चन्द समूहको निगरानी बढाउन सेनामा निर्देशन

235

कान्तिपुर दैनिकमा प्रकाशित समाचार
मंसिर ३०, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरूलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना, वाहिनी र गणर गुल्मपतिहरूलाई भनेका छन् ।

पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको चन्द समूहले अपहरणपछि घाँटी रेटेर हत्या गरेको थियो । त्यसको भोलिपल्ट २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए । त्यसअघि मंसिर १६ देखि १८ सम्म थापाले उत्तर–पश्चिम र सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतका जिल्लाका ब्यारेकको निरीक्षण गरेका थिए ।

सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रधानसेनापतिको विभिन्न जिल्लाको भ्रमण क्रममा चन्द समूहका हिंसात्मक र संविधान, ऐन–नियमविरुद्धका गतिविधि नियन्त्रणमा सूक्ष्म निगरानी राख्न मातहत युनिटहरूलाई निर्देशन दिइएको बताए । मंसिर २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर र अन्तर्गत युनिटहरूको निरीक्षण गरेका थिए । बुधबार पाँचथरको भैरवी दल गण, ताप्लेजुङको भीमकाली गुल्म, संखुवासभाको रणभीम गुल्म र इटहरीस्थित पृतना हेडक्वार्टरको निरीक्षण गरेका थिए ।

२५ गते ओखलढुंगा र भोजपुरस्थित सैनिक ब्यारेकको भ्रमण गरेका प्रधानसेनापति थापाले त्यसअघि मंसिर १६ गते उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसहित हुम्ला, कालीकोटलगायत जिल्लास्थित सैनिक ब्यारेकको निरीक्षण गरेका थिए । मंसिर १७ र १८ गते सुदूरपश्चिम पृतना हेडक्वार्टर र मातहत जिल्लाका ब्यारेक पुगेका थिए । थापाले पछिल्लोपटक निरीक्षण गरेका जिल्लाका विकट भू–भागमा चन्द समूहका गतिविधि बढेका छन् । त्यसैलाई मध्यनजर गर्दै थापाले यी जिल्लाका ब्यारेक पुगेर चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन भनेका हुन् ।