नेपाल र यूएईबीच नयाँ श्रम समझदारी गर्ने सहमति

82

वैशाख १२,
काठमाडौँ । नेपाली कामदारको तेस्रो गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)सँग यसअघि भएको श्रम समझदारीलाई प्रतिस्थापन गरी नयाँ श्रम सम्झौता गर्ने सहमति बिहिबार भएको छ । नेपाल र युएईबीच काठमाडौंमा सम्पन्न श्रम अधिकारीहरु संलग्न प्रविधिक टोलीको बैठकमा यस्तो सहमति भएको हो ।

‘नयाँ श्रम समझदारी गर्न दुवै देश सहमति भए । यसअघिको समझदारीमा परिमार्जन पनि होइन । अब पुरै नयाँ हुनेछ,’ बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरलाई भने, ‘समझदारीको लागि मस्यौदाले अन्तिम रुप पाएको छ । अब आधिकारिक अधिकारीहरुले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।’प्राविधिक टोलीले टुंगाएको श्रम समझदारीको मस्यौदालाई दुवै देशको मन्त्रिपरिषदको बैठकले निर्णय गर्नसाथ हस्ताक्षर हुने भएको छ । ती अधिकारीका अनुसार यथासक्य छिटो हस्ताक्षर हुनेछ ।

नेपाली श्रमिकको श्रमिक आपूर्ति प्रक्रिया अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को सिद्धान्त अनुसार श्रमिकको सम्पूर्ण लागत शुल्क रोजगारदाताले व्यहोर्ने, म्यानपावरलाई रोजगारदाताले नै सेवा शुल्क उपलब्ध गराउने, श्रमिकको २४ घण्टा नै बीमा हुने, श्रमिकलाई स्वस्थकर वासस्थान उपलब्ध गराउने विषयमा सहमति जुटेको हो ।

यसअघि २००७ मा भएको श्रम समझदारीमा कामदारको भर्ना प्रक्रियामा लाग्ने सेवा शुल्कबारे उल्लेख गरेको छैन । करारपत्र नेपालीमा रहनेबारे केही बताइएको छैन । श्रमिकले पाउने सामाजिक सुरक्षा र कानुनी उपचारवारे उल्लेख छैन । श्रम समझदारी भएको १२ वर्षपछि नेपालले नयाँ ढंगले समझदारी गर्ने प्रक्रिया अगाडि बढाएको हो । युएईमा झन्डै २ लाख नेपाली कार्यरत छन् । पछिल्लो समयमा सेवा क्षेत्रमा काम गर्ने नेपालीको लागि युएई आकर्षणको केन्द्र मानिएको छ ।Kantipur