कथाः दोष

682
कथाकार यमुना पराजुली अधिकारी

-यमुना पराजुली अधिकारी
छोराछोरीलाई स्कुल पठाई सकेर उनले मोबाइल अन गरिन् । ऊ अनलाइन आइसकेको
रहेछ । उनी बिछट्टै खुसी भइन् । तर किन यो खुसी यसरी फक्रिइरहेछ ? यसको जवाफ सागर जत्तिकै गहिरो छ । आकाशजत्तिकै फराकिलो ।
आफु गलत बाटोमा जाँदैछु की ? कहिलेकाहीँ यस्तो प्रश्न पनि मनको कुना कन्दरामा रुमल्लिइरहन्छ । तर उसलाई फेसबुकमा अनलाइन देखेपछि मनले मान्दै मान्दैन नबाेिलरहन । आखिर आफुले पहिलोपटक मन पराएको मान्छे हो
ऊ । गफ गर्र्दैमा, बोल्दैमा, दुखसुख सेयर गर्दैमा के नै बिग्रिएला त ? यति सोच्तासोच्तै मोबाइल टिडिङग्
करायो ।
‘हाई ।’
उसैको म्यासेज रहेछ सायद । उसलाई पनि उनलाई जस्तै बोल्न हतार भएको हुनुपर्छ ।
‘हेल्लो’ उनले जवाफ फर्काइन् ।
‘तिमी ठिक छौ नि ? बाबुनानी सन्चै छन् ?’
‘अँ म ठिक छु । नानी बाबुहरु पनि ठिक छन् । हजुरहरुलाई कस्तो छ ?’
म पनि ठिक छु । तिमीलाई सम्झिरहन्छु । उताबाट आवाज आयो । ‘त्यती बेला मैले गरेको निर्णय गलत थियो कि खै के थियो ?’
यो कुराले उनको मूटु चस्स दुख्यो । ओठ मुख सुक्यो । एक गिलास पानी पिइन् र मोबाइल अफ गरेर खाटमा लडिन् ।
‘मैले ज्यानै दिन खोज्दा पनि उ बेला मेरो वास्ता नगर्नेले अहिले सम्झिनुको अर्थ के रह्यो र ? किन के कारणले सम्झिनु अहिले ?’, आजको च्याटले उनलाई बिगततिर फर्कन बाध्य बनायो ।
त्यो बेला उनी मात्र सत्र बर्षकी थिइन् । उसँग भेट हुँदा, पहिलोपटक देख्ता नै खुब मन पराएकी थिइन् । त्यो उमेर पनि त्यस्तै थियो होला की ? तर जुन प्रकारको सोचाइ उनको मनमा उप्रति थियो अरुप्रति कहिल्यै त्यस्तो ‘फिलिङस्’ भएन ।
नातामै पर्ने भएकोले उसँग बारम्बार भेट भइरहन्थ्यो । एकदिन मौका पारेर आफ्नो मनको कुरा खोलिन् । उ मुसुक्क हाँस्यो । केही बोलेन । हुन्छ हुन्न केही भनेन । उनको मन खिन्न भयो । तर माया गाढा थियो । मुटूभरि फैलिएको थियो ।
दिनहरु बितिरहे । भेटघाट भइ नै रह्यो । तर उस्तै कुनै शब्दबिहिन भेटघाट । आस थियो उनको मनमा केही कुरा गर्ने हो की ? मलाई केही भन्ने हो की ? तर कहिलै त्यस्तो भएन ।
उप्रति मरिहत्ते गर्ने केटाहरूको पनि त कमी थिएन । कति राम्रा राम्रा केटाहरूले त बिहेको लागि कुरा पनि चलाइरहेका थिए । तर उनले टारिरहेकी थिइन् ।
उमेर पनि सानै छ भनेर बाबा आमाले पनि खासै कर गर्नु भएको थिएन । रूपमा धेरै राम्री भएकिले उनलाई आँखामा राखेर हिड्नेको संख्या कम थिएन । त्यो टोलकै राम्री केटी थिइन् उनी । केहि महिनापछि जागिरको सिलसिलामा ऊ बाहिर जाने भयो । उनलाई नरमाइलो लाग्यो । डाँको छोडेर रुन मन लाग्यो । कोठामा बसेर धेरै बेर रोइन् । हिँड्ने अघिल्लो दिन ऊसँग त्यहाँको फोन नम्बर मागिन् । उसले भने हिँड्ने बेलामा पनि गएसम्म पनि भनेनँ ।
किन उसले यस्तो ब्यबहार गर्याे ? उनि छक्क परिरहेकी थिइन् । मन नपरेको भए भन्देको भए भइहाल्थ्यो नि । कुनै जवाफ नदिनुको कारण के हुन सक्छ ?
