संसदको बजेट अधिवेशन: पहिलो दिनमै आरोप–प्रत्यारोप

355

गंगा बराल (नेपाल समाचारपत्र)
बैशाख १७, काठमाडौं । संघीय संसदको वजेट अधिवेशन सोमबारदेखि आरोप–प्रत्यारोपबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको बैठक आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आव्हानसम्बन्धीको पत्र पढेर सुनाइएको थियो । त्यसपछि दुवै सदनमा दलका नेताहरुले शुभकामना मन्तव्य दिएका थिए । मन्तव्यका क्रममा सत्ता पक्षका सांसदले सरकारले राम्रो काम गरेकाले विपक्षी दलले पनि सहयोग गरेर जानुपर्ने धारणा राखेका थिए ।

विपक्षी पार्टीका सांसदले सरकार असफल भएको र जनताको चाहनाविपरीत गएको आरोप लगाए । सरकारमा सहभागी भएको संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले २ बूँदे सहमति गरेर सरकारमा गएको बताउँदै त्यसलाई वेवास्ता गरेको भन्दै आरोप लगाउनुभयो । श्रेष्ठले संविधान संशोधनको मागप्रति सरकारले ध्यान नदिए सरकारसँगको सम्बन्ध टुट्ने पनि चेतावनी दिनुभयो ।