Wednesday, September 23, 2026
Home खेलकुद नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

87

बैशाख १२,
काठमाडौँ ।एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो । नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले रद्द भएको हो ।

खेल वर्षाले रोकिनुअघि थाइल्याण्डले एक ओभर ५ बलमा एक विकेट गुमाएर कुनै रन जोड्न सकेको थिएन् । नेपालका प्रशान्त महतले थाइल्याण्डले चावात्रीचाइलाई शून्य रनमा आउट गरेका थिए । खेल नतिजाविहीन बनेसँगै नेपाल र थाइल्याण्डले एकरएक अङ्क बाडेका छन् । नेपालले यसअघिका दुई खेल जितेको थियो । थाइल्याण्डसँग अङ्क बाडेसँगै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले तीन खेलमा पाँच अङ्क जोड्यो । मलेसिया चार अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

थाइल्याण्ड र म्यानमार भने समूह चरणबाट बाहिरिएका छन् । थाइल्याण्डले तीन अङ्क जोड्दा म्यानमारले अङ्क जोड्न सकेको थिएन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ३५ ओभर खेल्दै सात विकेट गुमाएर २३४ रन बनाएको थियो । नेपालको उच्च योगफलमा आशिष भट्टराईले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै विशालविक्रम केसीले ३८ रन र दीपक बोहराले ३५, विशालकुमार पटेलले २८ र निखिलकुमार सिंहले २२ रन बनाएका थिए । साविकको विजेतासमेत रहेको नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । अघिल्लो संकरणमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।-रासस