फोन नम्बर मागिन् माग्न त । तर कहिले सम्पर्क भएन त्यो नम्बरमा । कहिल्यै पनि उ त्याहँ भेटिएन । सायद उसलाई नै बोल्न मन थिएन होला । घरमा उनको बिहेको कुरा पटक पटक पटक चल्न थाल्यो । गर्दिन भन्ने कुनै कारण पनि थिएन । एकदिन सम्झेर फोन गरेको होइन । आखिर मैले मात्र हत्ते हालेर के नै पो हुने रहेछ र ? यही सोचेर चुपचाप बसिदिइन् ।
बिहे भयो एकदम माया गर्ने श्रीमान् पाइन उनले । बिहे भइसकेपछि पनि यादले धेरै सतायो तर यादै यादमा बाच्नु पनि त सम्भब थिएन र याद गर्नु पनि किन ? के कारणले याद गर्नु त्यो निष्ठुरीको ? उनको मनले बारम्बार बहस गर्याे । अब उनको आफ्नै संसार पनि त थियो । त्यो संसारलाइ उनले खुसी बनाउनु थियो । सुखी राख्नु थियो । देवता जस्तो पति पाएकि थिइन् । उनले घरलाई स्वर्ग बनाउनु थियो ।
उनको बिहे भएको तिन बर्षपछि उसको पनि बिहे भयो । निम्ता त थियो तर कारणबस जान पाइनन् अथवा जान चाहिनन् कि । अरुले भनेको सुन्दा खासै राम्री थिइनन् रे बेहुली । ‘उ त्यति राम्रो छ, के बिहे गरेको होला’ पनि भने कसैले । पछि उनले उनीहरूको घर ब्यबहार त्यती राम्रो छैन रे भन्ने पनि सुनिन् ।
घर परिवारमा त्यति घुलमिल हुन नरुचाउने आफ्नै पारा कि आफ्नो सुर नछोड्ने खालकि थिइन रे उनी । परिवार सँग मिलाएर राख्न पनि धेरै सँघर्ष गर्नु पर्यो रे उसलाई । पछि डिभोर्ससम्मको कुरो चल्यो रे । यो सुन्दा उनलाइ सारै नरमाइलो लाग्थ्यो । ऊ खुसी रहोस् भन्ने उनको भित्रि मनदेखिको चाहना हो । आफ्नो पनि दाम्पत्य जीवन राम्रोसँग चलिरहेको छ । उसको चाँहि किन नराम्रो हुनु र ? सायद यही सोच्थिन् होला उनी ।
टिङ टिङ फोनको घण्टी बज्यो । बिगतबाट झसँग भएर फर्किन् उनी । श्रीमान्को फोन रहेछ ‘किन फोन अफ छ
त ?’, निकैबेर भयो । उताबाट आवाज आयो । ‘खै के भएछ त ? अहिलेसम्म त ठिक थियो । सहज रूपमा ढाँट्न सफल भइन् उनी तर मन भने बिचलित भयो ।
फोन राखेर मोबाइल अन गरिन् । अब म उसलाइ ब्लक नै गर्छु । यस्तै सोच्तै फेसबुक अन गरिन् । हुरुरु उसैको म्यासेज आयो । ‘सायद तिमी अहिलेसम्म मलाइ गलत सोचिरहेकी छौ होला । त्यो स्वभाविक पनि हो । तर मलाई माफ गर ल ? मैले आफ्नो मनले र खुसीले त्यस्तो गरेको होइन । म पनि तिमीलाई सारै मन पराउँथे तर म बाध्य भएँ । तिमीलाई थाहा छैन, म त्यतीबेला अलि बिरामी थिएँ ।
डाक्टरले ब्लड क्यान्सरको शङ्का गरेको थियो । बोनम्यारोले पनि ब्लड उत्पादन कम गरेको थियो । तिम्रो आँखामा म प्रति देखिएको जुन माया थियो, त्यो देख्ता म त्यसै आतिन्थेँ, डराउथेँ । त्यही भएर म तिमीबाट टाढा हुन चाहन्थेँ । तिम्रो जिन्दगी बर्बाद गर्न चाहन्नथँे । हो यही कारण हो म तिमीसँग सम्पर्कमा नरहेको । तिमी मलाई बिर्सिदेऊ । म यही चाहन्थँे । तिमीलाई के थाहा ? तिम्रो बिहेको कुरा सुनेर ममा के बितेको थियो । एकपटक त आत्महत्या नै गरौँ कि झैँ पनि भयो । तर बाबा आमा सम्झेर सकिनँ । पछि थाहा भयो मलाइ ब्लड क्यान्सर त होइन रहेछ । तर बोनम्यारोमा समस्या चाहीँ देखियो । दिल्ली गएर जचाएँ । सुरुमै भएकाले ज्यान बँच्यो तर औषधी खाइरहेछु अहिले पनि । कहिलेकाहिँ ब्लड पनि चढाउनु पर्ने हुन्छ । उनि आँशु खसाल्दै म्यासेज पढ्दै गइन् ।
“तिमी खुसी छौ, मलाई थाहा छ । तिम्रोबारे बुझिरहन्छु म । सायद मसँग तिम्रो बिहे भएको भए यति धेरै खुसी दिन सक्ने थिइनँ होला । अनि यति सुखी पनि राख्न सक्तिनँ थिएँ होला । तिमी खुसी देख्ता म पनि खुसी हुन्छु ।
तिमीलाई पाउन लेखेको रहेनछ । तर दोष न त तिम्रो हो न त मेरो । दोष त भाग्यको हो । जुस्ले तिमीलाइ पाउन सकेन । प्लिज हाँसीखुसी बस है ! मेरो हरपल शुभकामना छ ।”
यो पढिसकेपछि उनका आँखाबाट आँसु बगिरहे अबिरल अबिरल । उनीसँग कुनै जवाफ थिएन उसलाई दिनका लागि । अनि मनमनै सोचिन्, ‘‘दोष तिम्रो थिएन, मेरो थियो । मैले तिमीलाई बुझ्न सकिनँ ।’’
कुदेर जाउँ र अङ्गालोमा बाँधिएर मनका कुरा सब भनौँ । आँसुसँगै मनका कुरा पनि बाहिर फाल्दिउँ । यस्तो सोचाइ पनि आयो । तर समाजको पर्खाल बाधक बनेर अगाडि उभिएको थियो । तत्काल उनका गोडा आफसेआफ रोकिए । किनभने समय निक्कै अगाडि बढिसकेको थियो । अब पाइलाहरूलाई रोक्नुको बिकल्प पनि थिएन ।