जसोतसो सकियो आठौं राष्ट्रिय खेलकूद

104

कविरस शर्मा ( नेपाल समाचारपत्र)
बैशाख १३, बाँके । गण्डक प्रदेशमा २०७७ को फागुनमा भेट्ने बाचासहित आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापन बुधबार भएको छ । बाँकेको नेपालगञ्ज रंगशालामा एक समारोहकाबीच कार्यबाहक राष्ट्रपति नन्दबहादुर पुनले आठौं राष्ट्रिय खेलकुदको समापन गरेका थिए । समापन समारोहमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले गण्डकी प्रदेशका खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ साल फागुन २० देखि २७ सम्म सञ्चालन गर्ने राखेपको निर्णय छ ।

२०७३ सालमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान आठौंको झण्डा मध्यपश्चिमलाई हस्तान्तरण गरिएको थियो । सोही समय नवौं राष्ट्रिय खेलकुद तत्कालिन पश्चिमाञ्चललाई दिने सहमती गरिएको थियो । सोही सहमतीमा टेकेर राखेपको बोर्ड बैठकले नवौं संस्करण गण्डक प्रदेशमा गर्ने निर्णय गरेको हो । राखेप सदस्य सचिव विष्टले नवौं संस्करण आयोजनाका लागि गन्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ र राष्ट्रिय खेलकूद परिषदका केन्द्रिय सदस्य राजेश गुरुङ्गलाई झन्डा हस्तान्तरण गरिएको थियो । यता आयोजनाको जिम्मा पाएको गन्डकी प्रदेशका पदाधिकारीले आठौमा भएका कमीकमजोरीलाई मनन गरी नवौं त्यस्ता त्रुटि नदोहोरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । वास्तवमा आठौंमा जे जति त्रुटि भएता पनि सरोकारवाला निकायले प्रतियोगितालाई झाराटराई तरिकाले सम्पन्न गर्नुलाई नै पहिलो प्राथमिकतामा राखेको भन्दा फरक नपर्ला ।