ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

301
सांकेतिक तस्विर

चैत्र १४,
लहान -पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नंको ट्याक्टरमा टोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार कर्जन्हा नगरपलिका–१० निवासी १७ वर्षीय मो इरफान शेख घाइते भएका छन् । घाइते शेखको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

विद्युत् चुहावट छ प्रतिशतले घट्यो

विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७५÷७६ को सात महीनाको अवधिमा सिरहाको लहान क्षेत्रमा करीब छ प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट २८ दशमलव ६० प्रतिशतमा झरेको हो । गत आर्थिक वर्ष २०७४÷७५ सम्म करीब ३४ दशलव ८८ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि माघसम्ममा करीब छ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख बिष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

यस्तै समयमा विद्युत्को महसुल नबुझाउने ३३३ ग्राहकको विद्युत् लाइन काट्दा रु ९९ लाख ६४ हजार ४११ बाँकी बक्यौता रकम सङ्कलन भएको प्रमुख यादवको भनाइ छ । त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ४१६ लाई पक्राउ गरी जरिवानावापत रु ५० लाख २९ हजार राजश्व सङ्कलन भएको जनाएको छ ।-रासस