Thursday, September 24, 2026
Home अर्थ एडीबीको प्रक्षेपण अनुसार २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहने

एडीबीको प्रक्षेपण अनुसार २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहने

87

चैत २०
काठमाडौँ -एसियाली विकास बैंक (एडीबी)ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहने उसको विश्लेषण छ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.२ र २०७६/७७ मा ६.३ प्रतिशतले वृद्धि हुने एडिबीको पछिल्लो प्रतिवेदन म्याक्रोइकोनोमिक अपडेटले देखाएको छ ।
नेपालका लागि एडीबीका आवासीय निर्देशक मुख्तोर खामुद्खानोभले भने, ‘सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख छ, जसलाई भूकम्प पछिको तीव्र पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पुर्‍याएको छ ।’

वित्तीय संघीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसके, वित्तीय अनुशासन पालना नभएमा भने यसमा असर पर्ने एडीबीको विश्लेषण छ । ‘यी चुनौतीहरुलाई सम्बोधन गर्नसके नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना छ’ एडीबीका आवासीय निर्देशक मुख्तोरले भने ।

कृषि क्षेत्रको वृद्धि ४.५ प्रतिशत पुग्न सक्ने उनको अनुमान छ । जुन गत आर्थिक वर्षमा २.८ प्रतिशत थियो । यो आँकलन मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्नेमा आधारित छ ।

सुदृढ विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान छ । थोक तथा खुद्राव्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सलगायतकासेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्ने सम्भावना रहेको एडीबीको म्याक्रोइकोनोमिक अपडेटमा उल्लेख छ ।

भारतमा मुद्रास्फीति केही उच्च रहने, पेट्रोलियम पदार्थको मूल्य स्थिर रहने र नयाँ संघीय संरचनाअन्तर्गत सरकारी खर्च उच्च रहने भएकाले मुुद«ास्फीति भने ४.२ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा पुग्ने अनुमान छ ।

उच्च आयात र कर प्रणालीमा सुधारका आधारमा प्रारम्भिक रूपमा राजस्व सङ्कलन बढेको छ । पहिलो ६ महिनामा बजेट बचतमा छ । पुँजीगतखर्च बढेपनि यसको कार्यान्वयन भने २२.५ प्रतिशतमात्र छ । यसले फेरि पनि आयोजनाहरुको गुणस्तरमा नजर अन्दाज हुने र आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च गर्ने प्रवृत्ति हावी हुनेछ’ प्रतिवेदनमा भनिएको छ ।

बढ्दो व्यापार तथा चालु खाता घाटासँगै नेपालले बाह्य क्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नु परेको एडीबीको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको माघसम्मको तथ्याङ्कले चालु खाता घाटा १.५ बिलियन अमेरिकी डलर पुगेको देखाउँछ जबकी अघिल्लो वर्षको सोहीअवधिको चालु खाता घाटा १.४ बिलियन अमेरिकी डलर थियो ।

विप्रेषण आम्दानीको राम्रो वृद्धि र पेट्रोलियम पदार्थको मूल्य स्थिररहे पनि पुँजीगत र उपभोग्य वस्तु तथा सेवाको आयात बढ्नाले चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ९.३ प्रतिशत पुग्ने अनुमान छ । जुन गत वर्ष ८.२ प्रतिशत थियो ।-अनलाइनखबर