कविताः अरुले नै देख्नु पर्ने सपना

84

-बबि शाह
यो जुनीमा तिमीसंग
भेट्न मात्र लेख्या रै’छ
अरुले नै देख्नु पर्ने
सपना मैले देख्या रै’छ ।

धैरै होलान् तिमीलाई
मन पराई रोज्नेहरु
कति होलान् पखाईमै
माया पाउँन खोज्नेहरु ।
न यता न उताको म
राम्रो भन्नु नत क्यै छ,
अरुले नै देख्नु पर्ने
सपना मैले देख्या रै’छ ।

कल्पनाको महल बनाई
सकिदैंन बस्न धेरै
नपाईने कुराको चाह
गर्नु सायद भूल हो मेरै
मेरो मनले तिमीलाई
आफ्नै भनि सोच्या रै’छ
अरुले नै देख्नु पर्ने
सपना मैले देख्या रै’छ ।

मण्डनदेउपुर–१, हलेदेँ काभ्रे ।