीकार्य हुदैँन।’ओलीले नेपालमा लगानीको अनुकुल वातावरण बनेको पनि दाबी गरे। साथै मजुदर र लगानीकर्ताबीचमा रहेर सरकारले भूमिका खेल्ने प्रतिबद्धता जनाए।

‘सहमति भएका केही माग पुरा हुन बाँकी होलान्। केही पुरा भएका व्यवहारमा कार्यान्वयन हुन बाँकी होला। उद्यमी र मजुदरबीचको सहमति कार्यान्वयन गर्न सरकारले लगाउँछ’, ओलीले भने, ‘सरकारले पनि केही काम पुरा गर्नुपर्ने होला। त्यो पुरा गर्नुपर्छ। उद्यमीले पनि माग पूरा गर्नुपर्छ।’उनले उद्योगीहरुलाई मजुदरमाथि अन्याय गरेर समस्या समाधान नखोज्न समेत सुझाए।