हाइटेन्सनमुनि अवैध घर

116

समाचारपत्र दैनिक, पुस १०
काठमाडौं । विद्युत् प्राधिकरणको १ सय ३२ केभी प्रसारण लाइनमुनि अनाधिकृतरूपमा बनाइएका घर–टहराले जोखिम बढाएको छ। प्रसारण लाइन निर्माण गर्ने क्रममा प्राधिकरणले टावर निर्माणस्थल र जग्गाको मुअब्जा उपलब्ध गराए पनि अवैधरूपमा घर–टहरा निर्माण भएका हुन्। भू–माफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गासमेत किनबेच हुँदै उक्त जग्गामा घरसमेत निर्माण भएको छ। उच्च जोखिम मानिने प्रसारण लाइनमुनि एकदेखि पाँच तलासम्मको पक्की घर निर्माण भएको छ। प्रशारण लाइनमुनि अनाधिकृतरूपमा घर निर्माण हुन थालेपछि स्थानीय सरकारले पनि चासो देखाएको छ। विशेष गरी द्वन्द्वको समयमा राजनीतिक दलहरूको सेटिङमा अवैध घर तथा टहरा निर्माण भएपछि अहिले सरकारलाई नै टाउको दुखाइको विषय बनेको छ। हाइटेन्सन लाइनमुनिका जग्गाको लगत कट्टा नगरी भू–माफिया र मालपोतका कर्मचारीको मिलेमतोमा जग्गा किनबेच गर्ने क्रम बढाइएको माकलबारीका स्थानीयको आरोप छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ अन्तर्गत पर्ने केन्द्रीय प्रशारण लाइनमुनि मापदण्डविपरीत धमाधम घर निर्माण भइरहेका छन्। प्रशारण लाइन विस्तार गर्ने क्रममा सम्बन्धित जग्गाधनीले नेपाल विद्युत् प्राधिकरणबाट मुअब्जा लिएर पनि धमाधम घर बनाइरहेका हुन्। कागेश्वरी मनहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले नगरपालिकाभित्र पक्की र छाप्रा गरेर २३ वटा घर प्रसारण लाइनमुनि निर्माण गरेको तथ्याङ्क रहेको बताउनुभयो।